कोशीका मुख्यमन्त्रीलाई एमालेको चेतावनी- अल्पमतकाे सरकार नछोडे संविधानमा टेकेर हटाउँछौं – Nepal Press

कोशीका मुख्यमन्त्रीलाई एमालेको चेतावनी- अल्पमतकाे सरकार नछोडे संविधानमा टेकेर हटाउँछौं

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले तत्काल सरकार छाड्न मुख्यमन्त्री केदार कार्कीलाई आग्रह गरेको छ ।

संसदीय पत्रकार मञ्च कोशीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले यो सरकार अल्पमतमा परेकाले मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने बताएका हुन् ।

यो सरकार राजनीतिक रूपमा अल्पमतमा परेकाले नैतिकताको आधारमा राजीनामा दिन उनले आग्रह गरे ।

प्रमुख सचेतक भण्डारीले भोलि प्रदेशसभामा यो विषय प्रवेश गर्नेबित्तिकै सभामुखले अल्पमतमा परेको वैधानिक सूचना दिएपछि त्यो बेला मुख्यमन्त्री अप्ठ्यारोमा पर्ने अवस्था आउने बताए ।

संविधानको धारा १८८ को उपधारा १ को अवस्था आएमा अल्पमतमा परेको अवस्थामा विश्वासको मत लिनुपर्छ, त्यस्तो अवस्थामा विश्वासको मत लिन पाउँदिनँ भन्न नपाउने उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले जबरजस्ती गर्न खोजेको अवस्थामा संविधानको धारामा टेकेर हटाउने उनले चेतावनी दिए । उनले कसरी सरकारबाट हटाउने भन्ने चाहिँ खुलाएनन् ।

उनले भने, ‘निरङ्कुशता र स्वेच्छाचारी रूपमा मुख्यमन्त्री लाग्न खोज्नु गलत हुनेछ । अहिलेको अवस्थामा तत्काल राजीनामा नदिने हो भने मुख्यमन्त्री अप्ठ्यारोमा पर्छन् ।’

कुन प्रदेश कसले नेतृत्व गर्ने भन्नेबारेमा केन्द्रीय नेतृत्वको बीचमा टुङ्गो लागि नसकेको कारणले गर्दा चुप लागेर बसेको उनले बताए । केन्द्रबाट टुङ्गो लाग्नेबित्तिकै कोशीमा नेकपा माओवादी, एकीकृत समाजवादी र एमालेसहितको सरकार बन्ने उनको दाबी छ ।

‘मुख्यमन्त्री मान्नुभयो भने राजीनामा दिन भन्छौं, माओवादी र एकीकृत समाजवादीका मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्रीको लागि निकै चुनौतीपूर्ण हुनेछ’, प्रमुख सचेतक भण्डारीले भने, ‘त्यो भन्दा पहिला नै मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्छ ।’

सर्वोच्चको फैसलाले सभामा बहुमत पुर्‍याउन सक्ने आधार हुँदासम्म प्रदेशसभा विघटन भई चुनावमा जाने आधार नभएको उनले बताए । उनले २०७८ असार २८ गतेको सर्वोच्चको फैसलाको व्याख्यालाई टेकेर जाने आधार रहेकाले मुख्यमन्त्रीले राजीनामा दिएर अर्को सरकार गठन गर्ने वातावरण बनाउन आग्रह गरे ।

नेकपा एमाले संसदीय दलका उपनेता राम रानाले समयअनुसार सबै दल चल्नुपर्ने बाध्यताको बीच कोशीमा कसैले सरकार छाड्दिनँ भन्नु अहमतामात्र हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर