पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना हो, दोषीलाई कारबाही हुनुपर्छ : अध्यक्ष लिङदेन (भिडिओ) – Nepal Press

पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना हो, दोषीलाई कारबाही हुनुपर्छ : अध्यक्ष लिङदेन (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण हुनु अपराधिक घटना भएको बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहँदा केही युवाहरुको समूहले अध्यक्ष लिङ्देनकै कार्यकक्षभित्र श्रेष्ठमाथि हातपात गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना भएको बताए । उनले पार्टीले दोषीउपर कारबाही हुनुपर्ने निर्णय गरेको पनि बताए ।

उनले पार्टीले अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय भएको बताए । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडी सारेको आन्दोलनको कार्यक्रम लगायत विभिन्न विषयहरुमा छलफल भएको बताए । त्यस्तै बैठकमा नवीन राप्रपा कार्ययोजनाको सन्दर्भमा पनि छलफलहरु भइराखेको उनले जानकारी दिए ।

शनिबारदेखि जारी राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबारपनि बस्ने उनले जानकारी दिए ।

यस्तो छ लिङदेनको भनाइः

देशको समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडि सारेको आन्दोलनको कार्यक्रम लगायत विभिन्न विषयहरुमा, नवीन राप्रपा कार्ययोजनाको सन्दर्भमा व्यापक छलफलहरु भइराखेको छ ।

अहिले पछिल्लो समयमा समसामयिक राजनीतिक परिस्थिति र आन्दोलनको बारेमा कुरा राख्ने क्रम चलिराखेको छ । भोलि अरु सबै निष्कर्षहरु आउँछन् । झडप अप्रत्याशित रुपमा भयो । किन भयो भन्ने कुराको खोजीनीति पनि भइराखेको छ ।

त्यो राजनीतिक र पदाधिकारीबीचको विवाद भन्दापनि अलग ढंगले भएको हुनाले प्रहरीलाई हामीले अनुसन्धान गर्न आग्रह गरिसकेका छौँ । र बैठकले त्यसप्रति खेद व्यक्त गरेको छ ।

पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीलाई, कार्यसम्पादन समितिको सदस्यलाई अप्रत्याशित रुपमा जुन आक्रमण भएको छ, सीसीटीभी फुटेज, अन्य सञ्चार माध्यममा आएको भिडिओ समेतलाई लिएर अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने भन्ने समेत निर्णय भइसकेको छ । त्यो नितान्त अपराधिक घटना हो । त्यसमा कारबाही हुनुपर्छ भन्ने हाम्रो निर्णय भएको छ ।

 


प्रतिक्रिया

One thought on “पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना हो, दोषीलाई कारबाही हुनुपर्छ : अध्यक्ष लिङदेन (भिडिओ)

  1. अपराधीलाई कार्वाही हुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर