शनिवार लुम्बिनीमा प्रव्रज्या गरियो (भिडिओ) – Nepal Press

शनिवार लुम्बिनीमा प्रव्रज्या गरियो (भिडिओ)

रुपन्देही । बौद्धमार्गमा हिँडने पहिलो खुट्किलोका रूपमा हेरिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि शनिवार लुम्बिनीमा प्रव्रज्या कार्यक्रम गरिएको छ ।

मायादेवी मन्दिर परिसरमा एकै दिन १२५० जना अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका विभिन्न १० वटा शीलहरू पालना गरी प्रव्रज्यामा सहभागिता जनाएका हुन ।

अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासङ्घको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाहरूको सह आयोजनामा शनिबार मायादेवी मन्दिर प्राङ्गणमा १२ सय ५० जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो ।

अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष महास्थविर धम्म शोभन र थाइलयाण्डका धम्मकाय फाउण्डेशनका उपप्रमुख फरा उपाझ्याए पभना सहित बौद्ध धर्म गुरुहरूले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका हुन ।

अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरू पालना गर्नुपर्नेछ ।

फागुन १६ गतेदेखि शुरु भएको प्रव्रज्या लुम्बिनी मै आएर १२५० जनाले केश मुन्डन गरेर चिवर प्राप्त गरेका हुन । शनिवार पहेँलो चीवर लगाउन योग्य भएका श्रामणेरहरुले आफूहरूले पहेँलो चिवरण ग्रहण गर्न पाउँदा निकै खुशी लागेको बताएका छन् ।

अखिल नेपाल भिक्षु महासंघका कार्यकारिणी सदस्य भिक्षु प्रज्ञामूर्तीले बुद्ध शिक्षाको प्रवर्द्धन र लुम्बिनीको महत्वलाई थप उजागर गर्नका लागि १२५० जनालाई श्रामणेर (अल्पकालीन भिक्षु) बनाइएको बताए । उनले चिवर प्राप्त गरेका १२५० जनालाई पञ्चशील, अष्टशील र विनयपिटकका बारेमा जानकारी दिने र दैनिक ध्यान गराउने गरिएको बताए । छोटो अवधिमा चिवर प्राप्त गरी बुद्धको शिक्षा ग्रहण गराउन आफूहरूले श्रामणेर बनाउने गरिएको उनले बताए ।

लुम्बिनीमा गरिएको अल्पकालीन भिक्षु बनाउने कार्यले बुद्धको शिक्षा र बुद्धधर्मको प्रचारमा सहयोग पुग्ने राजकीय थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोथले बताए ।

सन् २०११ मा एक हजार जना, २०१५ मा एक हजार ११२ जना, सन् २०१९ मा एक हजार ११९ जना र सन् २०२३ मा ५ सय जनालाई प्रव्रज्या गराइएको कार्यक्रम निर्देशक एवं लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश शाक्यले बताए ।

प्रव्रज्यामा देशभरबाट सहभागिता रहेको छ । प्रव्रज्या अन्तर्गत आइतबार भिक्षाटन, चैत ३ र ४ गते बृहत्तर लुम्बिनी क्षेत्रको रामग्राम र तिलौराकोटमा धर्मयात्रा र चैत ८ गते समापन कार्यक्रम हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *