इलाम २ मा उम्मेदवार छान्नुअघि ‘ग्राउन्ड बुझ्न’ कांग्रेसले खटायो विश्वप्रकाश र आङ्दाम्बे – Nepal Press

इलाम २ मा उम्मेदवार छान्नुअघि ‘ग्राउन्ड बुझ्न’ कांग्रेसले खटायो विश्वप्रकाश र आङ्दाम्बे

काठमाडौं । नेपाली कांग्रेस इलाम २ को उपनिर्वाचनमा होमिएको छ। क्षेत्र, जिल्ला प्रदेश तीनै तहबाट सिफारिस भएर आइसकेपछि उम्मेदवार तोक्नुअघि रियल ग्राउण्ड बुझ्नका लागि नेताहरू खटिएका छन्।

इलाम २ मा कांग्रेसबाट ७ जनाको नाम सिफारिस भएर आएका छन्। क्षेत्र र जिल्ला कमिटीले पठाएको नामलाई प्रदेश कमिटीले केन्द्रलाई पठाएको हो।

कांग्रेसबाट महासमिति सदस्य भेषराज आचार्य, पूर्वसांसद केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस भएको छन्।

प्रदेश कमिटीबाट नाम आइसकेकाले अब संसदीय बोर्डको बैठक बसेर उम्मेदवार टुंग्याउने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

उनले भने- तीनै तहबाट उम्मेदवारको नाम सिफारिस भएर आइसकेका छन्। अब संसदीय बोर्डको बैठक बसेर उम्मेदवार टुंग्याउँछ।

जित सुनिश्चित गर्नका लागि रियल ग्राउण्डबाट आएको व्यक्तिलाई नै पार्टीले टिकट दिने उनको भनाइ छ। उनका अनुसार इलाम २ को जनभावना बुझ्नका लागि महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री आङ्दाम्बे खटिएका छन्।

उनले भने- अहिले विश्वजी निर्वाचन क्षेत्रतिर हुनुहुन्छ। भिष्मजी पनि जाँदै हुनुहुन्छ। हाम्रो पार्टीका शीर्ष नेताहरु नै त्यहाँ गएर वस्तुस्थिति बुझेर आउनुहुन्छ अनि उम्मेदवार टुंग्याउँछौं। उम्मेदवारी दर्ता २४ गते हुने भएकाले अझै समय बाँकी छ।
उनले महामन्त्री र सहमहामन्त्री वस्तुस्थिति र यथार्थ बुझेर इलामबाट फर्केपछि मात्रै पार्टीले उम्मेदवार टुंग्याउने बताए।
उनले थपे( उहाँहरू १५ फर्किने कुरा छ। कोशी प्रदेशका सबै शीर्ष नेताहरूको पनि कुरा सुन्नुहुन्छ त्यहाँको रियल ग्राउण्ड बुझेर आएपछि उपयुक्त मान्छेलाई टिकट दिन्छ। र जित्ने आधार तयार पारिन्छ। बझाङबाट पनि उम्मेदवार सिफारिस भएर आइसकेको छ।

आधिकारिक उम्मेदवार बन्नका लागि कांग्रेसका अधिकांश नेताहरु काठमाडौं केन्द्रित छन्। त्यहाँ गत निर्वाचनमा एमालेका सुवास नेम्वाङले ३० हजार २० मत ल्याउँदा कांग्रेसका डम्बरबहादुर खड्का २९ हजार ९०६ मत मात्रै ल्याएका थिए।

त्यसबेला कांग्रेसलाई माओवादी, नेकपा एस, जसपाले पनि साथ दिएको थियो। भने, रास्वपाका प्रकाश सापकोटाले १ हजार ३८० मत मात्रै ल्याएका थिए। त्यहाँ अहिले एमालेले सुवास नेम्वाङका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। रास्वपासहित अन्य दलहरुले पनि आन्तरिक तयारी गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर