सुप्रिम सहकारीको सवा अर्ब ठगीमा पक्राउ परेका दीपेशलाई ८ दिन हिरासतमा राख्न अनुमति – Nepal Press

सुप्रिम सहकारीको सवा अर्ब ठगीमा पक्राउ परेका दीपेशलाई ८ दिन हिरासतमा राख्न अनुमति

रुपन्देही । शुक्रवार काठमाडौंमा पक्राउ परेर बुटवलमा ल्याइएका दीपेश पुनलाई प्रहरीले अनुसन्धानको लागि ८ दिनको हिरासत अनुमति पाएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगीमा पूर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न अनुमति पाएको हो ।

सुप्रिम सहकारीका बचतकर्ताले सवा अर्ब रकम अपचलन गरेको आरोपमा पक्राउ परेका उनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आइतबार रुपन्देही जिल्ला अदालतले उनलाई ८ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिएका छन् ।

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले शुक्रवार साँझ काठमाडौँमा पक्राउ गरेको थियो। उनलाई प्रहरीले शुक्रवार राति नै बुटवल ल्याएको थियो । दीपेश पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा हुन् ।

प्रहरीले यसअघि नै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईँ पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरूको बयानका आधारमा पुनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले बताए ।

सुप्रिमका १० हजार ३ सय ९१ बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार रुपैयाँ संकलन गरेकामा ७८ करोड ५० लाख रुपैयाँ पदाधिकारीले नै अपचलन गरेको बचतकर्ताको उजुरी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर