राजनीति गरेको आरोपमा शिक्षकबाट निकालिएका भट्ट बने प्रदेश प्रमुख – Nepal Press

राजनीति गरेको आरोपमा शिक्षकबाट निकालिएका भट्ट बने प्रदेश प्रमुख

डोटी । १८ वर्षको उमेरमा शिक्षण पेशामा प्रवेश गरेका एक युवा छोटो अवधिमा पेसाबाट निष्कासन हुनु पर्‍यो । कारण थियो, राजनीति ।

तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाएको भन्दै शिक्षण पेसाबाट निष्कासनमा परेको उनै व्यक्ति आज प्रदेश प्रमुखको जिम्मेवारीमा पुगेका छन् । कुरा हो, डिल्लीराज भट्टको ।

मन्त्रीपरिषद्ले सोमवार तीन प्रदेशका प्रदेश प्रमुखहरू बर्खास्त गरी नयाँ नयाँ प्रदेश प्रमुखका लागि नाम सिफारिस गर्दा भट्ट गण्डकी प्रदेशका लागि सिफारिसमा परेका हुन् ।

कैलालीको धनगढीमा रहेको पञ्चोदय माध्यमिक विद्यालयबाट माध्यमिक तहसम्मको अध्ययन पुरा गरेका भट्टपछि सोही विद्यालयमा शिक्षक भएर काम गरेका थिए । शिक्षक हुँदा पनि तत्कालीन राज्य व्यवस्थाको विरोध गरेको भन्दै २०३० सालमा भट्टलाई विद्यालयबाट निष्कासित गरिएको थियो ।

विद्यालयबाट निष्कासित भएसँगै पूर्णकालीन राजनीतिक कार्यकर्ता भएर लागेका भट्ट कम्युनिष्ट बिचार र आफ्नो सपना जनताका बिचमा बाँड्दै डोटी र कैलालीका गाउँवस्तीहरुमा पुग्ने गरेका थिए । दुई पटक उम्मेदवार बन्ने अवसर प्राप्त गरे पनि पराजित हुन पुगेका भट्ट कुनै पनि लाभको पद प्राप्त नगरेका कम्युनिष्ट नेता हुन् ।

२००७ साल भाद्र १४ गते डोटीको जोरायल गाउँपालिका–४ (साबिक लक्ष्मीनगर गाविस) मा आमा मधु भट्ट र बुवा तिलख भट्टको सन्तानको रूपमा जन्मिएका भट्ट सुदूरपश्चिमका पुराना कम्युनिष्ट नेताको रूपमा चिनिन्छन् ।

१६ वर्षकै उमेरमा २०२१ सालमा नेपाली कांग्रेसबाट राजनीतिक यात्रा प्रवेश गरेका भट्टलाई राजनीतिक गतिविधि गरेको आरोपमा २०२६ साल माघ १६ गते शहीद दिवसको दिन पञ्चायती सरकारले गिरफ्तार यातना दिएको थियो ।

जेलबाट रिहा भए लगत्तै कम्युनिष्ट पार्टीसँग नजिक रहेका भट्ट २०२८ मा कम्युनिष्ट पार्टीमा आन्तरिक रूपमा सक्रिय भएर लागेका थिए । भट्टले २०२८ वैशाख ३ गते नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी ९मनमोहन० समूहको सदस्यता प्राप्त गरेका थिए ।

कम्युनिष्ट पार्टीको प्रारम्भिक कमिटी हुँदै कैलाली जिल्ला संयोजक बनेका भट्ट २०४७ सालमा डोटीको नेकपा एमालेको संयोजक वने । उनी २०५६ सालमा जिल्ला सचिव जिम्मेवारीमा पुगे । त्यति वेला एमालेमा सचिवीय प्रणाली थियो ।

२०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा डोटी जिल्ला निर्वाचन क्षेत्र–२ बाट प्रतिनिधि सभा सदस्यका लागि एमालेले भट्टलाई चुनावी मैदानमा उता¥यो । तर उनी त्यो लडाइँमा सफल हुन सकेनन् ।

२०७८ सालमा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि एमालेबाटै उम्मेदवार बनेका भट्टलाई फेरी पनि असफलता नै हात पर्‍यो ।

तत्कालीन सेती अञ्चल समन्वय कमिटी, प्रदेश समन्वय कमिटी हुँदै हाल एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य रहेका भट्टलाई डोटी, कैलाली लगायत सुदूरपश्चिमका धेरै कम्युनिष्ट नेताहरूले राजनीतिक गुरु मान्ने गर्छन् ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले २०७८ सालको १२ साउनमा नियुक्त भएका गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ, सोही १ भदौमा नियुक्त भएका मधेशका हरिशंकर मिश्र र २३ कात्तिकमा नियुक्त भएका सुदूरपश्चिमका देवराज जोशीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

रिक्त हुने पदहरूमा नियुक्तिको लागि मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने समेत सोमवारै मन्त्रीपरिषद्ले निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर