हर्क साम्पाङको आग्रह- नेपाली फिल्म मोबाइलमा होइन, हलमा गएर हेरौँ – Nepal Press

हर्क साम्पाङको आग्रह- नेपाली फिल्म मोबाइलमा होइन, हलमा गएर हेरौँ

काठमाडौं । धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाली फिल्मलाई माया गर्न दर्शकलाई अपिल गरेका छन् । आफ्नो नगरपालिकाले आगामी बजेटमा फिल्म क्षेत्रलाई पनि समेट्ने उनले बताए ।

धरानमा गरिएको ‘महाजात्रासँग स्थानीय सरकार : सिनेमा संवाद’ कार्यक्रममा बोल्दै मेयर साम्पाङले नेपाली फिल्मसँगै कला, संस्कृतिसँग आफू नजिक रहेको उल्लेख गरे ।

‘नेपाली फिल्मलाई सम्बोधन गर्ने गरी म बजेटमा समेट्छु, धरानले फिल्मलाई हेर्‍यो र सोच्यो भन्ने आभास पक्कै हुनेछ,’ उनले भने ।

साम्पाङले फिल्म, कला र साहित्यसँग जोडिएको र आफू यसबारे गम्भीर रूपमा सोच्ने व्यक्ति भएको बताए । धरानमा फिल्म छायाङ्कनका लागि सहज हुने गरी चाँडै नै सुटिङका स्थलहरू समावेश गरेर सानो डायरी निकाल्ने उनले जानकारी दिए ।

अभिनेता हरिवंश आचार्यलाई हाँस्न र बाच्न सिकाउने कलाकारका रूपमा बुझेको साम्पाङले सुनाए ।

‘कलाकारलाई माया मोबाइलमा गरेर हुँदैन, यसका लागि हलसम्म पुग्नु पर्छ । त्यसैले नेपाली फिल्म हलमै हेर्ने गरौँ,’ उनले भने, ‘यो महाजात्रा पक्कै राम्रो बनेको छ । किनकि हरिवंश जस्तो कलाकार यत्तिकै फिल्ममा अभिनय गर्नु हुँदैन भन्नेमा विश्वस्त छु’, उनले भने ।

संवाद कार्यक्रममा अभिनेता हरिवंश आचार्यले धरानमा फिल्म ‘बलिदान’को छायाङ्कन गरेको स्मरण गर्दै छायांकनको गन्तव्यका रूपमा व्याख्या गरेका थिए ।

‘यो फिल्मको लागि राम्रो स्थान हो । मेयर साबले भन्नुभए झैँ फिल्मकर्मी यहाँ गतिविधि बढाउने छन् । हामीलाई नयाँ गन्तव्य र दर्शक चाहिएको छ’, उनले भने ।

कार्यक्रममा महाजात्राका कार्यकारी निर्माता रवीन्द्र सिंह बानिया तथा कथाकारहरू विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा लगायतले बोलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर