कोशीमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने मुख्यमन्त्रीको तयारी, बजेट खर्चमा ‘शंका’ – Nepal Press

कोशीमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने मुख्यमन्त्रीको तयारी, बजेट खर्चमा ‘शंका’

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने तयारी गरेका छन् । प्रदेश लगानी बोर्ड कोशी र गैर आवासीय नेपाली संघ (एनआरएन) सँगको समन्वय र सहकार्यमा कार्की सम्मेलनको गृहकार्यमा जुटेका हुन् ।

सम्मेलनको सह आयोजक रहने गरी एनआरएनएका अध्यक्ष डा. बद्री केसीसाग सहमति भइसकेको छ । एनआरएनले नै आवश्यक बजेटसहित सहयोग गर्ने प्राधिकरणले जनाएको छ । सम्मेलनको मिति आगामी जुन २१-२३ (असार ७-९) सम्म प्रस्ताव गरिएको छ । लगानी प्राधिकरणका कार्यकारी अधिकृत डा. सरोज कोइरालाले मितिको टुंगो भने लाग्न बाँकी रहेको बताए ।

इलामको श्रीअन्तु, कन्याम र इलाम बजारमा चिया सम्मेलन गर्ने तयारी भएको कोइरालाले बताए । कोइरालाले अन्तर्राष्ट्रिय क्षेत्रमा चियाको व्यापार गर्ने व्यापारी, चियाका विज्ञ र नेपाली चियाको प्रवर्द्धन गर्न सक्नेहरूलाई नेपाल ल्याउन एनआरएनले सहयोग गर्छौं भनेको जानकारी दिए ।

‘उहाँहरूको ८६ वटा देशमा कार्यालय छ । व्यापारी र विज्ञहरूसँग चिनजान छ । नेपाल ल्याउन उहाँहरूले सहयोग गर्छौं भन्नुभएको छ । हामीले त्यही भएर एनआरएनसँग सहमति गरेका हौं’, कोइरालाले भने । ५० जनाभन्दा बढी विदेशीलाई अन्तर्राष्ट्रिय चिया सम्मेलनमा ल्याउने योजना रहेको उनले सुनाए ।

एनआरएनए अध्यक्ष केसीले नेपाली चियाको प्रवर्द्धन मूल ध्येय राखेर गर्न लागिएको सम्मेलनमा अन्तर्राष्ट्रिय विज्ञको जमघट गराउन लागिएको बताए ।

काठमाडौंबाट इलामसम्मको यातायातको व्यवस्था, खाने र बस्ने व्यवस्था र काठमाडौं फर्कने व्यवस्था भने प्रदेश सरकारले गर्ने कोशी लगानी बोर्डका कार्यकारी अधिकृत कोइरालाको भनाइ छ । मुख्यमन्त्री कार्कीनिकट स्रोत भने विदेशबाट नेपाल ल्याउने खर्च एनआरएनएमार्फत भुक्तानी हुने दाबी गर्छ । विदेशी व्यापारी ल्याउन र एनआरएनसँग सम्झौता गर्न मुख्यमन्त्रीले कुरा अघि बढाएका छन् ।

मुख्यमन्त्री केदार कार्कीका प्रेस संयोजक देवनारायण साहाले भने सम्मेलनका लागि स्रोतको खोजी भइरहेको बताए । सहयोगीको खोजी हुँदा एनआरएनसँग कुरा भएको हुन सक्ने उनको भनाइ छ ।

सम्मेलनमा चिया उद्योगी, चिया किसान, चियाको क्षेत्रमा काम गरिरहेका सरकारी र गैर सरकारी संस्थाका २ सय बढी सहभागी हुने छन् । यसका लागि चिया तथा कफी विकास बोर्ड, चियासँग जोडिएका संघ संस्थाहरू चिया उद्योगी, तथा किसानसँग समन्वय र सहकार्यको पहल भइरहेको छ ।

बजेट खर्चमा शंका ?

कोशी प्रदेशको मुख्यमन्त्रीका केदार कार्की नियुक्त भएपछि उनले अर्थसम्बन्धी प्रतिस्थापन विधेयक प्रदेशसभामा पेस गरेका थिए । विधेयकको बुँदा नम्बर ५७ मा प्रदेश लगानी सम्मेलन गर्न, चिया खरिद कर्ताहरूको सम्मेलन गर्न तथा अन्य विषयगत सम्मेलन गर्न आवश्यक बजेट विनियोजनका लागि बजेट छुट्टाएको उल्लेख छ । तर, कोलम उल्लेख छैन ।

प्रदेश लगानी प्राधिकरणका कोइरालालाई मन्त्रीदेखि पत्रकारसम्मको फोन आइरहेपनि अंकको बारे जवाफ दिन नसकेको बताएका छन् । मुख्यमन्त्री कार्यालयमा रहेको विविध शीर्षकको खर्च स्टिमेट बनाएर मन्त्रिपरिषद्को निर्णयपछि खर्च गर्न सकिने अर्थमन्त्रालयले जनाएको छ ।

लगानी प्राधिकरण आयोजक भए पनि मुख्यमन्त्रीको संयोजकत्वमा मूल आयोजक समिति बन्नेछ । उद्योग कृषि तथा सहकारी मन्त्री र आन्तरिक मामिला तथा कानूनमन्त्री सहसंयोजक रहने छन् । योबाहेक सम्मेलन सफल बनाउन सबै क्षेत्र सम्मिलित उपसमिति बनाइने छ ।

कोशी सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले कोशी प्रदेशको अर्थतन्त्रको विकासमा चियाको योगदान ठूलो हुन सक्ने भएकाले सम्मेलन गर्न लागिएको बताए ।

उनले भने, ‘नेपालमा उत्पादन हुने ९५ प्रतिशत चिया कोशी प्रदेशको हो । यसको अन्तर्राष्ट्रिय बजार खोज्न सके किसानलाई मात्रै नभएर प्रदेश सरकारलाई नै फाइदा पुग्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर