बौद्धिक अपांगता भएकाहरुलाई सरकारले नहेरेको अभिभावकहरुको गुनासो – Nepal Press

बौद्धिक अपांगता भएकाहरुलाई सरकारले नहेरेको अभिभावकहरुको गुनासो

भक्तपुर । बौद्धिक अपांगता भएकाहरुलाई सरकारले नहेरेको अभिभावकहरुले गुनासो गरेका छन् ।

सुस्त मनस्थिति (एसएम) अभिभावक संघको १९औं वार्षिक साधारणसभामा सहभागी उनीहरुले अरु अपांगताभन्दा बौद्धिक अपांगता भिन्न र यो भएकाहरुको हेरचाह र स्याहार अत्यन्त कठिन भएको बताए ।

त्यस्तै तीनै तहका सरकारले बौद्धिक अपांगता भएकाहरुको स्याहारसुसारमा अभिभावकहरुलाई सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।

अभिभावकहरूले बौद्धिक अपांगता भएकाहरुको स्याहारसुसारमा पूरै समय दिनुपर्ने र एकछिनमात्रै ध्यान नपुगे उनीहरुको कुनै न कुनै दुर्घटनामा पर्ने संघका संस्थापक अध्यक्ष केदारप्रसाद जोशीले बताए ।

उनले धैर्य र लगन नभएका अभिभावकहरुले बौद्धिक अपांगता भएका छोराछोरीको हेरचाह गर्नै नसक्ने बताए ।

बौद्धिक अपांगता भएका छोरी गुमाइसकेका उनले छोरी मन्दिना जोशीको स्मृतिमा कोषसमेत स्थापना गरेका छन् । संघको वार्षिकोत्सवमा सोही कोषको ब्याज रकमबाट एक जना अभिभावकलाई ४ हजार ५५५ रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । बौद्धिक अपांगता भएका छोराको अथक हेरचाह र स्याहारसुसार गर्दै आएकी कान्छी बिसुन्केलाई उक्त सम्मान गरिएको हो ।

साधारणसभाको उद्घाटन सूर्यविनायक नगरपालिका वडा नं ६ का अध्यक्ष ईश्वर खड्काले गरेका थिए ।

साधारणसभामा संघकी अध्यक्ष सपना वादेले भक्तपुरमा ८० जना बौद्धिक अपांगता भएकाहरु रहेको र उनीहरुका अभिभावकहरु संगठित भएको बताइन् ।

उनले बौद्धिक अपांगतासम्बन्धी नीति निर्माणसँगै राज्यले विशेष ध्यान पुर्‍याउनुपर्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *