राष्ट्रियसभा अध्यक्षका लागि फागुन २९ गते निर्वाचन हुने (भिडिओ) – Nepal Press

राष्ट्रियसभा अध्यक्षका लागि फागुन २९ गते निर्वाचन हुने (भिडिओ)

काठमाडौं । रिक्त रहेको राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते मङ्गलवारका लागि तोकिएको छ ।

राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभाको आइतबार बसेको बैठकको सुरुमा नै फागुन २९ गतेका लागि राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति तोकिएको जानकारी गराएकी हुन् ।

राष्ट्रिय सभा कार्य सञ्चालन नियमावली अनुसार उपाध्यक्ष अर्यालले संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेलाई राष्ट्रिय सभा अध्यक्षको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न पनि निर्देशन दिएकी छन् ।

राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेकपा (एमाले)सहितको गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पदमा उम्मेदवार दिने सहमति भइसकेको छ ।

माओवादीबाट राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याल, राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहाल र झक्कुप्रसाद सुवेदी राष्ट्रिय सभा अध्यक्ष पदका लागि आकांक्षी देखिएका छन् ।

यद्यपि भोलि बस्ने माओवादी स्थायी समिति बैठकले राष्ट्रिय सभा अध्यक्ष पदको उम्मेदवारको टुंगो लगाउने छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको तर्फबाट भने भर्खरै मात्रै राष्ट्रिय सभा सदस्य निर्वाचित भएर संसदीय दलको नेता चयन भइसकेका कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको छ ।

नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्नका लागि पहल गरिरहेको थियो । तर, आइतबार बसेको राष्ट्रिय सभा बैठकले राष्ट्रिय सभा अध्यक्षको निर्वाचन राष्ट्रिय सभाको क्यालेन्डर अनुसार नै गर्ने गरी फागुन २९ गते मङ्गलवारका लागि तोकिसकेको छ ।

क्यालेन्डर अनुसार सोमबार राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने कार्य तालिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर