०२७ सालदेखि राजनीति गरेका नारायण दाहालः दाइ प्रचण्डसँगै संवैधानिक पदमा बहाल – Nepal Press

०२७ सालदेखि राजनीति गरेका नारायण दाहालः दाइ प्रचण्डसँगै संवैधानिक पदमा बहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा माओवादीका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहालले बाजी मारे । उनलाई एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन थियो । गठबन्धनका दाहालले ३९ मत पाउँदा शर्मा १७ भोटमा रोकिए ।

दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित हुँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको नाता जोडेर केही टिकाटिप्पणी पनि भए । तर, नारायण प्रचण्डको सहोदर भाइ नभएको नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ बताउँछन् ।

‘उहाँलाई राष्ट्रियसभामा पठाउने निर्णय पार्टी पदाधिकारी बैठकको सर्वसम्मत निर्णय गरेको हो । उहाँ प्रचण्डको सहोदर भाइ पनि हैन’, दीपशिखाको जिकिर छ । प्रचण्ड-नारायणका हजुरबुबा सहोदर दाजुभाइ रहेको पारिवारिक स्रोतले बताएको छ ।

२०७८ चैत २५ गते राष्ट्रियसभा सदस्यमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुँदा पनि प्रचण्डकै भाइ भएको कारणले अवसर पाएको आरोप लागेको थियो । दाहाल मनोनीत हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि चर्कोरूपमा प्रचण्डको आलोचना गरेका थिए ।

अहिले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर नयाँ सहमति बनेपछि ओली आफैं उनै दाहाललाई जिताउन पार्टीपंक्तिमा ह्वीप जारी गर्ने अवस्थामा आइपुगे ।

दाहालले पनि आफू प्रचण्डको भाइ भएकै कारण जिम्मेवारी नपाएको भन्दै पार्टीमा गरेको योगदान अवमूल्यन नगर्ने आग्रह गरेका छन् ।

सोमबार उम्मेदवारी दर्तापछि भनेका थिए, परिवारवादको कुराले सुन्दा मेरो कान पाकिसके । मुख थाकिसके । म ०६३ सालमा अन्तरिम व्यवस्थापिकामा प्रवेश गरेँ । त्यो बेलादेखि नै मैले कुनै जिम्मा लिन पर्दाखेरि जुन ढंगले यो पार्टीमा योगदान दिएँ ।

उनले पार्टीमा ०३६ सालदेखि पूर्णकालीन सदस्यता लिएर काम गरेका थिए । अहिले प्रचण्डकै भाइ भएको कारणले बागमती प्रदेशको इन्चार्ज हुनबाट रोकेकोप्रति पनि गुनासो गरे ।

उनले थपे, ‘अहिले दाजुभाइको नाता पर्ने हिसाबकिताबले हुन्न भन्यो भने म युद्धमा हिँड्दाखेरि दाइ हिँडेको छ, तँ हिड्नु हुन्न भन्न किन आएनन् ? अहिले पाउँदैन जिम्मेवारी भन्नेले दाइ युद्धमा हिँडेको छ, तँ किन हिँडेको, मिल्दैन भनेर कसैले भनेन। त्यो बेला एक दिन ढिला भयो भने आफ्नालाई बचाउन भन्ने कुरा आउँथ्यो । यसमा मेरो धेरै भन्नु छैन ।’

नारायणमात्र नभइ परिवारका सबैजना पार्टीमा पूर्णकालीन सदस्य छन् । उनका परिवार नै जनयुद्धमा हिँडेका थिए ।

को हुन् दाहाल ?

दाहालको जन्म २०१२ फागुन १२ गते कास्कीको ढिकुरपोखरी लेवाडेमा भएको हो । २०१९ सालमा कास्कीबाट बसाइ सरेपछि भरतपुर महानगरपालिका-१४, चितवनको स्थायीवासी हुन् ।
उनका माता देउरुपा हुन् भने पिता कुलप्रसाद दाहाल । पत्नी दुर्गादेवी हुन् । उनका १ छोरी, २ छोरा र ६ नातिनातिनी रहेका छन् ।

२०३० सालमा नारायणी विद्यामन्दिर चितवनबाट एसएलसी पास गरेका दाहालले २०३३ सालमा प्रमाणपत्र तह र २०३६ सालमा स्नातक सानोठिमी क्याम्पसबाट गरेका हुन् ।

वि.सं. २०२७ सालमा विद्यार्थी राजनीति थालेका दाहाल ३६ सालदेखि पूर्णकालीन भए । उनको संसदीय यात्रा ०६३ अन्तरिम व्यवस्थापिका संसद सदस्य, २०६४/२०६९ संविधानसभा सदस्य (चितवन क्षेत्र नं. ३ बाट निर्वाचित), ०७८ चैत राष्ट्रियसभा सदस्य हुँदै आज अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा दाहालले प्रधानमन्त्री कार्यालयमा प्रमुख प्रशासनिक सल्लाहकारको जिम्मेवारी निभाएका थिए ।

कहिले कुन जिम्मेवारीमा रहे ?

• वि.सं. २०२७ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश ।

• वि.सं. २०३१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त (पुष्पलाल समूह) । वीरेन्द्र क्याम्पस, चितवनमा पार्टी कमिटीमा आबद्ध ।

• २०३६ सालदेखि पूर्णकालीन (तत्कालीन चौथो महाधिवेशन)

• २०३७ सालदेखि पार्टीको जिम्मेवारी लिएर प्रवासमा । अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्य, सहसचिव हुँदै कोषाध्यक्ष । पार्टीको गोरखपुर जिल्ला कमिटी सेक्रेटरी ।

• २०४२ सालमा अखिल भारत नेपाली एकता समाजको महासचिव ।

• २०४५ सालमा अखिल भारत नेपाली एकता समाजको अध्यक्ष ।

• २०५१ सालमा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) को नेपालको तर्फबाट दक्षिण एसिया सदस्य ।

• २०५३ सालमा अखिल भारत नेपाली एकता समाजको पुनः केन्द्रीय अध्यक्ष ।

• २०५७ सालमा नेकपा (माओवादी) को केन्द्रीय सदस्य ।

• २०६० सालमा नेकपा (माओवादी) भेरी कर्णाली व्यूरोअन्तर्गत जाजरकोट, सुर्खेत र डोल्पा इन्चार्ज ।

• २०६३ असारमा नेकपा (माओवादी) कास्की जिल्ला इन्चार्ज ।

• २०६४ पछि विभिन्न समयमा पार्टीका तत्कालीन नेवा तथा ताम्सालिङ राज्य समितिको सचिव र सह-इन्चार्ज ।

• २०७४ असारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य तथा बागमती प्रदेशको अध्यक्ष ।

• २०७७ सालमा नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश अध्यक्ष ।

• २०७८ मंसिरमा सम्पन्न नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनबाट स्थायी समिति सदस्य तथा बागमती प्रदेशको सह-इन्चार्ज ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर