बीआईए ह्वीलचेयर रेस सम्पन्न, विजेताले पाए मेडलसहित नगद पुरस्कार (तस्बिर/भिडिओ) – Nepal Press

बीआईए ह्वीलचेयर रेस सम्पन्न, विजेताले पाए मेडलसहित नगद पुरस्कार (तस्बिर/भिडिओ)

काठमाडौं । बीआईए ईन्स्टिच्युटले ‘बीआईए ह्वीलचेयर रेस २०२४ः माई ह्वीलचेयर, माई फ्रिडम’ सम्पन्न गरेको छ । भृकुटीमण्डपस्थित पद्मोदय माध्यमिक विद्यालयमा आयोजित रेसमा करिब २०० जना फरक क्षमता भएका प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन् ।

पाँच किलोमिटरको रेशमा पुरुषतर्फ रमेश खत्रीले प्रथम स्थान हासिल गर्न सफल भएका थिए । उनले निर्धारित दूरी १९ मिनेट ४४ सेकण्डमा पार गरे । उनले २५ हजार रुपैयाँ नगद तथा मेडल प्राप्त गरेका छन् । राम काजी मगरले दोस्रो स्थान सुरक्षित गर्ने क्रममा २० मिनेट २० सेकण्डमा दूरी पार गरेका थिए । उनले मेडलसहित १५ हजार रुपैयाँ नगद पुरस्कार पाए । तेस्रो बनेका प्रेम बहादुर बिकले २० मिनेट ५२ सेकण्डमा उक्त दूरी पार गर्न सफल भए । उनले नगद १० हजार र मेडल पाएका छन् ।

त्यस्तै, महिलातर्फ ऐश्वर्य कुमारी कुमालले तोकिएको दूरी २३ मिनेट १५ सेकेण्डमा पूरा गर्दै पहिलो बन्न सफल भइन् । यमी झाँक्री मगरले २३ मिनेट ३९ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भइन् भने रजनी राईले तृतीय स्थान हासिल गरिन् । उनले २४ मिनेट १४ सेकेण्डमा उक्त दूरी पार गरेकी थिइन् । उनीहरुले पनि मेडलसहित क्रमशः २५, १५ र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथिलगायतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले सहभागीहरुको उत्साह र सक्रियताको प्रशंसा गरेका थिए । सपत्नी जेन थम्पसनसहित कार्यक्रमको प्रमुख अतिथि रहेका उनले बीआईए संस्थाले गरेको कार्य, कार्यक्रमको चाँजोपाँजो मिलाउने संयन्त्रप्रति धन्यवाद व्यक्त गर्दै उनले सहभागीहरुलाई बधाई दिए ।

त्यस्तै, अन्तर्राष्ट्रिय अपांगता अधिकारमा अमेरिकी विशेष एडभाइजर सारा मिनकाराले मानिसका फरकफरक जिम्मेवारी र अवस्था रहेको उल्लेख गर्दै हरेक अवस्थलाई सहज तवरले स्वीकार्नुपर्ने बताइन् । उनले आफू एक छोरी, महिला, मुस्लिम, दृष्टिविहीन, म्याथलेट (म्याथप्रति लगाव) भएको बताउँदै यो आफ्नो पहिचान भएको र यसको आफ्नै भूमिका रहने उनको भनाइ थियो ।

समाजमा फरक क्षमताका मानिसहरुको योगदानको मूल्यांकन हुने उनको आशय थियो । विशेष अतिथि रहेकी मिनकाराले फरक क्षमता भएकालाई समावेश गर्न अनुकूलन खेलको जरुरी भएको र ह्लीलचेयर रेस त्यही भएको भन्दै सहभागीहरुले आगामी दिनमा ओलम्पिकमा जान सक्ने समेत प्रेरणा दिइन् ।

त्यस्तै, अर्का विशेष अतिथि नेपालका महानायक राजेश हमालले रेसमा सहभागीहरुको उत्साह र जाँगरले आफूमा थप ऊर्जा भरेको बताए । प्रतिस्पर्थामा सहभागी हुनु नै विजयी भएको बताउँदै उनले समस्त सहभागीहरु विनर भएको भन्दै हौसला दिए ।

कार्यक्रममा सहभागीहरुलाई सान्त्वना पुरस्कार पनि प्रदान गरिएको थियो । त्यस्तै, सहभागीहरुले ह्वीलचेयर नृत्य तथा गायन पनि प्रस्तुत गरेका थिए । सहभागीले गाएको ‘लौ लौ आयो…’ बोलको गीतमा अभिनेता हमाल, अमेरिकी राजदूत दम्पती तथा अन्य अतिथिहरुले नृत्य गरेर हौसला प्रदान गरेका थिए ।

बीआईए यसको पूरा रुप बोधिसत्व ईन एक्सन हो । यस संस्थाले अपांगता भएका व्यक्तिहरुको जीवनमा आत्मविश्वास भर्ने कार्य गर्छ । जसमा उनीहरुलाई विभिन्न किसिमका सीपमुलक तालिम प्रदान गरेर आत्मनिर्भर बनाउन मद्दत गर्दछ ।

संस्थाले सन् २०१७ देखि ह्वीलचेयर रेस आयोजना गर्दै आएको छ । जसबाट अपांगता भएका व्यक्तिहरुको मनोबल बढ्ने तथा आफ्नो अवस्थालाई सहजै स्वीकारेर अघि बढ्ने भरोसा प्राप्त हुने आयोजकको बुझाइ छ ।

बीआईएका संस्थापक एवम् अध्यक्ष छ्योग्यल रिन्पोचे रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर