दलाई लामा कनेक्सनको शिखर सम्मेलनः कांग्रेस-माओवादी गठबन्धन पल्टाउने एक कारक – Nepal Press

दलाई लामा कनेक्सनको शिखर सम्मेलनः कांग्रेस-माओवादी गठबन्धन पल्टाउने एक कारक

एमाले-माओवादीले सम्मेलनको विरोध गर्दा कांग्रेस नेताले यसरी गर्दैछन् बचाउ (भिडिओ)

रूपन्देही । तिब्बती नेता दलाई लामा जोडिएको लोरेट्स एण्ड लिडर्स शिखर सम्मेलन लुम्बिनीमा आयोजना गर्न दिनु यसअघि कांग्रेससहितको गठबन्धन सरकार ढल्नुको एक महत्वपूर्ण तथ्य कसैले लुकाएर लुक्दैन । लोरेट्सको भारतमा भएको पहिलो सम्मेलन, जेनेभामा भएको दोस्रो सम्मेलन र अनलाइनमा भएको तेस्रो सम्मेलनमा लामाले सम्बोधन गरेको तथा भारतमा प्रधान कार्यालय अनि अमेरिकामा सम्पर्क कार्यालय रहेको अवस्थाले यो कार्यक्रममा जसरी पनि लामाको सहभागिता हुने आशंका चिनियाँ अधिकारीमा थियो ।

लामा भारतकै संरक्षणमा बसिरहेको अनि लुम्बिनी जान खुला सीमा र नजिक पनि भएकाले सजिलै पुग्ने आशंकाले अझ बल पुगेको हो । त्यसमाथि नोबेल शान्ति पुरस्कार पाएका भारतीय कैलाश सत्यार्थीले यो संस्थाको अगुवाइ गरिरहेकाले उनीहरूमा त्यो आशंका बढाएको बताइन्छ । लुम्बिनी सरकारले गरेको तयारी र संघीय सरकारले दिएको स्वीकृतबारे सुरूमा कसैलाई वास्ता भएन तर सम्मेलनको मितिको विषय ‘मार्च १०’ ले प्रवेश पायो अनि चिनियाँहरूलाई चस्को पसेको हो । यही दिन दलाई लामाले औपचारिक विद्रोहको बिगुल फुकेका थिए । प्रदेश सरकारले सुरूमा यही मिति राखेर बोर्डसमेत बनाएको थियो, यद्यपि त्यसलाई पछि सच्चाइएको छ ।

मार्च १० कै दिन कार्यक्रम उद्घाटन गर्ने र त्यही कार्यक्रममा भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बतका धर्मगुरु नेता दलाई लामा आउने भएपछि आफ्नो विरुद्ध केही गतिविधि हुनसक्ने भन्दै चीनले चिन्ता प्रकट गर्दै आइरहेको थियो । चीनले सकेसम्म यो सम्मेलन आयोजना रोक्न नै चाहेको थियो । तर, तयारी अघि बढेको भन्दै कांग्रेस नेताहरू रोक्न तयार थिएनन् । कांग्रेस सभापति शेरबहादुर देउवा निकटस्थ मानिने मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यसलाई जसरी पनि पूरा गर्न चाहेका थिए । यही विषय झाँगिदै गएपछि चिनियाँ पक्ष तत्कालीन गठबन्धनसँग बढी असन्तुष्ट भएको विश्लेषण गरिएको छ ।

चिनियाँ दबाबपछि प्रचण्डलाई समेत उस्तै नैतिक संकट परेको थियो । त्यसको संकेत सम्मेलनको पूर्वसन्ध्यामा लुम्बिनी प्रदेशसभामा फागुन १९ गते विशेष सम्बोधन गर्न आएका प्रचण्डले यसबारे एक शब्द पनि बोलेनन् । यसैबाट प्रष्ट हुन्छ कि प्रचण्ड नै यो सम्मेलन नगर्न बाध्य थिए । अर्को दिन मुख्यमन्त्री चौधरी अतिथि बोलाउन काठमाण्डौ गए गृहमन्त्रीलाई लिएर तर प्रचण्डले भेट नै दिएनन्, मुख्यमन्त्री लुम्बिनी फर्के अनि आफै सम्मेलन स्थगित गर्ने निर्णय गरेका थिए ।

कसरी लियो चीनले चासो ?

लोरेट्स एण्ड लिडर्स शिखर सम्मेलनबारेमा चीनले विशेष चासो लियो । अमेरिकामा मुख्यालय रहेको लोरेट्स एण्ड लिडर्सले फागुन २८ र २९ गते आयोजना गर्न लागेको शिखर सम्मेलनमा नोबेल पुरस्कार विजेता दलाई लामा आउने चर्चाले गर्दा चीनले विशेष चासो लिएको हो ।

यो विषयमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि लिएर लुम्बिनी सरकारसँग पनि विभिन्न चरणमा कुराकानी गरिसकेपछि यसको तयारीको स्वीकृत दिएका प्रधानमन्त्री र लुम्बिनीका मुख्यमन्त्री संकटमा परेका हुन् ।

स्रोतका अनुसार राजदूत सोङकै सक्रियतापछि पूर्वनिर्धारित कार्यक्रम छोट्याइएको थियो । सो सम्मेलन फागुन २७, २८ र २९ गतेका लागि तय भएको थियो तर पछि दुई दिनमात्र हुने लुम्बिनी प्रदेश सरकारले माघ २५ गते मात्रै विज्ञप्तिमार्फत जनाइसकेको छ । फागुन २७ गते अर्थात् मार्च १० मा तिब्बतका शरणार्थीहरूले ‘तिब्बतीयन अपराइजिङ् डे’ मनाउने गरेका हुनाले त्यो दिनलाई चीनले संवेदनशील दिनको रूपमा लिएको छ ।

यो सम्मेलनमा नौ जना नोबेल शान्ति पुरस्कार विजेता आइरहेका छन् । त्यसमध्ये सन् २०१४ मा नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थी भारतीय हुन् । यो सम्मेलनको संयोजन उनै सत्यार्थीले गरेका छन् । सत्यार्थी दलाई लामा निकट मानिन्छन् । स्रोतहरूको दाबीअनुसार सत्यार्थीले लामालाई सम्मेलनमा ल्याउन चाहेका छन् । तर, लामा आउनेबारे कतै केही औपचारिक सूचना थिएन । यो कार्यक्रमप्रति चीनले सुरूदेखि नै चासो लिइरहेको थियो । कार्यक्रम नै नगर्ने वा कार्यक्रम गरे पनि दलाई लामाबाहेकका अतिथि निम्त्याएर मार्च १० भन्दा पहिले या पछि गर्न चीनले आग्रह गर्दै आइरहेको थियो । प्रधानमन्त्री प्रचण्डले सो शिखर सम्मेलनका कारण दुई देशबीचको सम्बन्धमा असर नपरोस् भनेर दलाई लामालाई ल्याउन रोक लगाएको समाचार पनि बाहिर आए ।

संघ र प्रदेशमा उठेको थियो विरोध

फागुन १८ गते प्रतिनिधिसभाको बैठकमा लुम्बिनीबाट जितेका एमालेका सांसद सूर्य थापाले धर्मगुरु दलाई लामालाई लुम्बिनीको कार्यक्रममा बोलाएर कस्तो सन्देश दिन खोजेको भन्दै यसको बारेमा परराष्ट्रमन्त्रीले जवाफ दिनुपर्ने गम्भीर प्रश्न उठाएका थिए । छिमेकीसँग विवाद गरेका व्यक्तिलाई ल्याएर सम्मेलन गरेर लुम्बिनीलाई विवादमा ल्याउन प्रपञ्च गरिएको भन्दै उनले खबरदारी गरेका थिए । थापाले संघीय संसदमा विशेष समय माग गर्दै लुम्बिनी प्रदेश सरकारले गर्न थालेको उक्त सम्मेलन रोक्न माग गरेका थिए ।

अन्तर्राष्ट्रिय स्तरका सम्मेलन गर्ने क्षेत्राधिकार प्रदेश सरकार अन्तर्गत नरहेको बताउँदै थापाले लुम्बिनी प्रदेश सरकारले विवादित छविका दलाई लामालाई बोलाएर देशलाई द्वन्द्वमा झोस्न खोजेको आरोप लगाए ।

‘मार्च १० तारिखका दिन दलाई लामाले चीन विरुद्ध तिब्बतमा विद्रोह शुरु गरेको दिनलाई सम्झेर शिखर सम्मेलन गर्ने प्रदेश सरकारको तयारी रहेछ’, थापाले भने, ‘तर, यसबारे चौतर्फी विरोध भएपछि मार्च १० तारिख हटाइएको छ । यो सम्मेलन देशको हितमा छैन ।’

उनले पवित्र शान्तिभूमि लुम्बिनी प्रदेशकै मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्वन्धसँग पनि जोडिएको विषय भएकाले प्रदेश सरकारको ‘तजविजको’ मात्र कुरा नरहेको उल्लेख गरे । यस्ता कार्यक्रमको आयोजना संघीय सरकार र परराष्ट्र मन्त्रालयको सहभागितामा गर्नुपर्ने उनको तर्क थियो ।

‘प्रदेशमा परराष्ट्र मन्त्रालय नै छैन्, के को अन्तर्राष्ट्रिय सम्मेलन ?’, थापाले प्रश्न गर्दै भने, ‘यो सम्मेलनको बारेमा शंका गर्ने धेरै विषय छन् । लुम्बिनी प्रदेश सरकारले नेपाललाई सामरिक द्वन्द्वमा फसाउन खोजेको प्रष्ट हुन्छ ।’

उनले विवादित छविका दलाई लामालाई नै केन्द्रित गरेर सम्मेलन गर्न खोजेको समेत आरोप लगाए ।

संयुक्त राष्ट्रसंघको वडापत्र, सार्क घोषणापत्र, पञ्चशीलको सिद्धान्त र नेपालको घोषित परराष्ट्र नीति विपरितका गतिविधि नगर्न समेत उनले प्रदेश सरकारलाई चेतावनी दिए । ‘यसबारे प्रधानमन्त्रीसँग प्रश्न मागिएको छ, तर जवाफ आएको छैन’, थापाले भने, ‘तर, मुख्यमन्त्रीसँग जवाफ माग्ने यो विषय नै होइन ।’ उनले शान्तिभूमि लुम्बिनी क्षेत्रलाई अहिंसाको बाटोमा नलैजान समेत प्रदेश सरकारलाई सुझाव दिएका थिए ।

त्यसो त लुम्बिनी प्रदेशको तत्कालीन सत्ता साझेदार र मुख्यमन्त्रीकै गृहजिल्लाका सांसद नेकपा माओवादी लुम्बिनीका प्रमुख सचेतक इन्द्रजित थारुले विवादित दलाई लामासमेतको संलग्नतामा सम्मेलन गर्न खोजेर सरकारले गलत गरेको र आफ्नो सीमा क्षेत्र बाहिर गएर कार्यक्रम तायरी गरिएको जनाएका थिए ।

दलाई लामाको विषयलाई लिएर लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले पनि आपत्ति जनाएका हुन् । माओवादीबाट सभामुख भएका घर्तीले मुख्यमन्त्रीले यो विषयमा सदनलाई जानकारी नै नदिएको भन्दै सामाजिक सन्जालमै प्रश्न राखेका थिए । आफूलाई यो कार्यक्रमको बारेमा आधिकारिक जानकारी नरहेको बताउँदै कार्यक्रमको बारेमा आफूले सञ्चारमाध्यमबाट जानकारी पाएको, यो खालको कार्यक्रम हुनु लुम्बिनी प्रदेशका लागि गर्वको कुरा भए पनि कतिपय कुराले प्रश्न उब्जाएको प्रश्न गरेका थिए ।

धर्मगुरु दलाई लामाले चीनविरुद्ध विद्रोह गरेकै दिन पारेर कार्यक्रम किन राखेको भन्दै प्रश्न गर्दै उनले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि अमेरिकाको रोजाइमा किन पर्‍यो ? भन्दै मुख्यमन्त्रीसँग जवाफ मागेका थिए । तर, अहिलेसम्म सार्वजनिक रूपमा त्यसको उत्तर उनले पाएका छैनन् ।

लामा जोडिएको संस्थालाई भित्राउन पाइदैन, असंलग्न परराष्ट्र नीतिमै चुनौती दिएर चीनलाई किन चिढ्याउन खोजेको ? एमाले लुम्बिनी (भिडियो)

यो सम्मेलनको विषयमा लगातार प्रश्न उठाइरहेको नेकपा एमालेले फागुन २० गते सदनमा आफ्नो स्पष्ट धारणा राख्यो । मुख्यमन्त्री डिल्ली चौधरीलाई सँगै राखेर प्रश्न गर्न खोजेको एमालेले उनी नआउने भएपछि दलको नेता नबोलेर दलको तर्फबाट रामजी घिमिरेले बलियो तर्कसहित यो विषयमा आफ्ना धारणा राखेका थिए ।

एमालेले लुम्बिनीजस्तो पवित्र ठाउँमा विवादित व्यक्ति जोडिएको गैरसरकारी संस्थालाई बुद्ध जन्मस्थल लुम्बिनीमा शिखर सम्मेलन आयोजना गर्न दिएको गम्भीर प्रश्न उठाएको हो । एमाले केन्द्रीय सदस्य रहेका घिमिरेले अन्तर्राष्ट्रिय आइएनजीओको नाममा शिखर सम्मेलन गर्न खोजिएको र विवादित व्यक्ति जोडिएको संस्थालाई ल्याएर लुम्बिनीलाई विवादमा पार्न खोजिएको भन्दै आपत्ति जनाएका थिए ।

यो पनि पढ्नुस्- ‘दलाई लामा कनेक्सन’ ले लुम्बिनी सम्मेलन विवादमा, मुख्यमन्त्रीकाे भूमिकामा सत्तारूढ दल नै शसंकित

‘लुम्बिनी देशकै गहना हो, विवादास्पद आइएनजीओको नाममा सरकारी बजेट छुट्टयाउने र कार्यक्रम राख्ने कुरा गम्भीर छ, यसमा बजेट बनाउने बेला विपक्षी दल तथा गठबन्धनका अन्य दलले समेत कुरा राख्न पाएनन्, यसरी लुम्बिनीलाई मुख्यमन्त्रीको स्वार्थमा विवादमा पार्न खोजियो’, उनले भने ।

उनले भने, ‘सुरूमा यसलाई पर्यटन प्रवर्द्धन भनियो, अहिले बालबालिका र शान्तिको नाम जोडिएको छ, सुरूमा मार्च १० देखि १२ भनियो, तर अहिले मार्च ११ र १२ भनिएको छ, दलाई लामासमेत संलग्न भएको लौरियट्स एण्ड लिडर्सलाई यहाँ सहभागी गराउन खोजिएको छ, यसले मित्र राष्ट्र चीनसँग किन विवाद बनाउन खोजियो, यसले चीनसँगको सम्बन्धलाई समेत खल्बल्याउन खोजिएको छ ।’

घिमिरेले सदनलाई जानकारी नदिई विदेश भ्रमण गरेको र बुद्धको जन्मभूमिमा यो सम्मेलन गर्न लागिएको भन्दै यसबारे सदनले जवाफ खोजेको र यसले मुलुकको असंलग्न परराष्ट्र नीतिमै चुनौती आएको बताए । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी प्रदेश सभाबाट भागेको बताउँदै यसबाट कुनै पनि विषय समाधान नहुने जनाएको छ ।

नेपाली कांग्रेस, मुख्यमन्त्री र कर्मचारीले गरे निरन्तर बचाउ

सम्मेलनको विषयमा नेपाली कांग्रेसले निरन्तर बचाउ गरेको छ । बुधबार संघीय सदनमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यस्तो महत्वपूर्ण आयोजना रोकेर सरकारले विश्व समुदायसँग गलत नजिर बसालेको बताए ।

‘नोबेल पुरस्कार बिजेताहरू लुम्बिनी आउने महत्वपूर्ण सम्मेलन थियो, प्रदेश सरकारले सबै तयारी गरेको थियो, मुखैमा आएको सम्मेलन रोकेर सरकारले गलत नजिर बसाल्यो’, उनले भने ।

त्यसअघि एमाले र माओवादीले यसबारे गम्भीर प्रश्न उठाएपछि मुख्यमन्त्री चौधरीले फागुन १९ गते बुटवलमा पत्रकार सम्मेलन गरेर यसको खण्डन गर्ने प्रयास गरेका थिए । उनले दलाई लामालाई नबोलाइएको र यसमा कुनै शंका गर्ने ठाउँ नरहेको बताए । उनले निम्तो नै नगरिएकोले कसरी आउने भन्ने प्रश्न गरे । तर मार्च १० देखि आयोजना गरिएको यो कार्यक्रम चीनको दवावपछि ११ मा सारेको विषयम गोलमटोल जवाफ दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सुमन घिमिरेले धर्मगुरु दलाई लामालाई कुनै निमन्त्रणा नगएको र यो कार्यक्रममा उनी नआउने प्रस्ट पारे । उनले भने, ‘उहाँ आउने कुनै पनि कार्यक्रम छैन, र आउनका लागि निमन्त्रणा पनि दिएको छैन ।’

मुख्यमन्त्री कार्यालयका प्रवक्ता निराजन घिमिरेले पनि सम्मेलनमा दलाई लामा आउने कुनै कार्यक्रम नरहेको बताए । दलाई लामा आउने कुरा चर्चामा आएपछि आफूले सबै डकुमेन्टस् हेरेर सबैतिर बुझ्दा लामालाई कार्यक्रमका लागि निमन्त्रणा पनि नगएको उनले प्रस्ट पारे ।

उनले यस्ता कार्यक्रमले कुनै देशलाई सशंकित बनाउने नभएर विश्वसँग मित्रवत् तथा शान्तिपूर्ण सम्बन्ध होस् भन्ने चाहना राखिएको पनि बताए ।

को को आउँदै थिए ?

सम्मेलनमा आउने अतिथिमा नोबेल शान्ति पुरस्कार विजेता अब्देसातार बेन मुसा, ओउडेड बोचामा उई, कैलाश सत्यार्थी, एरिह वार्शेल, लेमाह गोबोवी, तावाक्कोल करमान, जोडी विलियम्स, होर्टा र रिचर्ड जे रोबर्ट्सको नाम निश्चित भइसकेको आयोजकले जनाएको छ । थप एक जना अतिथि आउने टुङ्गो लाग्न बाँकी रहेको तर ती अतिथि दलाई लामा नभएको प्रवक्ता घिमिरेले बताएका थिए । मुख्यमन्त्री तथा कर्मचारीले अन्य एकजना थपिनसक्ने भन्दै त्यो एकजना को भनेर खुलाउन सकिरहेका थिएनन् ।

राष्ट्रसंघका पूर्वराजदूत आचार्यको चासो

लुम्बिनीमा तय भएर स्थगन भएको लरियट्स एण्ड लिडर्सको कार्यक्रम स्थगन गलत भएको संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वराजदूत जयराज आचार्यले बताएका छन् । केहीदिनअघि काठमाडौंमा भएको नेपाल भारत सम्बन्ध बारेको किताबको संवाद कार्यक्रममा आचार्यले नेपालमा हुने कार्यक्रम स्थगन भएर दिल्लीमा हुनु दुःखद भएको बताएका थिए । नोबेल शान्ति पुरस्कार विजेता तथा विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखहरू आउने कार्यक्रम स्थगित भएर गलत सन्देश गएको आचार्यले बताए । उनले दलाई लामा आउने भनेर स्थगन भएको भए उनलाई नल्याएरै कार्यक्रम गर्न सकिने सुझाएका थिए ।

उनले भने, ‘२०४६ सालपछिको कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा पनि यस्तै भएको थियो । भट्टराईले सम्झाएर दलाई लामालाई रोक्नु भएको थियो ।’ दलाई लामा नेपालबारेमा सकारात्मक भएको नेपालको संवेदनशीलता बुझेर नआएको आचार्यले बताए । नेपालमा कार्यक्रम तय भएर नयाँ सत्ता समीकरण आएसँगै कार्यक्रम नहुनु गलत भएको भन्दै आचार्यले थपे, ‘जन्ती आउँदा आउँदै बाबुआमाको झगडा भएको भनेर बिहे स्थगन भएको जस्तै भयो ।’

दिल्लीमा एक दिनमा आयोजना गरियो

लुम्बिनीमा फागुन २८ र २९ गते आयोजना गरेर संघीय सरकारमा आएको फेरबदलसँगै रोकिएको बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन भारतको नयाँदिल्लीमा गरिने सूचना त्यो संस्थाले आफ्नो वेवसाइडमा सूचना राखेको थियो । सम्मेलन नयाँदिल्लीमा भने फागुन २८ मा हुने उल्लेख थियो । संस्थाले सम्मेलन सम्पन्न भएको सूचना आफ्नो वेबसाइडमा राखेको छ । लरियट्स एन्ड लिडर्स फर चिल्ड्रेनले उक्त कार्यक्रम नेपालको आन्तरिक राजनीतिक परिस्थितिका कारण नयाँदिल्लीमा गर्न लागिएको जनाएको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले उक्त कार्यक्रम अब लरियट्स एन्ड लिडर्स फर चिल्ड्रेनकै सचिवालयले गर्न लागेको जानकारी दिएका थिए ।


प्रतिक्रिया

One thought on “दलाई लामा कनेक्सनको शिखर सम्मेलनः कांग्रेस-माओवादी गठबन्धन पल्टाउने एक कारक

  1. लुम्बिनिमा लामा,रिम्पोचेहरूलाइ प्रतिबन्ध गर,पशुपतिमा सिद्ध बाबाहरूलाइ प्रतिवन्ध गर । अनि बड्छ धार्मिक पर्यटन र खान्छो ? ग्वाँचहरू । दलाइ लामा चीनको लागि बिद्रोही होलान्,सँसार भरिका बुद्ध धर्मावलम्वीहरूका धर्म गुरू हुन् । नेपालमा चीनको लागि राजनीति कहिले सम्म गरिदिने हो ? बिकाश गर्दा चीन रिसाउँछ,पर्यटन बढाउन खोज्दा चीन रिसाउँछ,ठूला विकसित राष्ट्रसँग सहकार्य गर्दा चीन रिसाउँछ भनेका छन् भुर्तालो गरेका छन्,काम रोकेका छन् । देशको बेहाल बनाइसके । हामीले देशको लागि काम गर्दा चीन रिसाएछ भने मनाउने होला,मानेन भने के नाप्छ ? चीन छिमेककका सबै देशसँग रिसाउँछ । के अरू देशले अाफ्नो हीतमा काम गर्न छोडेका छन् ? नेपालले चीनको हैकम मान्न जरूरी छैन । चीन रिसाउँदैन पनि । वामपन्थीहरूको बैचारिक चाकडी मात्र हो यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर