अब पोखरा पर्यटनको राजधानी – Nepal Press

अब पोखरा पर्यटनको राजधानी

पोखरा । पोखरालाई नेपालको पर्यटकको राजधानी घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त आयोजनामा आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटकीय राजधानीको रूपमा घोषणा गरेका हुन् ।

प्रचण्डले फेवाताल किनारस्थित बाराहीघाटमा रिमोर्ट थिचेर पर्यटकीय राजधानी पोखराको लोगो अनावरण गरे ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानी पोखराको विकासका लागि नेपाल सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने विश्वास व्यक्त गरे । ‘पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न नेपाल सरकारले उच्च प्राथमिकता दिनेछ,’ उनले भने ।

यसो त पोखरालाई पर्यटकीय सहर घोषणा गर्ने अभियान नयाँ भने होइन । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटक पटक पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घ सरकारलाई गरेको औपचारिक प्रस्ताव पठाएको थियो । तर, सङ्घ सरकारबाट कुनै सुनुवाइ भएको थिएन ।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलो पटक २०७५ मङ्सिर २८ मा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सङ्घीय सरकारलाई पत्राचार गरेका थिए । गण्डकीकै पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले २०७८ कात्तिक २९ गते पोखरालाई पर्यटकीय राजधानी बनाउन अनुरोध गरेको थियो ।

यस्तै २०७९ जेठमा पोखरा महानगरको नगर कार्यपालिकाको बैठकले पर्यटकीय राजधानी घोषणाका लागि सङ्घीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको थियो । त्यसपछि पनि राजधानी घोषणाका लागि पटक पटक प्रस्ताव गरे पनि सङ्घ सरकारले बेवास्ता गर्दै आएको थियो ।

त्यसपछि दबाबस्वरुप प्रदेश सरकार र महानगरले पर्यटन क्षेत्रसँग सम्बन्धितहरूलाई राखेर राजधानी घोषणाका लागि अध्ययन समिति गठन गरेर अगाडी बढ्यो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा गठित समितिमा पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि, पर्यटन विज्ञसहित ११ जना सदस्य थिए । उक्त समितिले अध्ययन सकेर गत पुस २६ मा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझायो ।

सिद्धान्त तथा स्थापित मान्यताहरूको सूक्ष्म विश्लेषण तथा मूल्याङ्कन गर्दा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरी विकास गर्न यथेष्ट आधार देखिएको प्रतिवेदनले औँल्याएको थियो ।

गण्डकी प्रदेशलाई मुलुककै पर्यटकीय केन्द्र मानी गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा प्रयोग, सो सम्बन्धी सिद्धान्त तथा स्थापित मान्यताहरूको सूक्ष्म विश्लेषण तथा मूल्याङ्कन गर्दा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरी विकास गर्न यथेष्ट आधार देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद् गत फागुन २३ गते बसेको बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो । प्रतिवेदनलाई आधार मानेर गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिका र प्रदेशका अन्य स्थानीय तहको सहभागितामा पर्यटकीय राजधानी घोषणा गरेको हो ।

राजधानी घोषणापछि के हुन्छ ?

पोखरालाई पर्यटनको राजधानी घोषणा गरेसँगै अब पोखरा २४ सै घण्टा खुला रहने भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा शनिवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले ४३ वटा मापदण्ड तय गरेर पोखराका मुख्य पर्यटकीय क्षेत्र २४ सै घण्टा खुला रहने व्यवस्था मिलाइएको हो ।

महानगरपालिका मेयर धनराज आचार्यले अब पोखरा २४ सै घण्टा खुला रहने उल्लेख गरे । ‘आजैदेखि निश्चित मापदण्ड र कार्यविधिको आधारमा पोखरा चौबिसै घण्टा खुला गरिएको छ’, उनले भने । सङ्घ, प्रदेश र स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रले उच्च प्राथमिकता पाउने मेयर आचार्यले विश्वास व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी पोखरालाई पर्यटनको राजधानी घोषणा गरेसँगै ठुलो चुनौती थपिएको बताउँछन् ।

‘पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने प्रदेश सरकार, स्थानीय सरकार तथा व्यवसायीको चाहना त पुरा भएको छ । तर, त्यससँगै धेरै चुनौती पनि थपिएको छ,’ उनले भने, ‘पोखरालाई अन्य ठाउँभन्दा पृथक् र सुरक्षित बनाउन सके मात्र राजधानी घोषणाको औचित्य पुष्टि हुन्छ ।’

उनले थपे, ‘ठुलो चुनौती अब गण्डकी प्रदेश सरकारमा आएको छ । पोखरा महानगरपालिकामा आएको छ । र उसले निजी क्षेत्रलाई कसरी परिचाहन गरेर लग्न सक्छ भन्ने कुरालाई हामीले हेर्नुपर्ने अवस्था छ ।’

औचित्य पुष्टि गर्न स्थानीय सरकारदेखि सबै एकजुट भएर लाग्न आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष मुल्मी सुनाउँछन् । उनी भन्छन्, पोखरालाई काठमाडौँमा बस्ने व्यक्तिहरूले हेर्ने दृष्टिकोण परिवर्तन गर्नका लागि यहाँका स्थानीय सरकारदेखि लिएर सबै एकजुट भएर अगाडि बढ्नु सक्यौँ भने हामी सक्छौँ ।’

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ पर्यटनको राजधानी पोखरामा नयाँ गन्तव्यको खोजी गरी धेरैभन्दा धेरै पर्यटक भित्राउने अभियानमा जोड दिनुपर्ने बताउँछन् ।

‘हामी एकदमै उत्साहित छौँ । महानगर र पहिलेदेखि माग पुरा भएको छ । पोखराको ब्रान्ड स्थापित भएको छ । प्रवर्द्धनका कामहरूलाई अझ बढी जोड दिने, गन्तव्यको खोजी गर्ने, भएका पूर्वाधारमा सम्पन्न गर्ने र धेरै भन्दा धेरै पर्यटक पोखरा भित्राउने अभियानमा जोड दिनुपर्छ,’ उनी भन्छन्, ‘सरकारसँग हातेमालो गर्न हामी पर्यटन व्यवसायी तयार छौँ ।’

पर्यटकीय राजधानी घोषणासँगै प्रदेश सरकारले रणनीतिक योजना बनाएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । ‘पूर्वाधार विकास तथा बिस्तार, संस्कृति तथा सम्पदाको प्रवर्द्धन, ब्राण्डिङ तथा बजारीकरणको अल्पकालीन रणनीति तय गरिएको छ । विशिष्टीकृत पर्यटनको विकास, बसोबासका विकल्पहरूको विविधीकरण, व्यावसायिक जनशक्ति को मध्यकालीन रणनीति पनि हामीले तय गरेका छौँ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *