औद्योगिक व्यापार मेलाको मिति तय- विभिन्न देशका २५० स्टल रहने, ७ करोडबढीको कारोबार अपेक्षा – Nepal Press

औद्योगिक व्यापार मेलाको मिति तय- विभिन्न देशका २५० स्टल रहने, ७ करोडबढीको कारोबार अपेक्षा

काठमाडौं । नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला-२०८१ को मिति तय भएको छ । आउँदो वैशाख २६-३० सम्म काठमाडौंमा हुने व्यापार मेलामा स्वदेशी उत्पादन प्रवर्द्धन मुख्य उद्देश्य रहेको घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

कोरोनापछि विश्वभर आएको आर्थिक मन्दीको प्रभावबाट प्रभावित नेपाली उद्योगको अवस्था झल्काउनु र उनीहरूको व्यापार प्रवर्द्धन गर्न सहयोग पु-याउने मुख्य उद्देश्यका साथ ‘खोजौं नेपाली, रोजौं नेपाली र ‘नेपाली वस्तुको प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने मूल नाराका साथ मेला गर्न लागिएको हो ।

मुलुकभरका झण्डै ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीहरू प्रदर्शनीले प्रतिविम्बित गर्ने महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बताए ।

प्रदर्शनीले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी (B2B), बीटुसी (B2C), बीटुजी (B2G) जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने बताइएको छ ।

महासंघका अनुसार प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ । २५० वटा स्टल रहने र दुईलाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रूपैयाँभन्दा बढीको आर्थिक कारोबारको प्रक्षेपण गरिएको सिंहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर