निजामती सेवामा राधिका: पढाउँदा-पढाउँदै सेवा प्रवेश, १९ वर्षमा प्रदेश प्रमुखसचिव – Nepal Press

निजामती सेवामा राधिका: पढाउँदा-पढाउँदै सेवा प्रवेश, १९ वर्षमा प्रदेश प्रमुखसचिव

रुपन्देही ।काठमाडौं तारकेश्वरको किसान परिवारमा जन्मिएकी राधिका अर्याल निजामती सेवामा छिटो फड्को मार्ने कर्मचारी सूचिमा अग्रपंक्तिमा आउँछिन् । ५  दिदीबहिनी र एक दाइ भएपनि तीन दिदीहरुको पढ्ने वातावरण नै नभई बिहे भएपनि उनले मेहनतका साथ पढिन् ।

दाइ केदारप्रसादले पढ्दै र जागिर गर्दै गर्न थालेपछि उनलाई शैक्षिक क्षेत्र र निजामती क्षेत्रमा अगाडि बढ्ने प्रेरणा मिलेको हो । ‘तीन दिदीले पढ्न पाउनुभएन, त्यो बेलाको अवस्था नै त्यसस्तै थियो, किसान परिवारमा जन्मियौं, म र बहिनीले मात्रै पढ्न पायौं, दाइको प्रेरणाले यसमा साथ दियो, आफ्नो मेहनत त छँदैछ’ उनले भनिन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ५ मा जन्मेकी अर्यालको भक्तपुरको चागुनारायण नगरपालिका–७ बागेश्वरी कर्मघर हो । उनले अफिसर भएपछि नै बिहे गरेकी हुन् । राधिकाका श्रीमान रामेश्वर लामिछाने नेपाली सेनामा कार्यरत छन् ।

२०६१ मा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी राधिका अर्याल अहिले लुम्बिनी प्रदेशका ४ हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै प्रमुख सचिवको जिम्मेवारीमा छन् । निजामती सेवामा प्रवेश गरेको १९ वर्षमा प्रशासनतर्फबाट नेपाल सरकारको विशिष्ट श्रेणीमा पुगेकी उनले इमानदार प्रशासकको पहिचान बनाएकी हुन् ।

यही वर्ष कार्तिक १६ गते बढुवा भएकी राधिका भावी मुख्यसचिवको दाबेदारका रुपमा वातावरण बनाउँदै गएकी छन् । सबै क्षेत्रमा दक्षता रहेको र समन्वय गर्नसक्ने क्षमता रहेकाले पनि उनले चाहेजसरी सफलता पाउँदै गएकी छन् ।

२०४८ मा कन्या माविबाट प्रथम श्रेणी एसएससी उत्तीर्ण गरेकी उनले प्रवीणता प्रमाणपत्र र स्नातक तह त्रिचन्द्र कलेजबाट विज्ञान विषयबाट पूरा गरेकी हुन् । वनस्पति विज्ञानबाट स्नातकोत्तर गरेकी राधिकाले त्यो सँगै जनप्रशासन संकाय र जापानको टोकियो युनिर्भसिटीबाट पब्लिक पोलिसीमा पनि स्नातकोत्तर गरेकी छन् ।

आइएसी उत्तीर्ण गरेपछि पढ्दै–पढाउँदै गर्न थालेकी उनले एमएससी पढ्दै गर्दा साथीहरुको सल्लाहमा निजामतीमा फर्म भरेर जाँच दिएपछि सेवा प्रवेश भएको बताउँछिन् । पढ्ने समयसम्म उनी आफैले प्राध्यापक बन्ने योजना बनाएपनि उनी निजामती क्षेत्रमा साथीहरुको संगतले लागेकी हुन् । साथीहरूसँगको सामान्य कुराकानी फर्म भरेर शाखा अधिकृतमा परीक्षा दिएर नाम निस्किएपछि निजामती सेवामा लागेकी हुन् ।

‘एमएसीको कक्षा चलिरहेको थियो, साथीहरुले नयाँ प्रणालीअनुसार लोकसेवा खुलेको र एकपटक परीक्षण हुने सल्लाहपछि फर्म भरियो, नाम निस्केपछि यतै लागियो’ उनले भनिन् ।

निजामती सेवामै रहेका दाजुको प्रेरणा, श्रीमानको साथ, परिवारको सहयोग, साथीभाइको आग्रह र आफ्नो मेहनतबाट सफलता पाएको उनको भनाइ छ । पाँच दिदीबहिनी र एक दाजुभाइमध्ये राधिका पाँचौ सन्तान हुन् । बुवा–आमा निरक्षर र किसान भए पनि छोराछोरीलाई शिक्षा–दिक्षा दिनुपर्छ भन्ने चेत रहेपनि राधिकाभन्दा अघिका तीनवटी दिदीले भने पढ्न पाएनन् ।

दाजु केदारले आफूसँगै बहिनी राधिकालाई पनि पढ्न प्रेरित गरे । सेवा प्रवेशदेखि अहिलेसम्म काम गर्न राधिकालाई अफिसमा पनि कुनै अप्ठ्यारो परेको छैन । जनमुखी प्रशासनको विकास र चिर्दै आफ्नो आचरण र सही जिम्मेवारीका साथ अघि बढ्नेहरूका लागि निजामती सेवा धेरै राम्रो क्षेत्र भएको उनको भनाइ छ ।

लुम्बिनी प्रदेशमा काम गर्न सहज भए पनि कर्मचारीको अभाव रहेको उनको अनुभव छ । महिलाहरूका लागि निजामती सेवा र शिक्षण पेशा सुरक्षित, सम्मानित र भरपर्दो छ भन्ने आममानिसको बुझाइ छ । अहिले लुम्बिनी प्रदेशमा रहेका करिब दुई सय कार्यालयमा कार्यरत १४ सहसचिवसहित चार हजार कर्मचारीको नेतृत्व गरिरहेकी छन् उनले ।

१९ वर्षअघि खुला प्रतिस्पर्धाबाट शाखा अधिकृतमा प्रवेश गरेकी अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आठ वर्ष बिताएकी थिइन् । शाखा अधिकृतबाट उपसचिव नभएर आठ वर्षपछि २०६९ चैतमा एकैपटक खुला प्रतिस्पर्धाअन्तर्गत महिलातर्फ सहसचिवमा नाम निकाल्न सफल भएपछि उनको चर्चा थप चुलिएको हो ।

सहसचिवको ११ वर्षे कार्यकालयमा उनले करिब पाँच वर्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा महिला सशक्तिरण महाशाखा प्रमुख रहेर काम गरिन् भने त्यसबाहेक वातावरण विभागमा उपमहानिर्देशक, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रशासन तथा योजना महाशाखा प्रमुख, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिन् ।

गत भदौ १२ गते बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको जिम्मेवारीमा पूरा गरेकी उनले सहसचिव रहँदा नै लुम्बिनीको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी पाएकी थिइन् । ६ महिनाअघि सचिवमा बढुवा भएर उनले प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेकी हुन् ।

महिलालाई प्रमुख पदमा मान्न गाह्रो हुने समाज भएकाले त्यसलाई आफ्नो क्षमताले चिर्न सक्नुपर्ने अर्याल बताउँछिन् । ‘विभेद म आफैले त अहिलेसम्म भोग्नुपरेको छैन, तर केही ठाउँमा महिलाई यो काम पूरा गर्न सक्दैनन् कि भनेर विश्वास नगरेको जस्तो अनुभूति हुन्छ’ उनले भनिन्–‘यसका लागि महिला आफै पनि आत्मविश्वासका साथ काम गर्नुपर्छ ।’ हरेक महिलाले आफूलाई कसैले केही जिम्मेवारी दिन्छ भनेर आश गर्नुभन्दा योग्य बन्ने र दाबी गर्नसक्ने वातावरण आफैले बनाउनुपर्ने र अवसरका लागि सजिलो हुने अर्यालको धारणा छ । महिलाहरूलाई प्रमुख पदमा स्वीकार्न अझै समस्या देखिने गरेपनि आफ्नो काम र क्षमताले गर्दा आफू यहाँसम्म आइपुगेको उनको अनुभव छ ।

‘महिलालाई दोहोरो जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था छँदैछ, नियमित काममा छुट हुने कुरा भएन, कार्यालयमा हुने जिम्मेवारी पनि सोहीअनुसार पूरा गर्नुपर्यो, यो विषयलाई विशेष ख्याल गर्नुपर्छ’ उनले भनिन् ।

महिला अधिकारको क्षेत्रमा कुरा गरेर मात्रै नहुने भन्दै हरेक दिन आँट गरेर अगाडि बढ्नुपर्ने उनी बताउँछिन् । महिलाहरू सफल भएपछि मात्रै स्वीकार्ने भन्दा पनि अवसर दिँदै प्रोत्साहन दिनुपर्ने बताउँदै उनले समाजमा भइरहेका राम्रा कामलाई निरन्तरता दिँदै नराम्रा केही भएमा सच्च्याउदै अगाडि बढ्नुपर्ने आफ्नो स्पष्ट धारणा रहेको बताउँछिन् ।

खुला प्रतिस्पर्धाबाट आएका महिला योग्यता र क्षमताको हिसाबले पुरूषभन्दा कमजोर छैनन् भन्ने उनको काम र क्षमताले पुष्टि गरेको छ । निजामती सेवाको प्रशासनतर्फबाट सेवा प्रवेश गरेको छोटो समयमै उनको अनुभवले त्यो बताउँछ ।

‘निजामतीमा आउने आफ्नो दक्षता देखाएरै हो, तर आइसकेपछि आफ्नो जिम्मेवारी पनि त पूरा गर्नुपर्यो’उनले भनिन् । सार्वजनिक प्रशासन र सुशासनको क्षेत्रमा काम गर्ने अब्बल प्रशासकको परिचय अर्याल बनाएको कर्मचारी क्षेत्रकै अगुवाहरु विश्लेषण गर्छन् । महिलाको मात्रै होइन निजामती सेवामा आफ्नो भविश्य खोजेका सबै युवाका लागि प्रेरणासहित उदाहरण उनी बनेको कर्मचारीको विश्लेषण छ ।

धेरै समय संघमा बिताएको उनको अनुभवले प्रदेशको नयाँ संरचना, जनशक्ति अभाव, स्थायी संरचनाको समस्या र खासगरी कानुनकै अभावमा चाहेजसरी काम गर्न समस्या परिरहेको छ ।

‘संघ र प्रदेशमा काम त एकै हो तर प्रदेश नयाँ संरचना भयो,धेरै अभावले काम हुन सकेको छैन, संविधानमै तीनै तहका अधिकार र कामलाई स्पष्ट खुलाएर अझै बढी प्रभावकारी हुन्छ’ उनको भनाइ छ ।

‘प्रदेश संरचनाले काम गर्न धेरै सहज भएको छ, मलाई कुनै राजनीतिक दवाव झेल्नुपरेको छैन, तर संघमा सरकार ढल्दा प्रदेशमा पनि ढल्ने, आन्तरिक स्रोत बलियो बनाउने गरे सहज हुन्छ’ अर्यालले भनिन् ।


प्रतिक्रिया

2 thoughts on “निजामती सेवामा राधिका: पढाउँदा-पढाउँदै सेवा प्रवेश, १९ वर्षमा प्रदेश प्रमुखसचिव

  1. तपाईं सबैकाे प्रेरणाकाे स्राेत हुनुहुन्छ। मलाई लाग्छ महिलाले पुरुष भन्दा मिहिन ढंगले काम गर्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *