राजस्वले धान्न थाल्यो चालू खर्च, पुरिएन अझै आम्दानी-खर्चको खाडल – Nepal Press

राजस्वले धान्न थाल्यो चालू खर्च, पुरिएन अझै आम्दानी-खर्चको खाडल

सरकारको आम्दानी र खर्चमा कहाँ मिलेन तालमेल ?

काठमाडौ । आर्थिक वर्षको ८ महिना सकिएको छ । २०८०/८१ को फागुनसम्मको तथ्यांकअनुसार राजस्वले बल्ल चालू खर्च धान्न सकेको देखिन्छ । यद्यपि सम्पूर्ण आम्दानी (कर, गैरकर, अनुदान तथा अन्य प्राप्ति) भन्दा खर्च (चालू, पुँजीगत, वित्त) ) अझै पनि १ खर्ब ३७ अर्ब रूपैयाँले बढी छ । अघिल्लो वर्ष राजस्वले चालू खर्च धान्न सकेको थिएन । यस पटक गत वर्षको तुलनामा राजस्वमा बढोत्तरी देखिन्छ ।

हालसम्म ६ खर्ब ३९ अर्ब ४ करोड ६१ लाख रूपैयाँ राजस्व संकलन भएको छ भने चालू खर्च ५ खर्ब ८२ अर्ब १० करोड रूपैयाँ भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू खर्चभन्दा यसपटक राजस्व १० प्रतिशतले बढी देखिन्छ । गत वर्ष यसै अवधिमा ५ खर्ब ८२ अर्ब ७७ करोड १५ लाख रूपैयाँ राजस्व संकलन हुँदा चालू खर्च भने ६ खर्ब ८ अर्ब ८४ करोड रूपैयाँ भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । त्यतिबेला कर, गैरकर, अनुदान र अन्य प्राप्ति गरेर ६ खर्ब २२ अर्ब ७८ करोड रुपैयाँ संकलन भएको थियो । खर्च भने ७ खर्ब ७९ अर्ब २३ करोड रुपैयाँ भएको थियो ।

कोरोना महामारीका कारण अर्थतन्त्रमा संकुचन आउँदा सरकारको आम्दानीको हिसाबकिताब गढबढी देखिएको थियो । अघिल्लो वर्ष राजस्व संकलनमा ५५ वर्षयताकै कमजोर भएको भन्दै अर्थमन्त्रालयका अधिकारीहरुले भन्दै हिडेका थिए । अत्यधिक आयातले विदेशी मुद्रा सञ्चितीमा परेको चाप कम गर्न केही वस्तु आयातमा प्रतिवन्ध लगाइएको थियो । जसको असर गत वर्ष देखियो । राजस्व संकलन अझैपनि सन्तोषजनक नहुनुमा देशको अर्थतन्त्र अझै पनि चलायमान नभएको संकेत गरेको छ । अर्को तर्फ भन्सार महसुल महंगो भएका वस्तुबाट पनि राजस्व चुहावट भएको आंकलन छ ।

आठ महिनासम्म भन्सार महसुलबाट ५ खर्ब ४९ अर्ब र आन्तरिक राजस्व ३ खर्ब ६१ अर्ब उठ्ने लक्ष्य सरकारले राखेको अर्थमन्त्रालयले बताएको छ । तर, उक्त लक्ष्य भेट्न सकेको छैन जसका कारण सरकारको आम्दानी र खर्चको हिसाब किताब अझै मिल्न सकेको छैन ।

अझै पनि पुँजीगत खर्च पनि सन्तोषजनक छैन । यसपटक पनि पुँजीगत खर्चको प्रभावकारिताले निरन्तरता पाएन । हालसम्म ८१ अर्ब २१ करोड रूपैयाँ पुँजीगत खर्च भएको महालेखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर