नाउपामा श्रीमान-श्रीमतीकाे ‘टसल’ : सरकारलाई विश्वासकाे मत दिन र नदिन दुईथरि ह्वीप – Nepal Press

नाउपामा श्रीमान-श्रीमतीकाे ‘टसल’ : सरकारलाई विश्वासकाे मत दिन र नदिन दुईथरि ह्वीप

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिने तयारी गरेका छन् । अहिले सम्म माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत लिने निर्णय गरेका छन् ।

कांग्रेस, जनमत लगायतले भने विश्वासको मत नदिने निर्णय गरेका छन् । नागरिक उन्मुक्ति पार्टीमा भने अहिलेसम्म पनि विश्वासको मत दिने र नदिने भन्ने विषयमा मत बाझिएको देखिन्छ ।

सोमबार कैलालीको टिकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरूको दुई तिहाइ बहुमतले नयाँ गठबन्धनको सरकारमा सहभागी नहुने, प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो ।

आज ज्येष्ठ संस्थापक केन्द्रीय सदस्य तथा वार्ता समिति संयोजक दामोदर पण्डितले एक विज्ञप्ति जारी गर्दै सरकारलाई समर्थन नदिने प्रष्ट पारेका हुन् ।

तर, यता संसदीय दलले भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्वीपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्वीप जारी गरिएको व्यहोरा अनुरोध छ ।’

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र अध्यक्ष रन्जिता चौधरीबीच असमझदारी बढ्दै जाँदा त्यसको प्रभाव प्रदेश सरकार देखी प्रधानमन्त्रीको विश्वासको मत सम्म परेको छ ।

रेशम चौधरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा छैनन् । उनी पुरानै गठबन्धनको पक्षमा छन् । यता रन्जिता चौधरी भने नयाँ गठबन्धनलाई विश्वासको मत दिने निर्णय गरिसकेको बताउँछिन् ।

प्रदेशमा पनि रेशम-रञ्जिताको असमझदारीले सरकार जोगिने कि नजोगिने अन्योलमा परेको छ ।

सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी नहुने अध्यक्ष रञ्जिताको निर्देशन थियो । तर, संरक्षक रेशमले भने धनगढीमै बसेर सरकार विस्तारको गृहकार्य गरे ।

मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वका सरकारमा सहभागी भएका मन्त्रीहरूले पार्टीसँग कुनै सल्लाह नगरेको र पार्टीको नीति विपरीत सरकारमा सहभागी भएको भन्दै रञ्जिताले तत्काल मन्त्रीबाट फिर्ता हुन र सरकारलाई दिएको समर्थन फिर्ता दिन निर्देशन दिइन् ।

तर, रेशमले आफ्नो निवास बर्दियामा ४ मन्त्रीलाई बोलाउँदै तत्काल सरकारको समर्थन फिर्ता नहुने र मन्त्रीबाट पनि हट्न नहुने भन्दै राम्रो काम गर्न निर्देशन दिए ।

काठमाडौँमा संस्थापक केन्द्रीय सदस्यहरूको बैठक आह्वान पछि उनीहरूबीच थप असमझदारी बढेको देखियो । अध्यक्ष रञ्जिताले सोमबार काठमाडौँमा संस्थापक केन्द्रीय सदस्यहरूको बैठक आह्वान गरिन् ।

स्वास्थ्यमा समस्या आएपछि त्यो बैठक बस्न सकेन । यता टिकापुरमा ज्येष्ठ सदस्य पण्डितको उपस्थितिमा बैठक बस्यो त्यो बैठकमा अध्यक्ष रन्जिता उपस्थित भइनन् । तर, २१ मध्ये १६ सदस्य बैठकमा उपस्थित भएको दाबी गरिएको छ ।

उक्त बैठकले नयाँ गठबन्धनको सरकारमा सहभागी नहुने प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन नगर्ने निर्णय गर्दा त्यसको भोली पल्टै अध्यक्ष रन्जिताले काठमाडौँमा प्रचण्ड सरकारलाई अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न (निर्देशन) ह्वीप जारी गरिन् ।

 


प्रतिक्रिया

One thought on “नाउपामा श्रीमान-श्रीमतीकाे ‘टसल’ : सरकारलाई विश्वासकाे मत दिन र नदिन दुईथरि ह्वीप

  1. विना हैसियतका, थारू समुदायलाई झुक्काएर , विदेशीको निर्देशनमा काम गर्नेहरूको हालत यस्तै हुन्छ । बरू श्रीतीको विचार ठिक छ । बूढो त पूरै दक्षिणको इशारावादी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर