एमाले लुम्बिनीले ८६ हजार पार्टी सदस्यको परीक्षा लिने – Nepal Press

एमाले लुम्बिनीले ८६ हजार पार्टी सदस्यको परीक्षा लिने

रुपन्देही । नेकपा एमाले लुम्बिनीले प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना सदस्यको एकै पटक परीक्षा लिने भएको छ । पार्टी सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यस प्रकारको नयाँ कार्यक्रम थालिएको एमालेको भनाइ छ । यहीँ चैत ५ गते हुने यस्तो परीक्षामा सदस्यको क्षमता अनुसारको प्रश्न तयारी गरिएको छ ।

निष्क्रिय सदस्यलाई क्रियाशील र जवाफदेही बनाउन यो कार्यक्रम थालिएको भए पनि पहिलो पटक अनुत्तीर्णलाई पुनः अवसर दिइने र पटक पटक असफल भए पार्टीबाट बिदा गरिने रणनीति बनाइएको एमाले सचिवालय तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले बताइन् ।

प्रदेश कमिटीले प्रदेशभित्र रहेका १२ वटै जिल्लाका पार्टी सदस्यहरूको चैत ५ गते वडा कमिटीमा परीक्षा लिइने छ । यसमा प्रदेशभरका ८६ हजार २ सय ६० जना नेता/कार्यकर्ताहरू सहभागी हुनेछन्।

अर्यालले परीक्षाको नतिजाबाट पार्टीका कार्यकर्ताहरूको स्तर निर्धारण हुने र त्यसैअनुसार पार्टीभित्र जिम्मेवारी दिइने नीति बनाइएको जानकारी गराइन्।

‘परीक्षाले कसलाई कुन लेभलको जिम्मेवारी दिने भन्ने जानकारी हुनेछ,लुम्बिनी प्रदेशबाट एउटा नौलो अभ्यास गर्दैछौं’ उनले भनिन् ।

उनले पार्टीलाई सांगठिनकरूपमा बलियो बनाउनका लागि बेलाबेला सदस्यहरूको परीक्षा लिने कामले हरेक पक्षमा सुधार हुने र परीक्षामा कमजोर हुने पार्टी सदस्यहरूलाई स्कुल विभागको माध्यमबाट प्रशिक्षणको व्यवस्था मिलाउने जानकारी दिइन् ।

जिल्ला कमिटीको संयोजनमा लुम्बिनी प्रदेश कमिटीले सञ्चालन गर्ने उक्त परीक्षाको केन्द्र वडा कमिटीका कार्यालयहरूलाई तोकिएको छ।

प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सबै वडा तहमा यसको तयारी भएको र त्यसले पार्टीलाई नै ऊर्जा थप्ने विश्वास लिएको बताए ।

प्रचार विभाग प्रमुख डिआर घिमिरेका अनुसार अहिले १२ मध्ये १ जिल्लामा मात्रै अधिवेशन सकिएको र वडागत परीक्षा सकिएपछि सबै जिल्लामा अधिवेशनको तयारी हुने जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर