चलाउनेको बयान- श्याम ज्ञवालीले आईजीपी बन्न २ करोड मागे, सुन काण्डमा मलाई यसरी फसाइयो (अडिओ/भिडिओ) – Nepal Press

चलाउनेको बयान- श्याम ज्ञवालीले आईजीपी बन्न २ करोड मागे, सुन काण्डमा मलाई यसरी फसाइयो (अडिओ/भिडिओ)

काठमाडौं । सुन तस्करी प्रकरणको छानबिन गर्न गठित जाँचबुझ आयोगले सीआईबीको अनुसन्धानमाथि प्रश्न उठाउँदै जीवन चलाउने भन्ने व्यक्तिको बयान नै च्यातेर भगाएको भन्दै एआईजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको सिफारिस गरेको छ ।

सीआईबीले सात घण्टा बयान लिएर चलाउनेको संलग्नता पुष्टि नभएपछि छाडेको थियो । तर, आयोगले चलाउनेलाई छाडिएको विषयलाई समातेपछि उनी चर्चामा आएका छन् ।

आखिर को हुन् चलाउने ? हाल फरार रहेका चलाउने खाद्यान्नका व्यवसायी रहेको पाइएको छ । नेपाल प्रेसको सम्पर्कमा आएका चलाउनेले भने सुन तस्करी प्रकरणमा आफूलाई फसाउन खोजिएको भन्दै यसमा प्रहरी संगठनभित्रको शक्ति संघर्ष जोडिएको दाबी गरेका छन् ।

आईजीपी बन्नलाई आफूसँग एआईजी श्याम ज्ञवालीले २ करोड मागेको र दिन नसकेपछि आफूमाथि साजिस रचिएको आरोप चलाउनेको छ । उनले गृहमन्त्री रवि लामिछाने र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि ज्ञवालीले नै यो साजिसमा खेलाएको आरोप लगाएका छन् ।

उनले सीआईबीका एसपी सञ्जय थापाको घर बनाउनका लागि डिएसपी दुर्गा दाहालले ६० लाख रूपैयाँ मागेको समेत दाबी गरेका छन् । सीआईबीमा आफूले बयान दिएको दोस्रो दिन पैसा मागिएको उनको दाबी छ ।

प्रस्तुत छ,- सुन तस्करीमा आरोपित जीवन चलाउनले नेपाल प्रेसलाई दिएको अडिओ र भिडिओ बयानको टेप उतार

श्याम ज्ञवालीले भगाए, उनैले फसाए

म जीवन चलाउने हुँ । मलाई विनाकारण फसाइएको छ । मैले व्यापारिक सिलसिलामा दावा भन्नेसँग व्यापारिक कुरा गरेको । आफ्नो चामल दाल, तेल, जिरा धनियाँको कुरा गरेको हो । त्यही क्रममा चाइना खासातिर लैजान्छु भनेको थियो । त्यही क्रममा तिब्बतका,चाइनाका ठूला ठूला लगानीकर्ता छन्, सुनको काम गर्ने, हाइड्रो पावरमा काम गर्ने धेरै छन् नेपालमा लगानी गर्न चाहिरेका छन् भन्दा ल हुन्छ त्यस्तो छ भने लिएर आउनुस् कुरा गरौंला भनेको हुँ । मैले एफडीआईबाट काम गर्न मिल्छ भनेँ । उसको उद्देश्य चाहिँ खाली गफ दिने रहेछ । त्यसपछि उसले मसँग सामान अर्डर गर्यो । तिब्ब लानुपरो भनेर खुर्सानी अर्डर गर्‍यो ।

मैले इण्डियाको व्यापारीसँग सबै कुरा गरेर स्याम्पलसमेत पठाएँ तर त्यो सामान पनि लगेन । त्यो पनि नगरेपछि मेरो क्लोजिङको बेलामा पैसा चाहिएका थियो,मलाई ५ करोड पैसा मिलाइदे भनेर मैले जग्गाको पुर्जा र २४ प्रतिशत ब्याज प्लस ५ प्रतिशत कमिसन दिनुपर्छ भन्यो । त्यो मेसेज पनि मैले सीआईबीलाई दिएको छु । म सीआईबीमा गएर बयान पनि दिएको हुँ । सुनको काम गर्ने मान्छेसँग त पैसा अथाह भएकोले गर्ने होला । म आफैं बैंकको पैसा तिर्न नसकेर क्लोजिङमा पैसा निकाल्दे भनेर उसको पछाडि लागेर उसलाई फोन गरिरहेको थिएँ । त्यहि क्रममा मलाई सीआईबीमा बोलाइयो । म बयान दिन गएँ । के कारण रहेछ भनेको, मेरा दावासँग कन्भरसेसन भएको कुरा आयो । अनि मैले सबै भनेँ,दावासँग यो यो कारणले यसरी यसरी संवाद भएको हो भनेर । सीआईबीमा ७ घण्टाजति बसेर मैले आफ्नै स्टेटमेन्ट दिएर सन्जय थापाको अगाडि सबै सिसि क्यामेराको अगाडि स्टेन्टट दिएर निस्केको ७ दिनपछि मलाई फोन आयो । मेरो एउटा साथी रोसिद भन्नेले फोन गरेर तँलाई श्याम ज्ञवालीले –एआइजी) भाग भनेको छ,तँलाई फसाउँदैछ भनेको छ भन्यो ।

श्याम ज्ञवालीले चाहिँ आईजीपी बढुवा भन्दा अगाडि मसँग आईजीपी बन्नका लागि २/३ करोड पैसा चाहियो भनेको थियो । पैसा माग्न उसकै घरमा बोलाएको थियो,म उसको घरमा पनि गएको थिएँ । त्यो त मेरो कल डिटेल हेर्दा पनि हुन्छ । ऊसँग मेरो धेरै कुरा पनि भएको छ । त्यसपछि मैले मसँग पैसा छैन दाइ भनेपछि उसले मसँग व्यक्तिगत रिस पहिला पनि राखेको थियो । पहिला पनि मलाई फसाउन खोजेको थियो । पछि उनले डबल गेम खेलेछन् । यता मलाई भाग् नत्र तँलाई फसाउन ठूलो गिरोह लागेको छ, माओवादीले तँलाई फसाउँदैछ भनेर मेरो साथीमार्फत कुरा गरेर मलाई भाग् भने । उता चाहिँ सीआईबीले जीवन चलाउनेलाई भगायो भनेर रवि दाइलगायतका टीमलाई उचालेर सीआईबीबाट पैसा खाएर जीवनलाई भगाइयो भन्ने प्रोपोगाण्डा गरियो ।

रवि दाइलाई उचालेर नारायणकाजी श्रेष्ठलाई उचालेर मेरो नाम जबर्जस्ती लेखियो, जबर्जस्ति मलाई प्रतिवादी बनाइयो । जबकी त्यही बयान दिँदाखेरी त्यही दावाले यसमा जीवन भन्ने मान्छे छैन भनेको छ । अदालतमा समेत उसले भनेको छ । मलाई अहिले बलिको बोका बनाइएको छ । मैले २० वर्षदेखि गरेको व्यवसाय डुबाइएको छ । यो सबै खेल किन श्याम ज्ञवालीले गरेको छ भने, एक त ऊ आफू सीआईबीमा आउनुछ । आईजीपी वसन्त कुँवरलाई बदनाम गरेर आफू आईजीपी हुन खोजेको छ । त्यसमाथि उसको पार्टनर चाहिँ बजारमा मेरो प्रतिस्पर्धी छ व्यापारमा । निराजन चलाउने भन्ने छ उसको व्यापारिक पार्टनर, ऊ पनि खाद्यान्नको काम गर्छ । निराजन पनि आफैं डुबिराखेको छ, निराजनको श्याम ज्ञवालीको पनि करोडौं पैसा डुबेको छ भन्ने सुनेको छु । मलाई नेपालबाट भगायो भने त, उसको पार्टनरको व्यवसाय राम्रो हुनेभयो । मैले २० वर्षदेखि आफ्नो व्यापार व्यवसाय गरेर हजारौं मान्छेलाई रोजगारी दिएँ । आज मलाई भाग्नुपर्ने स्थिति बनाए । मेरो एक हजार जना स्टाफको बेहाल भएको छ ।

डीएसपीले बाजेको सेकुवामा पैसा मागे

म आफ्नो देशमा व्यवसाय गरेको मान्छेलाई ठूलो साजिसमार्फत फसाइदैछ । यसमा प्रहरीकै उच्च अधिकारीको खेल छ । सुनको काम गर्ने मान्छेसँग अर्बौ रूपैया हुन्छ । मेरो हालत त बुझे पनि हुन्छ । मार्केटको पैसा उठेको छैन । बैंकको अलग्गै छ । त्यसमाथि सीआईबीको डीएसपी दुर्गा दाहाल र  सञ्जय थापालगायतको टीमले ५०/६० लाख पैसा मागेको छ मसँग । बाजेको सेकुवामा ६० हजारको रक्सी र सेकुवा खाएपछि दुर्गा दाहालले  सञ्जय थापाको घर बनाउँदैछ भनेर ६० लाख पैसा माग्यो । तर, मैले दिन सक्दिन भनेँ । त्यस दिनको कल डिटेल हेर्दा पनि हुन्छ । पैसा नदिँदाखेरी श्याम ज्ञवाली र उनीहरू मिलेर पत्रकारलाई जीवन चलाउनेलाई यसरी छाडियो भनेर न्युज दिन्छन् ।

मलाई प्रतिवादी बनाउन गृहमन्त्रीलाई दबाब दिइन्छ । मलाई भोलि लागुऔषध हाल्दिन्छन्, फसाउँछन् भनेर उनीहरूले नै भगाए । हुँदा हुँदै रुगम कुँवर भन्नेसँग भेटेको पनि छैन । मलाई विभिन्न व्यक्तिको स्वार्थ पूरा गर्न बलिको बोका बनाइदैछ । मैले आर्मीलाई २ अर्बको सामान सप्लाइ गरेको छु । मेरो आफ्नो व्यापार व्यवसाय राम्रो भइरहेका बेला यस्तो खेलमा फसेँ । मेरा बच्चा स्कुल जान पाएका छैनन् । मैले २ पटक त आत्महत्याको प्रयास गरेको छु । यो सबै खेलमा एआईजी श्याम ज्ञवाली छन् । उनलाई मैले आईजीपी बन्नका लागि २ करोड दिएन भन्ने हो । म चाँडै अदालतमा आत्मसमर्पण गर्दैछु । अदालतसमक्ष म यथार्थ बयान दिन्छु ।

दावालाई मैले पक्राउ गराउन खोजेँ

अब दावासँग गोप्य कुरा गर्नुछ भनेको चाहिँ मैले पैसा मागेको थिएँ । उसले बजारभरी हल्ला गर्‍यो । मेरो पनि प्रतिष्ठा छ, गोप्य राखौं भनेको हो । ममाथि अमेरिकामा डलर पठाएको भन्ने आरोप आएको छ । मेरो एकजना पेम्पा भन्ने साथीलाई अमेरिका बस्ने मान्छेलाई ५/७ हजार डलर सापटी उसको मान्छेलाई विरामी हुँदा सापटी भनेर सुबुप्रताप केसी भन्नेले दिनुभयो । सुबुप्रतापलाई अमेरिका टु अमेरिका फिर्ता गर्‍यो । अर्बको सुन कारोबार ७ हजार डलरमा हुन्छ ? अहिले सबै मेरो टाउकोमा हालेर आफू चोखिन सबै माथि माथि नेता र पुलिसहरूको ग्रायण्ड डिजाइन हो । कुरा गरेकै आधारमा फस्ने हो भने त जो पनि फस्छ नि । उहाँहरूको टीमलाई स्क्याण्डल गरेर व्यापारीलाई पलायन गर्नुछ ।

जबकी त्यो दावा भन्ने फटाहा हो,ठग हो भनेर मैले नै प्रहरीलाई सुराकी बनेर पक्राउ गराउन खोजेको हो । सोह्रखुट्टे प्रहरीका करुण श्रेष्ठको टोलीले सीआईबीमा पनि भनेको छ, जीवन हाम्रो सुराकी हो भनेर । दावासँग प्रहरीकै सामुन्ने मैले सोधेको छु, एक लाल सुन मैले लिएको छु ? भनेर । उसले पनि मलाई सुनसँग जोडेको छैन । तर, यहाँ मलाई फसाउने डिजाइन भयो । म नेपाल आउन चाहन्छु र आफ्नो व्यवसाय अघि बढाउन चाहन्छु ।

मलाई बिट क्वाइन, क्रिप्टो भन्नेबारे केही थाहा छैन । तर, श्याम ज्ञवाली एआईजीपी यसबीचमा कतिपटक दुबई गए ? रेकर्ड निकालेर हेरौं । उनको लागि लगानी गर्ने महेन्द्र सिंह भन्ने व्यक्ति क्रिप्टो किङ हो । सीआईबीमा श्याम ज्ञवालीलाई ल्याउन र आईजीपी बनाउन भनेर महेन्द्र सिंह नेपाल आउँदैछ यो सूचना गृहमन्त्रीले फलो गरुन् । मलाई फसाएर के उपलब्धि हुन्छ ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर