सत्ताच्युत कांग्रेसमा संसदीय दलको पदाधिकारी चयनको चटारो, यी हुन् कार्यसमितिका दावेदार – Nepal Press

सत्ताच्युत कांग्रेसमा संसदीय दलको पदाधिकारी चयनको चटारो, यी हुन् कार्यसमितिका दावेदार

काठमाडौं । सत्ताबाट हठात बाहिरिएको नेपाली कांग्रेसले संसदीय दलको उपनेता तथा राष्ट्रियसभा संसदीय दलको नेता र राष्ट्रियसभाको सचेतक चयन गर्ने तयारी थालेको छ ।

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन भएको डेढ वर्षभन्दा बढी भइसकेको छ । गत वर्ष पुस ६ गते भएको कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा भएको थियो ।

संसदीय दलको निर्वाचन भएको डेढ वर्षपछि कांग्रेस सत्ताबाट विपक्षी कित्तामा पुगेको छ । कांग्रेसले संसदीय दलको कार्यसमिति, संसदीय दलको उपनेता, राष्ट्रियसभामा दलको नेता चयनको तयारी गरेको हो ।

कांग्रेसको विधानमा ३१ सदस्यीय संसदीय दलको कार्यसमितिमा संसदीय दलको नेता, उपनेता, राष्ट्रियसभामा दलको नेता, राष्ट्रियसभामा सचेतकका साथै निर्वाचित, मनोनीत र पदेन सदस्य रहने प्रावधान छ ।

कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले प्रमुख सचेतकमा रमेश लेखक र सचेतकमा सुशीला थिङलाई मनोनयन गरेका छन् । उपनेतामा उपसभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइरालामध्ये कसलाई मनोनीत गर्ने भन्नेमा देउवा अलमलमा छन् ।

त्यस्तै राष्ट्रियसभामा पनि दलको नेता रमेशजंग रायमाझी र सचेतक अनिता देवकोटाको ६ वर्षे कार्यकाल फागुन २१ बाट सकिएको छ । जसका कारण सभापति एवम् संसदीय दलको नेता देउवाले राष्ट्रियसभा दलको नेता र सचेतक चयन गर्नेछन् । रायमाझी र देवकोटासहित कांग्रेसका ६ जनाको पदावधि सकिएको हो ।

अहिले संघीय संसदको प्रतिनिधिसभामा कांग्रेसका ८८ र राष्ट्रियसभामा १६ जना सांसद छन् । प्रतिनिधिसभामा ८९ सीट जितेको कांग्रेसबाट राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएपछि रिक्त स्थानमा रास्वपाका स्वर्णिम वाग्लेले जितेपछि एक सीट घटेको थियो । मनाङका टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि निलम्बित छन् ।

राष्ट्रियसभामा अहिले निर्वाचित कांग्रेसका १० जना सांसदमध्ये कृष्ण सिटौलालाई अध्यक्ष बनाउने तयारी थियो । तर, सत्ता समीकरण एमाले र माओवादीका बीचमा बनेपछि सिटौलालाई अध्यक्ष बनाउने कांग्रेस नेताहरूको सपना तुहिएको छ । सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउने र आनन्द ढुंगानालाई राष्ट्रियसभा दलको नेता बनाउने देउवाको तयारी थियो । देउवा सचेतकको जिम्मेवारी शेखर समूह निकट कमला पन्तलाई दिने तयारीमा थिए

१४ महिना अगाडि संसदीय दल नेताको निर्वाचनका बेलामा सहमहामन्त्री भीष्म आङदम्बेको संयोजकत्वमा केन्द्रीय सदस्य पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको समिति निर्माण गरिएको थियो ।

कांग्रेस विधानमा सम्बन्धित प्रदेशका सबै प्रतिनिधिसभा सदस्यको मतदानबाट संसदीय दलको कार्यसमितिमा सात प्रदेशबाट एकएक जना निर्वाचित हुने व्यवस्था छ । यसबाहेक कम्तीमा पाँच जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था पनि छ ।

संसदीय दलका नेताले पाँच सदस्य मनोनीत गर्न पाउँछन् । प्रमुख सचेतक र सचेतक सरकारमा सामेल भएमा पार्टीको सदस्य भए संसदीय मामिला हेर्न मन्त्री र पार्टीका महामन्त्री पदेन सदस्य हुन्छन् । विधानबमोजिम पदेन सदस्य रहे पनि सांसद नहुँदा महामन्त्रीले मताधिकार राख्दैनन् ।

संसदीय दलको कार्यसमितिमा शीर्ष नेताको इच्छा

पार्टीका दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङले संसदीय दलको कार्यसमितिमा आउने चाहना राखेका छन् । त्यस्तै डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, सहमहामन्त्रीहरू किशोरसिंह राठौर, जीवन परियार र बद्री पाण्डे, एनपी साउद, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, ज्ञानेन्द्र कार्की र नारायण खड्का सबैले कार्यसमितिमा बस्ने इच्छा व्यक्त गरेका छन् । सबै शीर्ष नेता संसदीय दलको कार्यसमितिमा समेटिदा कार्यसमिति सहमतिबाट चयन हुने नेताहरूको बुझाइ छ ।

संसदीय दलको उपनेता नभएमा पूर्णबहादुर खड्का कर्णालीबाट, प्रकाशमान सिंह बागमतीबाट, शशांक कोइराला गण्डकीबाट र विमलेन्द्र निधि मधेशी कोटाबाट संसदीय दलको कार्यसमिति सदस्य बन्नेछन् ।

त्यस्तै कोशीबाट डा. शेखर कोइराला र ज्ञानेन्द्रबहादुर कार्की, मधेशबाट रमेश रिजाल र रामकृष्ण यादव, लुम्बिनीबाट चन्द्र भण्डारी र किशोरसिंह राठौर तथा सुदूरपश्चिमबाट दीलेन्द्र बडू र एनपी साउद कार्यसमिति सदस्य बन्ने बाटोमा लागेका छन् ।

सर्वसम्मत भएमा महिलामा अम्बिका बस्नेत, नागिना यादव, सरस्वती बजिमय, कल्पना चौधरी, जावेदा खातुन जागाको सम्भावना बढी रहेको देउवा निकट एक नेताले बताए । एक जना खस-आर्यमा अर्जुननरसिंह केसी, प्रकाशशरण महत, ज्ञानेन्द्र कार्की र नारायण खड्काको दाबी छ । दलिततर्फ सहमहामन्त्री जीवन परियार र पिछडिएको क्षेत्रबाट अर्का सहमहामन्त्री बद्री पाण्डेको सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर