माओवादी र नेकपा एसको उम्मेदवारी घोषणा- एक्लै भिड्न कि गठबन्धनमा ‘बार्गेनिङ पावर’ बढाउन ? – Nepal Press

माओवादी र नेकपा एसको उम्मेदवारी घोषणा- एक्लै भिड्न कि गठबन्धनमा ‘बार्गेनिङ पावर’ बढाउन ?

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धन दलहरुका बीचमै प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धन दलहरुमा साझा उम्मेदवार बनाएर जाने विषयमा सहमति नहुँदा अहिले एक्लाएक्लै लड्ने तयारी थालेका हुन् ।

एमाले र नेकपा एकीकृत समाजवादीले उम्मेदवार नै घोषणा गरिसकेको छ भने माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारको खोजीमा छ । यद्यपी, दुवैले आफ्नै उम्मेदवार बनाएर जाने निर्णय गरिसकेका छन् ।

अन्तिम अवस्थासम्म रवि लामिछाने नेतृत्वको रास्वपा र एमाले एमालेबीच मित्रवत् प्रतिस्पर्धा हुने निश्चित रहेपनि माओवादी र नेकपा एसले अहिले घोषणा गरेको उम्मेदवार फिर्ता लिनसक्ने जानकारहरू बताउँछन् ।

इलाम २ एमालेले जित्दै आएको क्षेत्र हो । त्यसैले एमालेले आफ्नो विरासत कायम राख्नको लागि सुवास नेम्वाङकै छोरा सुहाङलाई अघि सारेको छ । यस्तै, बझाङमा दमनबहादुर भण्डारीलाई अघि सार्ने निर्णय एमालेले गरिसकेको छ ।

रास्वपाले इलाममा ग्राउण्ड बुझेको व्यक्तिलाई अघि सार्ने तयारी गरेको छ । त्यहाँ सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी एक महिनादेखि खटिरहेका छन् भने ६ सांसदले त्यहाँको वस्तुस्थिति बुझेर फर्किएका थिए । त्यहीअनुसार अहिले उम्मेदवारको खोजीमा छ ।

उसले पहिचानवादीका रुपमा स्वतन्त्र उम्मेदवार दिएका प्रचार प्रसारमा हिँडिसकेका मिलन लिम्बुलाई सार्ने तयारी गरेको छ । यद्यपी, निर्णय गरिसकेको अवस्था छैन । सत्ताको नेतृत्व गरिरहेको माओवादीले पनि दुवै ठाउँमा उम्मेदवारी दिने निर्णय गरेको छ । बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै ठाउँमा आफ्नै पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

इलाम २ मा माओवादीबाट केन्द्रीय सदस्य धीरेन्द्र शर्मा रमण, प्रदेश सचिवालय सदस्य उर्मिला तामाङ, प्रदेश सदस्य ओम गुरुङ र अनिल बराइलीको नाम सिफारिस भएर आएको छ । तर, उम्मेदवारबारे कुनै टुंगो गरेको छैन ।

तर, पार्टीले उम्मेदवारी दिने निर्णय गरेपछि गठबन्धनको साझा उम्मेदवार बनाएर जानेबारे निर्वाचनको मितिसम्म छलफल हुने सचिव दिनानाथ शर्माले बताए ।

उनले भने, ‘अहिले हामीले उम्मेदवारी दिएर जाने भनेर निर्णय गरेका छौं । अब गठबन्धन दलहरुबीच साझा उम्मेदवार बनाएर जाने बिषयमा छलफल हुनसक्छ । अहिले दुवै ठाउँमा एक उम्मेदवारी दिने निर्णय गरेका छौं । साझा उम्मेदवार बनाउने बिषयमा चुनावको दिनसम्म छलफल हुनसक्छ । त्यो आफ्नो ठाउँमा छ ।’

उनले गठबन्धनमा छलफलपछि सहमति बने उम्मेदवारी दिने पार्टीले गरेको निर्णय फेरिनसक्ने स्वीकारे ।

माओवादीले मात्रै होइन माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि दुवै ठाउँमा उम्मेदवार घोषणा गरेको छ । इलाम २ मा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

तर, जनमत कमजोर रहेको माओवादी र नेकपा एसले गठबन्धनमा बार्गेनिङ बढाउनको लागि अहिले उम्मेदवारको घोषणा गरेको हुनसक्ने राजनीतिक वृत्तमा चर्चा छ । जुन कुरा नेकपा एसका अध्यक्ष माधव नेपालको सोमबारको अभिव्यक्तिले पुष्टि गर्छ । उपनिर्वाचनको उम्मेदवारी दर्ता २४ गते भएकाले निर्णय फेरिनसक्छ ।

प्रधानमन्त्री प्रचण्डलाई सत्ता टिकाउन नेकपा एस पनि महत्वपूर्ण भएकाले नेपालले गठबन्धनमा दबाब बढाउँदै लगेका छन् । सोमबार बिहान बालुवाटारमा प्रचण्ड र ओलीसँगको भेटमा पनि अध्यक्ष नेपाल गठबन्धनको साझा उम्मेदवार बनाउनको लागि बझाङ आफूहरुलाई दिनुपर्ने अडान सुनाएका थिए ।

तर, ओलीले दुवै क्षेत्रमा उम्मेदवार घोषणा भइसकेकाले ब्याक हुन नसक्ने जवाफ दिएका थिए। ओलीको जवाफपछि अध्यक्ष नेपालले माओवादीसँग समझदारी हुनसक्ने संकेत गरेका थिए । उनको भनाइ थियो, ‘सोचिरहेका छौं दुवै ठाउँमा उम्मेदवारी दिने कि अरुले पनि हामीलाई समर्थन गर्छन् भने । एमालेको धारणा प्रष्ट आयो । माओवादी केन्द्रसँग समझदारी हुने सम्भावना देखिँदैछ । हामीले समाजवादी मोर्चामा पनि छलफल गरिरहेका छौं । यो कुरा छिट्टै टुंगो लाग्नेछ ।’

तर, नेकपा एसका सचिव जीवनराम श्रेष्ठ गठबन्धनमा साझा उम्मेदवार बनाएर जाने विषय कुनै सहमति नभएको दाबी गर्छन् ।

उनी भन्छन्, ‘हिजो गठबन्धन दलहरुबीच सहमति गरेर जाने प्रचलन थियो तर हाम्रो बीचमा छलफल भएको छैन । हामीले पनि आफ्नो उम्मेदवार दिएर जाने निर्णयसहित तयारी गरिसक्या थियौं । अब आज हामीले उम्मेदवार टुंग्याएका छौं । पछिल्लो समय अहिलेसम्म त्यस विषयमा छलफल भएको छैन । अब हुनसक्ला ।’

सरकार गठन र आजको मुद्दाको बिषयमा सरकारमा सहकार्य भएपनि निर्वाचनमा उम्मेदवारी दिन सबै दल स्वतन्त्र हुने नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनले भने, ‘उपनिर्वाचनमा आआफ्नो उम्मेदवार अघि सार्नको लागि दलहरु सार्वभौम छन् । गठबन्धन सामेल भएका दलहरुलाई हाम्रो विरासत भएको ठाउँमा सहयोग गर्नको लागि अपिल गर्ने हो । उहाँहरुले कसरी लिनुहुन्छ उहाँहरुको निर्णय हो । उम्मेदवारीको चर्चा चलिरहेको छ हेरौं न एकदुई दिन ।’

उनले गठबन्धन दलहरुबीच साझा उम्मेदवार बनाएर जाने बिषयमा छलफल हुने बताए ।

उनले थपे, ‘हामीले जित्दै आएको विरासत भएको निर्वाचन क्षेत्र हो । हामीले छाड्नुे कुरा हुँदैन । अरुले सहयोग गर्न तयार हुनुहुन्छ भनेर हामी तयार छौं। छलफलको लागि तयार छौं ।’ उनले इलाममा आफूहरुलाई सहयोग गर्न तयार भएर माओवादी र नेकपा एसले कहीँ न कहीँ स्पेश खोज्नु स्वभाविक भएको बताए ।

गठबन्धनमै आबद्ध रहेको मधेश केन्द्रित दल जसपालाई भने अहिलेसम्म उपनिर्वाचनले खासै छोएको छैन । उपनिर्वाचनको विषयमा कसरी अगाडि भन्नेबारे अहिलेसम्म ठोस छलफल नभएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेत बताउँछन् ।

उनले भने, ‘जिल्लाबाट सिफारिस भएर आएका छन्। अब त्यस विषयमा हामीले केन्द्रमा छलफल गरेका छैनौं अब गठबन्धनमा पनि छलफल हुन्छ होला ।’

त्यहाँ सत्ता गठबन्धन दलहरु एक्लाएक्लै प्रतिस्पर्धा उत्रिए आफ्नो पोल्टामा पार्नसक्ने कांग्रेसको पनि दाउ छ । इलाम २ का लागि भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस भएर आएको छ । तर, देउवाले गत निर्वाचनमा झिनो मतले पराजित भएका खड्कालाई अघि सार्ने तयारी गरेका छन् । त्यहाँको रियल ग्राउण्ड बुझ्नको लागि महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भिष्मराज आङ्दावे खटिएका छन् ।

गएको निर्वाचनमा एमालेका सुवास नेम्वाङले ३० हजार २० मत ल्याउँदा कांग्रेसका खड्का २९ हजार ९०६ मत मात्रै ल्याएका थिए । त्यसबेला कांग्रेसलाई माओवादी, नेकपा एस, जसपाले पनि साथ दिएको थियो ।

इलाम २ मा जनमत, पहिचानवादीसहित केही स्वतन्त्र व्यक्तिहरुले पनि उम्मेदवारी घोषणा गरेर तयारी थालिसकेका छन् । गएको निर्वाचनमा इलाम २ मा समानुपातिकतर्फ पनि एमाले नै पहिलो दल बनेको थियो ।

एमालेले २६ हजार ५६२ मत ल्याउँदा दोस्रो रहेको काग्रेसले २२ हजार ३३३, माओवादीले ५ हजार १५३, रास्वपाले ४ हजार ६८६, राप्रपाले १ हजार १९१, जसपाले ९०६ र नेकपा एसले ५८६ ल्याएको थियो । तर, अहिले एमालेको मत पहिचानवादीहरूले काट्नसक्ने विश्लेषण भइरहेको छ । पहिलो पटक इलाममा चुनावी मैदानमा उत्रिएको रास्वपाले पनि तनहुँमा झैं बाजी पर्ने दाउमा छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर