पुनः मतगणना माग गर्दै दायर मुद्दा अदालतबाट खारेज – Nepal Press

पुनः मतगणना माग गर्दै दायर मुद्दा अदालतबाट खारेज

सिन्धुपाल्चोक । स्थानीय तह निर्वाचन २०७९ मा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका- ७ मा धाँधली भएको भन्दै पुनः मतगणना गर्न पाउनुपर्ने माग गर्दै दायर भएको मुद्दा दाबी नपुगेको भन्दै उच्च अदालत पाटनले खारेज गरेको छ ।

निर्वाचनमा नेकपा एमालेका उम्मेदवार तेजबहादुर पराजुली ५८८ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चित्रबहादुर तामाङले ५८७ मत ल्याएका थिए । निर्वाचनमा एक मतले एमाले उम्मेदवार पराजुली निर्वाचित भएपछि निर्वाचन आयोगले विजयको प्रमाणपत्र प्रदान गरेको थियो ।

पराजुलीका निकटतम प्रतिद्वन्द्वी तामाङले पुनः मतगणना गर्न माग गर्दै निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका थिए । लामो समय पेशीमा चढ्दै स्थगित हुँदै आएको उक्त मुद्दाको बुधबार उच्च अदालत पाटनका न्यायाधीश टीकाराम आचार्य र राज्यलक्ष्मी आचार्यको सयुक्त इजलासमा सुनुवाइ गर्दै पुनः मतगणना गर्न नपर्ने र यसअघि निर्वाचन आयोगले गरेको निर्णय नै अन्तिम हुने फैसला भएको छ ।

उच्चको फैसलापछि सत्यको जीत भएको र आफूलाई दुःख दिने नियतले दायर गरिएको मुद्दा खारेज भएको वडा अध्यक्ष पराजुलीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *