एमालेलाई रास्वपाको जवाफ- चुनावमा गठबन्धनको पक्षमा छैनौं, मित्रवत प्रतिस्पर्धा गरौं – Nepal Press

एमालेलाई रास्वपाको जवाफ- चुनावमा गठबन्धनको पक्षमा छैनौं, मित्रवत प्रतिस्पर्धा गरौं

इलाममा हाम्रो स्थिति मजबुत छ, चुनाव जित्छौं : महामन्त्री डा. मुकुल ढकाल

काठमाडौं । सरकार निर्माणमा गठवन्धन गरेका राजनीतिक दलहरुले ईलाम २ को उपचुनावमा तालमेल गर्ने सम्भावना कमजोर बनेको छ । सत्तारुढ प्रमुख दल एमालेले आफ्नो उम्मेदवार आज तय गरेको छ भने अन्य दलहरु पनि आ–आफ्नो तयारीमा छन् ।

एमाले सांसद सुभाष नेम्वाङको निधनपछि खाली भएको क्षेत्रमा उपचुनाव हुन लागेको हो । एमालेको आज बसेको सचिवालय बैठकले नेम्वाङकै पुत्र सुहाङलाई उम्मेदवारका रुपमा उभ्याएको हो । एमालेले युवा अनुहार उठाउँदै कम्तिमा सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीबाट समर्थनको आशा राखेको छ ।

आज बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘उहाँ (सुहाङ) योग्य उम्मेदवार भएकाले जिताउन रास्वपासँग आग्रह गर्छौं । नत्र मित्रवत प्रतिस्पर्धामा जान्छौं ।’

रास्वपाले ईलाम २ मा उम्मेदवार निश्चित गरिसकेको छैन । तर, उपचुनावमा कसैसँग तालमेल नगर्ने भनेर पार्टीका सभापति रवि लामिछानेले पहिल्यै घोषणा गरिसकेका छन् । यसमा पार्टी अहिले पनि अडिक रहेको बताउँछन् रास्वपा महामन्त्री डा. मुकुल ढकाल ।

‘उहाँहरुले सहयोग माग्ने कुरा आफ्नो ठाउँमा छ । तर, हामी आफ्नै उम्मेदवार उठाउँछौं । एमाले उम्मेदवारलाई समर्थन गर्न सक्ने सम्भावना छैन । हामी प्रि–इलेक्सन गठवन्धनको पक्षमा थिएनौं र छैनौं’, उनले भने ।

डा. ढकालले भने, ‘एमालेले पनि मित्रवत प्रतिस्पर्धा गर्न तयार छौं भनेको छ, त्यही नै सही विकल्प हो ।’

उनले गठवन्धनका दलहरुसँग मित्रवत प्रतिस्पर्धा गरिने बताए । ईलाम २ मा पार्टी सुदृढ अवस्थामा रहेको समेत डा. ढकालको दाबी छ । ‘इलाममा हाम्रो स्थिति मजबुत छ । हामी चुनाव जित्छौं,’ उनले भने । अघिल्लो आमनिर्वाचनको तुलनामा पार्टीको अवस्था धेरै सुधार भइसकेको उनले बताए ।

आफ्नो उम्मेदवार उभ्याएपछि सत्तारुढ अन्य दलसँग समर्थन नमाग्ने पनि महामन्त्री ढकालले प्रष्ट पारे ।

‘हामी संवैधानिक वाध्यताका कारणले सरकार चलाउनका लागि गठवन्धनमा आवद्ध भएका हौं, चुनावका लागि होइन’, उनले भने, ‘एक्लाएक्लै चुनाव नलडीकन जनमतको वास्तविक परीक्षा हुन सक्दैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर