कुटपिट प्रकरण : विक्रम पाण्डेका पीए प्रेम बलायरसहित ३ जना राप्रपाबाट ४ वर्षका लागि निलम्बित – Nepal Press

कुटपिट प्रकरण : विक्रम पाण्डेका पीए प्रेम बलायरसहित ३ जना राप्रपाबाट ४ वर्षका लागि निलम्बित

काठमाडौं । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्न तीनजनालाई राप्रपाले निलम्बन गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अनुशासन समितिको सिफारिसका आधारमा चार वर्षका लागि निलम्बित गरेका हुन् ।

गत फागुन २७ गते आइतबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको समयमा कार्यालय हाताभित्र श्रेष्ठमाथि कुटपिट भएको थियो ।

घटनाको आवश्यक छानबिन गरी केन्द्रीय अनुशासन समितिले कार्यसम्पादन समितिलाई सिफारिस गरेको थियो । सोही बमोजिम अध्यक्ष लिङदेनले आज कारबाही गरेको राप्रपा स्रोतले बतायो ।

सो घटनामा संलग्न पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई निलम्बन गरिएको राप्रपाले जनाएको छ। बलायर राप्रपा उपाध्यक्ष विक्रम पाण्डेका स्वकीय सचिव पनि हुन् ।

पाण्डेको योजनामा डा. श्रेष्ठमाथि आक्रमण गरिएको आरोप छ । यद्यपि राप्रपाले उनको विषयमा कुनै निर्णय लिएको छैन । श्रेष्ठले घटनालाई लिएर प्रहरीमा उजुरी पनि गरेका छन् ।

प्रतिक्रिया

One thought on “कुटपिट प्रकरण : विक्रम पाण्डेका पीए प्रेम बलायरसहित ३ जना राप्रपाबाट ४ वर्षका लागि निलम्बित

  1. राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेहरुलाई पार्टीले कार्वाही गर्नु राम्रो हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर