ई-स्पोर्ट्सको संस्थागत विकास शुरु, अध्यक्षमा अञ्जन धमला – Nepal Press

ई-स्पोर्ट्सको संस्थागत विकास शुरु, अध्यक्षमा अञ्जन धमला

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बोर्ड सदस्य अञ्जन धमलाको नेतृत्वमा ई-स्पोर्ट्स खेलको संस्थागत विकास शुरु भएको छ । चीनमा सम्पन्न गत १९ औं एसियाली खेलकुदमा पहिलो पटक नेपालले ई-स्पोर्ट्स विधामा प्रतिस्पर्धा गरेको थियो ।

एसियन गेम्समा नेपालका खेलाडीले राम्रो प्रदर्शन गरेपछि राखेपले ई-स्पोर्ट्स खेलको संस्थागत विकास गर्ने पहल गर्दै आएको छ । सोही क्रममा राखेपकै बोर्ड सदस्य धमलाको नेतृत्वमा ई-स्पोर्ट्स संघ नेपाल (इसान) को तदर्थ कमिटी बनाइएको छ ।

ई-स्पोर्ट्स संघ नेपाल (इसान) को पहिलो साधारणसभाले धमलालाई नै निर्विरोध अध्यक्षमा चयन गरेको छ । काठमाडौंमा भएको सभाले धमलाको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा हिमविक्रम केसी, उपाध्यक्षमा कल्पदीप राई र पुरन खड्का निर्विरोध चयन भएका छन् । त्यस्तै महासचिवमा पवन कार्की तथा सचिवमा आशिष दाहाल र बालकुमार केसी निर्वाचित भएका छन् ।

घनश्याम ढुंगेल, सजीव भट्टराई, सिजन भट्टराई, पुकार केसी, डा. घनश्याम पाण्डे, प्रज्ज्वल कडरिया, विपुल भट्टराई, मौसमी लामा र विजय खड्का सदस्य चयन भएका छन् । एकएक उपाध्यक्ष र सचिव तथा ३ सदस्यको मनोनयनपछि कार्यसमितिले पूर्णता पाउनेछ ।

नेतृत्वमा निर्वाचित भएपछि धमलाले सम्भाव्यता बोकेको यो खेललाई छिट्टै एसियाली खेलकुद र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक दिलाउने आधार तय गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर