गृहजिल्ला पुगेका मन्त्री गिरीले भने- संविधान र संघीयता कार्यान्वयनका कानून निर्माणमा लाग्छौं – Nepal Press

गृहजिल्ला पुगेका मन्त्री गिरीले भने- संविधान र संघीयता कार्यान्वयनका कानून निर्माणमा लाग्छौं

पर्वत । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक बाँकी कानून निर्माण गरिने बताएका छन् । सोमबार पर्वत सदरमुकाम कुश्मा बजारमा व्यवसायीसँगको अन्तरक्रियामा उनले ती कानून निर्माणमा आफू सक्रियतापूर्वक लाग्ने प्रतिवद्धता जनाए ।

कतिपय कानूनमा बाहिरी हस्तक्षेप आउने गरेको व्यवसायीको गुनासोमा मन्त्री गिरीले स्वाधीन अर्थतन्त्र जगेर्ना गर्नु आजको आवश्यकता बताउँदै ‘नेपालको लागि नेपाली’ आफैँले कानून निर्माण गर्ने उल्लेख गरे । पछिल्लो समयमा देशको आर्थिक अवस्था कमजोर बन्दै गएको र युवा पलायन नरोकिएको तर्फ उनको चिन्ता थियो ।

‘संविधान कार्यान्वयन र कतिपय पुराना कानूनहरू संशोधनको महत्वपूर्ण जिम्मेवारी अझै पनि बाँकी छ । ती काम पूरा गर्नु वर्तमान सरकारको दायित्व हो ।’

मन्त्री गिरीले देशभर सहकारीमा देखियो समस्या समाधानका लागि पनि कानून संशोधनको आवश्यकता औंल्याएका छन् ।

‘बचतकर्ताले न्याय पाउने गरी कानून संशोधन गरेर सहकारीमा देखिएका समस्या समाधान गर्न हामी तयार छ’, उनले भने ।

सोमबार नै पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका गिरीले झण्झटिला कानूनी प्रावधानका कारण देशका कतिपय विकास निर्माणका कामसमेत रोकिएको भन्दै त्यस्ता कानून संशोधनको आवश्यकता रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर