शालीन मृत्यु प्रकरणमा पक्राउ परेका शिक्षकको थुनछेक बहस जारी, अदालतमा सुरक्षा कडाइ – Nepal Press

शालीन मृत्यु प्रकरणमा पक्राउ परेका शिक्षकको थुनछेक बहस जारी, अदालतमा सुरक्षा कडाइ

चितवन । रत्ननगरको एकता शिशु निकेतनमा मृत भेटिएकी छात्रा शालीन पोखरेलको घटनामा पक्राउ परेका तीन शिक्षकको थुनछेक बहस सुरू भएको छ । हिजोदेखि सुरू भएको बहस निरन्तर सुनुवाइअन्तर्गत जिल्ला अदालत चितवनमा आज पनि चलिरहेको छ ।

सोमबार तीनजना शिक्षकको बयानपछि ढिला गरी जिल्ला न्यायाधिवक्ता शान्तीप्रसाद लुइँटेलले बहस सुरू गरेका थिए । उनको बहस जारी रहँदा अदालतको समय सकिएपछि आज निरन्तर सुनुवाइ गरिएको हो ।

सरकारी वकिल कार्यालयले हत्या अभियोगमा जाहेरी दर्ता गरेपनि प्रहरी अनुसन्धानको आधारमा तीन शिक्षकविरुद्ध आइतबार आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको थियो ।

आज जिल्ला अदालत चितवनमा पत्रकार, सर्वसाधारणसमेतलाई प्रवेशमा रोक लगाइ कडा सुरक्षाको बीच थुनछेक बहस गरिएको छ । जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासमा जिल्ला न्यायाधिवक्तासहित पीडित तर्फका पाँचजना र प्रतिवादी तर्फका पनि पाँचभन्दा बढी अधिवक्ताले बहस गर्ने जनाइएको छ ।

बहस सकिएपछि आत्महत्या दुरुत्साहनमा पुर्पक्षमा पठाउने वा धरौटीमा छोडेर मुद्दा अघि बढाउने भन्ने आदेश आजै आउने अदालत स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *