राष्ट्र हितविरोधी गठबन्धन फालेर राष्ट्रवादी नयाँ समीकरण बनेको एमाले महासचिव पोखरेलको दाबी (भिडिओ) – Nepal Press

राष्ट्र हितविरोधी गठबन्धन फालेर राष्ट्रवादी नयाँ समीकरण बनेको एमाले महासचिव पोखरेलको दाबी (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा छाएको चरम निराशालाई चिरेर आशाको सञ्चार गर्न नयाँ गठबन्धन निर्माण गर्नुपरेको बताएका छन् । अहिलेको गठबन्धन देश र जनताका लागि अनिवार्य भएकोले नेतृत्वले यस्तो निर्णय लिनुपरेको उनको भनाइ थियो ।

नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको आज बसेको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकका लागि नेतृत्वले कहिलेकाहीँ निकै छिटो निर्णय लिनुपर्ने अवस्था आउने र सोहीअनुसार अहिले पार्टी नेतृत्वले निर्णय लिएको बताए ।

उनले एमालेकै पहलकदमीमा कांग्रेस नेतृत्वको राष्ट्रहितविरोधी गठबन्धन फालेर एमाले नेतृत्वको राष्ट्रवादी गठबन्धन बनेको दाबी गरे ।

‘अहिलेको गठबन्धन जनतामा आशा जगाउन हो । हामीले यसलाई गठबन्धनभन्दा पनि नयाँ सत्ता समीकरण भनेका छौं’, महासचिव पोखरेलले भने ।

देश र जनताको लागि असफल भइसकेको कांग्रेस नेतृत्वको गठबन्धनलाई परिवर्तन गर्नुपर्छ भन्ने मान्यताका साथ एमालेले सरकार परिवर्तनको प्रयास गरेको पोखरेलले बताए । स्वयं प्रधानमन्त्री पनि पुरानै गठबन्धनबाट देशलाई अघि बढाउन सकिँदैन भन्ने निष्कर्षमा पुगेको कारण नयाँ सत्ता समीकरणको वातावरण बनेको उनको भनाइ छ ।

‘एमालेविरुद्धको घेराबन्दी ताड्नैपर्ने थियो । पार्टीले त्यसका लागि आवश्यक रणनीति अघि बढाएकै बेला गठबन्धनमा समस्या आयो, हामीले त्यो अवसरलाई चुक्न दिएनौं र बिग्रिएको राजनीतिक कोर्सलाई सही बाटोमा फर्काउने काम भयो’, महासचिव पोखरेलले भने ।

‘कार्यकर्ताबाट हदभन्दा बढ्ता लचकता भयो, प्रभावशाली र ठूला मन्त्रालय लिइएन, सबै छाडियो भनेर आलोचना भएको सुनिन्छ । तर, देशको आवश्यकता र निराशा चिरेर अघि बढाउने प्रयास हो । गठबन्धनको मुख्य नेता नै एमाले भएकोले मन्त्रालयको विषयलाई लिएर हामी कसैले पनि चित्त दुःखाउने वा मन खिन्न पार्ने काम गर्न हुन्न’, उनले भने, ‘अहिले पाँच वटा राजनीतिक दलको सहमतिमा नयाँ सहकार्य सुरु भएको छ । यो वाम गठबन्धन होइन, परिवर्तन चाहने शक्तिहरुबीचको सहकार्य हो ।’

कार्यक्रममा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले राजनीतिक कोर्स बदलिएकोले जनतामा आशाको सञ्चार गर्नुपर्ने बताए ।

बैठकमा स्थायी कमिटी सदस्य तथा प्रैस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमसहित २३ मध्ये अधिकांश जनसंगठनका इञ्चार्ज र अध्यक्षहरूको सहभागिता थियो । बैठकले सबै जनसंगठनका आगामी कार्ययोजना निर्माण गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर