काम देउ न सरकार भन्दै हरिवंशले ल्याए ‘मुटु फस्याथ्यो’ – Nepal Press

काम देउ न सरकार भन्दै हरिवंशले ल्याए ‘मुटु फस्याथ्यो’

काठमाडौं । विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका गायक तथा हाँस्यकलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गर्दै उनले ‘मुटु फस्याछ’ बोलको गीत बजारमा ल्याएका हुन् ।

आचार्यकै शब्द र संगीत रहेको सार्वजनिक गीतमा समीक्षा अधिकारीले पनि स्वर दिएकी छन । गम्भीर विष्टले निर्देशन गरेको गीतको भिडियोमा हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अन्जली अधिकारीले अभिनय गरेका छन् । गीतमार्फत आचार्यले ‘काम देउ न सरकार’ भन्दै देशका युवापुस्ताको भावना उजागर गर्न खोजेको छन् ।

‘यो गीतले देशमै केही गर्न खोजेको एउटा युवा कसरी विदेशीन बाध्य हुन्छ भन्ने कथा रमाइलो ढंगबाट उठाएको छ,’ गायक आचार्यले भने, ‘अहिले चाहेर पनि देशमै बस्न नपाउने युवाको जमात बढेको छ । गाउँघर रित्तिदै गएको छ। पहिलेपहिले गाउँका मान्छे रोजगारीको सपना बोकेर काठमाडौं आउँथे । अहिले त काठमाडौं युवाहरुको ट्रान्जिटजस्तो बनेको छ । गन्तव्य त विदेश भइरहेको छ । गीतमार्फत हाम्रो देशेको यही नियति र मर्म उठाउन खोजेको छु ।’

श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो सम्पादन भुपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र छायांकन नवराज उप्रेतीले गरेका हुन् ।

हरिवंशले यसअघि ‘ए केटा मादलु पड्का’ गीत ल्याएका थिए । सरोज ओली र प्रियंका कार्कीसँगकै सहकार्यमा ल्याएको यो गीतले युट्युबमा करोड बढी भ्यूज पाइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *