एमाले सिन्धुलीको आठौं अधिवेशन र आगामी बाटो – Nepal Press
ब्लग

एमाले सिन्धुलीको आठौं अधिवेशन र आगामी बाटो

नेकपा एमाले सिन्धुलीको आठौं अधिवेशन आउँदो चैत २८ र २९ गते सिन्धुलीमाढीमा हुँदैछ । सो अधिवेशनबाट चुनिएर आएको नेतृत्वले सिन्धुली एमालेको नवीन कार्यभार उचाल्छ कि उचाल्दैन, नयाँ नेतृत्व कस्तो आउने र त्यसले समग्र सिन्धुलीको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक नेतृत्व बहन गर्न सक्छ कि सक्दैन भन्नेमा आमकार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरुले चासोको रुपमा हेरेका छन् ।

अब आउने एमाले नेतृत्वले नेता कार्यकर्तामा मात्र हैन, जनमानसमा आशा सञ्चार गर्छ कि गर्दैन ? पुरानो होइन, नयाँ एमाले बनाउने अध्यक्ष केपी शर्मा ओलीको योजना, विचार, सङ्गठन र नेतृत्वको प्रश्न निरुपण गर्नु नै अधिवेशनको प्रमुख जिम्मेवारी हुनेछ । एमालेका कार्यकर्ताहरुले नयाँ जोश, जाँगर र संकल्पसहित नयाँ नेतृत्व चयन गर्नुपर्नेछ । विगतको अनुभवबाट सिकेका पाठलाई आधार बनाएर पार्टीलाई कसरी सवल, सुदृढ, एकताबद्धमात्रै होइन, सबै कम्युनिष्टको अकर्षणको केन्द्र बनाउने विश्वासिलो योजना बनाउन जरुरी छ ।

एमाले सिन्धुलीको अधिवेशनबाट पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रिका बनाउन तल्लीन हुनुपर्ने नेताहरु एकापसमा सिगौंरी खेल्दा कार्यकर्ताहरुमा भने निराशा पैदा गराइरहेको छ । मिसन ग्रासरुट र मध्यपहाडी अभियान सञ्चालन गरेको सिन्धुली एमाले आज कहाँ छ ? अबको दिनमा पार्टी र संगठन कस्तो बनाउने, अन्तरपार्टीबाट आएकाहरुलाई कसरी व्यवस्थापन गर्ने र पार्टी र संगठनलाई कहाँसम्म लैजाने भन्नेतर्फ नेताहरुको ध्यान पुग्नुपर्नेमा नेतृत्व कसरी हत्याउने र आफू अनुकूल बनाउने भन्ने ध्याउन्नमा छन् ।

सदस्य संख्या र मतदाताको हिसाब गर्दा समग्रमा आज पनि एमाले सिन्धुली जिल्लाकै सबैभन्दा ठूलो दल हो । गत स्थानीय तह र संसदीय निर्वाचनमा बलियो विपक्षी गठबन्धन (कांग्रेस र माओवादी)सँग एक्लै भिडेको एमालेले आफ्नो मतलाई जोगाएको थियो । एमालेभित्रको आन्तरिक समस्या समयमै समाधान हुन नसक्दा केही स्थानमा पराजित हुन पुगेको तीतो यथार्थ छ ।

एमाले सिन्धुलीको अबको नेतृत्वले गुटबन्दीलाई संस्थागत गर्न होइन, सदाका लागि रोक्ने सार्वजनिक प्रतिज्ञा गर्नुपर्नेछ । नेताहरुले बाटो बिराउँदा कार्यकर्ताले सास्ती भोग्ने अवस्थाको अन्त्य हुनुपर्छ । नेताहरुको अभिव्यक्ति, हाउभाउ, चालचलन अनुशासित, मर्यादित र शालीन हुनुपर्छ । आम कार्यकर्ताको अपेक्षा यही नै हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिका र फिक्कल गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै पद, तीनपाटन गाउँपालिकामा उपाध्यक्ष जितेको एमाले २०७९ मा आइपुग्दा फिक्कल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, गोलञ्जोर गाउँपालिकामा अध्यक्ष र कमलामाई नगरपालिकामा उपप्रमुखमात्रै जित्न सफल भयो । यसैगरी अघिल्लो संसदीय निर्वाचनमा जिल्लाको १ संघीय निर्वाचन क्षेत्र र दुई प्रदेशसभामा एमालेका उम्मेदवार विजयी भएकोमा यस पटक प्रत्यक्षतर्फ जिल्ला नै शून्य हुन पुग्यो ।

नेता कार्यकर्तामा हिजोको आदर्श र बलिदानी भावनामा स्खलन आएको छ । नेताहरुमा आएको आर्थिक अपारदर्शिता, कार्यकर्तामा बढेको स्वार्थ र ‘एसम्यान’हरु जम्मा गर्ने होडबाजी बढेको छ । पार्टीभित्र अवसरवाद, कृपावाद र अराजकता जस्ता विकृति मौलाएका छन् । हो, यही धरातलीय यथार्थमा उभिएर पार्टीभित्रको समस्या समाधान गर्न, पार्टीमा हराउँदै गएको आलोचना र आत्मालोचना एवं दण्ड र पुरस्कारको विधिलाई पुनर्जीवित गर्दै अबको एमाले कस्तो बनाउने भन्ने प्रश्नको उत्तर खोज्ने जिम्मेवारी जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको हुनेछ ।

स्थायी गुटहरुको विघटन

विशेषगरी एमाले सिन्धुलीमा आफूलाई संस्थापन समूह भएको दाबी गर्ने, एकता प्रक्रियामार्फत आएको माओवादी र पार्टी विभाजनका क्रममा फरक कार्यदिशामा केही समय (माधव नेपाल)को पक्षमा उभिएको समूहसहित तीन गुट देखापरेका छन् । एमाले सिन्धुलीको अबको नेतृत्वले गुटबन्दीलाई संस्थागत गर्न होइन, सदाका लागि रोक्ने सार्वजनिक प्रतिज्ञा गर्नुपर्नेछ । नेताहरुले बाटो बिराउँदा कार्यकर्ताले सास्ती भोग्ने अवस्थाको अन्त्य हुनुपर्छ । नेताहरुको अभिव्यक्ति, हाउभाउ, चालचलन अनुशासित, मर्यादित र शालीन हुनुपर्छ । आम कार्यकर्ताको अपेक्षा यही नै हो । कुनै पनि नेतामा अतिवाद र दम्भपूर्ण प्रस्तुति देखिनु राम्रो संकेत होइन । एमाले सिन्धुलीको अबको नेतृत्वले पार्टीभित्र सबैलाई समेट्ने, फराकिलो हृदय देखाउने हिम्मत जुटाउनुपर्छ । गुटबन्दी र आन्तरिक कलहले पार्टी सही गतिमा अघि बढ्न सक्दैन भन्ने तथ्यलाई नेतृत्वले बेलैमा बुझ्नु जरुरी छ ।

एमालेमा सच्चिनुपर्नेमा नेताहरुमात्रै होइनन्, कार्यकर्ता पनि छन् । गुटको पछि लागेर एउटा नेतालाई देवत्वकरण गर्ने र अर्कालाई राक्षस र पत्रु सावित गराउँदै चिया चौतारोमा मानमर्दन गर्ने काम कार्यकर्ताले पनि छाड्नुपर्छ । सीमित व्यक्तिमा रमाउँदा सिंगो पार्टी सकिनसक्छ भन्ने कुराको हेक्का अबको नेतृत्वले राख्नुपर्छ । यथार्थमा कुनै पनि पार्टीको लागि प्राणघातक रोग भनेको गुटबन्दी र स्वार्थ समूह नै हो । यसले गर्दा नेता कार्यकर्ता दुई पक्षमा विभाजितमात्रै भएका छैनन्, उनीहरुका मन पनि फाटेका छन् । एमालेले जिल्ला अधिवेशनबाट कार्यकर्ताको मन धुजाधुजा बनाउने होइन, मिलाउन पर्नेछ । धाँजा फाटेको सम्याउनुपर्नेमा झन गहिरो खाडल खन्ने काम शुरु हुन थालेको देखिँदैछ । अध्यक्ष ओलीले भने जस्तै एमालेलाई पुरानो होइन, नयाँ, जुझारु, बलियो र एकताबद्ध बनाउन सिन्धुलीका नेताहरुले व्यक्तिगत इबी त्यागेर फराकिलो छाती बनाउन जरुरी छ । अबको नेतृत्वका लागि यो निकै ठूलो चुनौती बन्नेछ ।

एमालेमा सच्चिनुपर्नेमा नेताहरुमात्रै होइनन्, कार्यकर्ता पनि छन् । गुटको पछि लागेर एउटा नेतालाई देवत्वकरण गर्ने र अर्कालाई राक्षस र पत्रु सावित गराउँदै चिया चौतारोमा मानमर्दन गर्ने काम कार्यकर्ताले पनि छाड्नुपर्छ । सीमित व्यक्तिमा रमाउँदा सिंगो पार्टी सकिनसक्छ भन्ने कुराको हेक्का अबको नेतृत्वले राख्नुपर्छ ।

युवा पुस्तामा नेतृत्व हस्तान्तरण

ल्याटिन अमेरिकी देश चिलीका ३५ वर्षे ठिटो गाब्रियल बोरिक राष्ट्रपति बनेकोमा हामी गौरवबोध गर्छाैं । तर, विडम्बना हिजो हजुरबुवाहरुले पनि यिनै नेतृत्वलाई नेता मानेर भोट हाल्नुभएको थियो र आज नातिहरुले पनि त्यही नेतृत्वलाई आफ्नो नेता मानिरहेका छन् । पिण्ड नखाउञ्जेल राजनीतिको नेतृत्वमै रहिरहने संस्कार परिवर्तन गरी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न ढिला भइसकेको छ ।

समाजमा छातीको टाँक खोल्ने, पाखुरा सुर्कनेहरु र आफ्नो कुरा वा विचारमा सहमत नहुनेप्रति जाइलाग्नेहरुको मनोबल र हिम्मत कसले भरिदिएको हो ? समाजमा यस किसिमको प्रवृत्ति हावी हुनु र उनीहरुको आत्मविश्वास उकास्ने काम आजको नेतृत्वले गर्दैछ । उल्लेखित प्रवृत्ति इतरका कार्यकर्तालाई सीमान्ततिर धकेल्न र उनीहरुलाई निराश बनाइ समाजलाई अराजकतातिर धकेल्न जुन प्रयास भइरहेका छन्, यसको लागि समेत राजनीतिक दलका नेतृत्व जिम्मेवार हुनुपर्छ । यस किसिमका प्रवृत्तिले युवा पुस्ताप्रति आमनेपालीको विश्वास पनि गुम्ने खतरा छ । तसर्थ राजनीतिक नेतृत्वले यस किसिमका क्रियाकलापबाट तत्काल सजग र सचेत भई युवा पुस्तालाई विचार, सिद्धान्तबाट लेस गराउँदै नैतिकवान र जिम्मेवारीसहित नेतृत्व हस्तान्तरणका लागि आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।

नेपालको अबको पुस्ता भनेको विश्वविद्यालय वा कलेजबाट उच्च शिक्षा हासिल गरेको जमात हो । तसर्थ, नेपालको राजनीति अब हिजोको जस्तो हुनुहुँदैन र यदि भयो भने पनि त्यो नेपाली समाजले स्वीकार्दैन । नेतृत्व लिन युवा पुस्ताले पनि आफूलाई सुधार गर्दे लैजानुपर्छ । युवा पुस्तामा अहिले जुन अहम्, असहिष्णु देखिन्छ, त्यस्तो सोच र शैलीले पार्टीमा युवाको प्रवेश बन्द गराउनेछ ।

करिब १२ हजार पार्टी कार्यकर्ताको मर्म र भावनालाई प्रतिविम्बित गर्दै एक तिहाइ महिलाको उपस्थिति सुनिश्चित गर्दै, दलित, मधेशी, मुस्लिम, आदिवासी जनजातिहरुको उपस्थिति कमिटीमा गराउँदै करिब १८ प्रतिशत युवा(४० वर्षमुनि)को प्रतिनिधित्वसमेत सुनिश्चित गरी समावेशी र युवा मैत्री पार्टी निर्माण भएको सन्देश प्रवाह गरेको छ । अनुभवी र सक्षम नेतृत्व तथा सुदृढ संगठन, नेतृत्व तह योग्य, सक्षम, अनुभवी र निर्भिक हुँदा मात्र पार्टी आफ्नो उद्देश्य प्राप्तिमा धेरै हदसम्म सफल हुनसक्छ ।

एमाले सिन्धुलीमा प्रवेश गर्नेहरु निर्धक्कसँग आउन सकिरहेका छैनन् । किनकि पार्टीको एउटा तप्का अहिले भएकै नेता कार्यकर्ता वा समर्थक भए पुग्छ र मेरो राज चलिरहन्छ भन्ने मानसिकता बोकेर बसिरहेको छ । अनि पार्टी प्रवेश गर्न चाहनेहरुलाई भड्काइरहेका छन् ।

फरक मतको सम्मान र नेकपाको निरन्तरता

कुनै पनि चुनावमा विजय हुने पक्षको भन्दा पराजित हुने पक्षसँग बढी जनमत रहेको हुन्छ । तसर्थ, फरक विचार राख्ने पक्षहरुसँग सकारात्मक सहयोग र सल्लाह लिने र उक्त सल्लाह स्वीकार गरी सबैको साथ र समर्थनमा अघि बढ्नु नै आजको आवश्यकता हो भन्ने तथ्य जरुरी छ । एमाले नेपाली कम्युनिष्टको केन्द्र हो भन्ने कुरा प्रस्ट छ । एमालेमा अहिले पनि विभिन्न कम्युनिष्ट घटकबाट समाहित हुने वा प्रवेश गर्न चाहनेहरुको ठूलो हिस्सा सिन्धुलीमा छ ।

तर, एमालेमा एउटा यस्तो हिस्सा छ, जसलाई पार्टी ठूलो बनाउन होइन, अर्को व्यक्ति आयो भने आफ्नो पद नै खोसिन्छ भन्ने मनोविज्ञानले उनीहरुलाई सधैं त्रसित बनाइरहेको छ । त्यही कारणले पनि एमाले सिन्धुलीमा प्रवेश गर्नेहरु निर्धक्कसँग आउन सकिरहेका छैनन् । किनकि पार्टीको एउटा तप्का अहिले भएकै नेता कार्यकर्ता वा समर्थक भए पुग्छ र मेरो राज चलिरहन्छ भन्ने मानसिकता बोकेर बसिरहेको छ । अनि पार्टी प्रवेश गर्न चाहनेहरुलाई भड्काइरहेका छन् । यस्तो अवस्थाबाट गुज्रिएको सिन्धुलीको एमाले नेतृत्वले एकमना एकतासहितको नेकपाको निरन्तरताको रुपमा आएको नयाँ एमालेको भावलाई समातेर अगाडि बढ्न जरुरी छ ।

पार्टीमा जिम्मेवारी दिँदा हाम्रा मान्छे होइन, राम्रा मान्छे छानिनुपर्छ । कामकाजी, सक्षम, सक्रिय व्यक्तिलाई कार्यविभाजन दिएर सबैको भावना समेट्दै एकता, हार्दिकता र सहकार्यका साथ अघि बढ्नुपर्छ । यसैमा एमालेको शक्ति, ऊर्जा र प्रेरणा हुनेछ ।

सिन्धुली एमालेको चुनौती

हरेक अधिवेशनको एउटा मुख्य मुद्दा भनेको नेतृत्व हस्तान्तरण हुन्छ । आमरूपमा अधिवेशनले नयाँ व्यक्तिलाई नेतृत्वमा पुग्न मद्दत गर्नुपर्छ । अधिवेशनले पार्टीको प्रमुख नेतृत्वमा समेत कसलाई पुर्‍याउँछ, सबैको चासोको विषय बन्छ । नेताहरुले कुनै दम्भ नदेखाएर सबैलाई सम्मान एवं सहयोग गर्ने वातावरण बनाइ कसैलाई हीनताबोध नहुने गरी एकताबद्ध रूपमा अघि बढ्न सकेमा मात्रै एमालेलाई भोलि जिल्लाको पहिलो शक्ति बनाउन सम्भव छ । रुपान्तरणसहित दण्ड र पुरस्कारको संस्कार, आलोचना र आत्मालोचनासहित सुदृढ नेतृत्व आवश्यक छ, जसले नेपाली कम्युनिष्ट आन्दोलनको केन्द्रका रुपमा एमालेलाई अगाडि बढाउन सकोस् ।

(भुजेल प्रेस चौतारी नेपाल सिन्धुलीका कोषाध्यक्ष हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *