गृहमन्त्री लामिछानेलाई खतिवडाको चेतावनी- आफूविरुद्ध लागेका मुद्दामा चलखेल गर्न पाइँदैन – Nepal Press

गृहमन्त्री लामिछानेलाई खतिवडाको चेतावनी- आफूविरुद्ध लागेका मुद्दामा चलखेल गर्न पाइँदैन

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफूविरुद्ध लागेका मुद्दामा चलखेल नगर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएका छन् ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूविरुद्धका मुद्दाका बारेमा आफैंले सांसदहरुलाई जानकारी गराउनुपर्ने बताए ।

सांसद खतिवडाले राज्य व्यवस्था समितिमा छलफल गर्दा वर्तमान गृहमन्त्रीले वर्तमान परराष्ट्रमन्त्रीका बारे आफूसँग अरु पनि प्रमाण भएको बताएको उल्लेख गर्दै आफू कारबाही गर्ने ठाउँमा हुँदा कारबाही गरेर देखाउन सक्नुपर्ने बताए ।

उनले गलतलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई फसाउन नहुनेतर्फ वर्तमान गृहमन्त्री लाग्नुपर्ने बताए । दाग लागेका मन्त्रीहरुलाई सरकारमा राख्न नहुने उनको भनाइ छ ।

उनले सुन तस्करीसम्बन्धी छानबिन आयोगले बुझाएको प्रतिवेदन सांसदहरुलाई उपलब्ध गराउन पनि माग गरे ।

सांसद खतिवडाको भनाइ जस्ताको तस्तै

संसदमा धेरै विषय प्रवेश गरेका छन् । हामी हिजो सरकारमा हुँदा सरकारमा दाग लागेका मन्त्रीहरुलाई राख्नु हुँदैन भनेर तत्कालीन प्रमुख प्रतिपक्ष दलले भनेको थियो । अहिले त्यस्तै विषयमा सम्बन्धित भएर दाग लागेका मन्त्री र उपप्रधानमन्त्रीहरु अरु मन्त्रीहरु पनि छन् । त्यसमा प्रश्न उठ्नु स्वाभाविक हो । उपप्रधानमन्त्रीजीकै बारेमा सहकारीको कुरा उठ्ला । अहिले सुनको कुरा पनि आएको छ । सुनको प्रतिवेदन आयोगले बुझाएको छ, त्यो प्रतिवेदन अहिले मान्य सदस्यहरुको हातमा आउनुपर्छ । त्यसमा छलफल गर्छौं ।

सीआईबीले छानबिन गर्दा उम्कन नहुने मान्छेहरु उम्किए भन्ने थियो, तत्कालीन गृहसचिवको भूटानी शरणार्थी प्रकरणमा टेलिफोन हेर्ने काम गरेको थियो । तत्कालीन आईजी र एआईजीहरु पनि छन् सुन काण्डमा भन्ने आएको छ । को को छन्, त्यो सम्पूर्ण रिपोर्ट आए कि आएनन्, त्यो हेर्नुपर्छ । गृहमन्त्री क्रान्तिकारी नै हुनुहुन्छ, पहिल्यैदेखि यो गर्ने र त्यो गर्ने भन्नुभएको छ । हामीले राज्य व्यवस्था समितिमा सँगै छलफल पनि गरेका छौं ।

उहाँ प्रतिपक्षमा हुँदा अहिलेको परराष्ट्रमन्त्री गृहमन्त्री हुँदा मसँग प्रमाण छन् अरु पनि कारबाही गर्नुपर्छ भन्नुभएको थियो । अब कारबाही गर्ने ठाउँमा उहाँ पुग्नुभएको छ । उहाँले आफ्नो मुद्दामा चलखेल नगर्ने काम गर्नुपर्छ । अरुको मुद्दामा पनि गलतलाई कारबाही गर्नुपर्छ र निर्दोषलाई फसाउने काम गर्नुहुँदैन । उहाँका बारेमा उठेका इस्युहरुमा उहाँ आफैंले सम्बोधन गरिदिए राम्रो हुन्छ ।


प्रतिक्रिया

One thought on “गृहमन्त्री लामिछानेलाई खतिवडाको चेतावनी- आफूविरुद्ध लागेका मुद्दामा चलखेल गर्न पाइँदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर