‘एक्काइसौं शताब्दीको स्वतन्त्रता’ संवाद तीन सय वर्ष पुरानो शताब्दी घरमा – Nepal Press

‘एक्काइसौं शताब्दीको स्वतन्त्रता’ संवाद तीन सय वर्ष पुरानो शताब्दी घरमा

पर्वत । एक्काइसौँ शताब्दीमा नेपालजस्तो मुलुकमा हुने निगरानी र त्यसको प्रभावमाथि कुश्मा कला परियोजना अन्तर्गत पर्वत कुश्माको तीन सय वर्ष पुरानो ‘शताब्दी घर’मा शनिबार यिनै विषयमा विमर्श गरिएको छ ।

लेखक(अनुवादक रोहेज खतिवडाको अनुवाद–सम्पादनमा प्रकाशित किताब ‘एक्काइसौँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ विश्वकै प्रसिद्द र धेरै पढिने पत्रपत्रिकामा छापिएका प्रभावशाली लेखक तथा चिन्तकहरुले लेखेका १० अङ्ग्रेजी लेखलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको हो ।

निगरानी र स्वतन्त्रताबीचको दूरी, प्रविधिले निम्त्याउन सक्ने खतराबारे हरारीको चेतावनी, यानिस भारुफाकिसको प्रविधि सामन्तवदको कारण विश्व अर्थतन्त्रमा पार्न सक्ने प्रभावको भविश्यवाणी, बाराक ओबामाले एचबिसि युनिभर्सिटी उत्तीर्ण गर्ने विधार्थीहरुलाई दिएको संसार बदल्ने शक्तिशाली भाषण, भारतका राजनीतिक पत्रकार धिरेन्द्र के झाले राष्ट्रिय स्वयम संघ (आरएसएस)ले तत्कालिन जर्मनको तानाशाही शासक हिटलरको नाजीवादसँग कसरी सरोकार राख्दछ वा उसको कार्यशैलीलाई कसरी अनुसरण गर्न खोजे भन्ने धारणा लगायतका लेख पुस्तकमा समावेश छन् ।

त्यस्तै वर्तमान समयमा डेटामा आधारित कर्पोरेट र सरकारी निगरानीबाट छुट्कारा पाउन आम मानिसले गरिरहेको संघर्षबारे पनि सहजकर्ता पत्रकार दीपक सापकोटा र लेखक खतिवडाबीच छलफल भएको थियो ।

किताबमा युभल नोह हरारी, अरुन्धती रोय, बाराक ओबामा, एलिस इभान्स, धीरेन्द्र के झा, यानिस भारुफाकिस, दीपा सीतारमण, इमिली ग्लेजर, देवाशिष रोय चौधरी, मन्सुर हेक्मत र पल म्यासनका लेखहरु समेटिएका छन् ।

एक्काइसौं शताब्दीको पहिलो साढे दुई दशकका प्रमुख विशेषता सन् २०२० को कोभिड महामारी, अमेरिकी वर्चस्वको अन्त्य, बहुध्रुवीय विश्वको उदय, फासीवादको वर्चस्व र पुँजीवादी अर्थप्रणालीमा संकटका रूपमा देखापर्ने खतिवडाले बताए । यद्यपि, यसको सबैभन्दा महत्त्वपूर्ण पाटो विज्ञान र प्रविधि, खासगरी सूचना प्रविधिको विकासमा देखा परेका संकट र विषयहरु पुस्तकमा रहेको अनुवादक खतिवडाले बताए ।

विमर्श कार्यक्रममा कथाकुथुंग्री समूहले युबल नोहा हरारीको निबन्ध ‘एकदिन हामी मृत्युलाई जित्नेछौँ’ वाचन गरेको थियो। कथाकुथुंग्रीमा सारस, भेनिषा र सौरभलगायत छन्।

कुश्मा कला परियोजनाका अध्यक्ष तथा कालीगण्डकी बचाऊ अभियानका अभियन्ता आरके अदीप्त गिरीले भने, ‘कृत्रिम बौद्धिकतामा हुने क्रान्तिका कारण वर्गहरुबीचमा मात्र होइन, देश(देशबीचको असमानता पनि अकल्पनीय रुपमा बढिरहेको सन्दर्भमा सामाजिक रूपान्तरणका लागि हामी बौद्धिक विमर्शका यस्ता कार्यक्रमा आगामी दिनमा पनि गरिरहनेछौँ।’

कार्यक्रमको दोस्रो सत्रमा कवि देवव्रतको कविता वाचन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *