केका लागि किन मनाउने नारी दिवस ? – Nepal Press

केका लागि किन मनाउने नारी दिवस ?

नारी यो धर्तीको अमूल्य उपहार हो, जसले धेरै परिचय गराउन सक्छे । छोरीबाट सुरु हुन्छ उसको परिचय । सधैं अरुकै निम्ति जीवन समर्पित गरेकी हुन्छे एउटि नारीले ।

सौन्दर्य शक्ति र शालीनताको अर्को रुप हो नारी । भित्र रोइरहेको मनलाई कुन्ठाभित्र लुकाएर बाहिर मुस्कुराउँदै हिँड्ने शक्तिशाली हुन् नारी । संसारको कुनै पनि उपमासँग तुलना गर्न नसकिने एक विरासतको नाम हो नारी । तर, हातमा समाजको नीति नियमको हतकडी बाँधिएको छ । यो समाज पुरुषविनाको महिलाको अस्तित्व कल्पनासम्म पनि गर्न चाहँदैन । यही समाजलाई थाहा छ, नारी जति बलियो अरु कोही छैन ।

जन्मघर छोडेर अञ्जान घरमा सहजै घुलमिल हुनसक्ने, जन्म दिने बुवाआमालाई सहजै छोडेर कर्म दिने बुवाआमालाई नै संसार ठान्ने केबल नारीमात्रै हो । यो काम पुरुषले गर्न सक्दैन । आफ्नो जन्मघरको थर परित्याग गर्नसक्ने नारी छोरीको परिचयबाट बुहारी- भाउजू अनि आमा हुँदै परिवर्तन हुन्छे । एउटी नारी आफ्नो सन्तानको लागि आकाश र धर्ती एक गर्छन् । अनि कसरी मान्नौं कि नारी कमजोर छ ! श्रीमती मरेको १३ दिन पुग्नेबितिक्कै छोराको लागि अर्को केटी खोज्न थाल्छ यो समाजले । तर, त्यही छोरो मरे विधवा भई आजीवन बस्नुपर्छ नारी भन्छ यही समाजले । सक्छौ सम्मान गर, सक्दैनौ अपमान नगर !

कुनै पनि नारी अधिकार नारामा सीमित हुनुहुँदैन । कुनै पनि नारीको भावना, श्रम, आत्मसम्मानसँग नखेलियोस् । पुरुष दिवस नभए जस्तै महिला दिवस पनि नहोस् । हरेक महिलाले विशेष र सम्मानित महसुस गर्न महिलाको नाउँमा मनाइने दिवस नै पर्खनु नपरोस् । सहानुभूति होइन समान अनुभूति गर्ने वातावरण बनोस् । अन्याय, अत्याचार सहने नारी पनि आफैंमा एक अपराधी नारी कहलिन्छे । त्यसैले परिस्थितिअनुसार नारीमा कहिले मा दुर्गा, कहिले चण्डी, कहिले सरस्वतीको रुप लिएर यो प्रकृतिसँग पनि लड्ने अदम्य साहस हुनुपर्छ । आफ्नो गन्तव्यमा सधैं अगाडि बढनुपर्छ ।

हटाइदिए हुन्छ यस्ता दिवस । केका लागि यो दिवस ? हामी नारी व्यक्तित्व विकास गरौं, दिवस मनाउन छोडौं । समानताको नारा दिवसले होइन, हाम्रो चेतनाले निर्धारण गर्छ । नारी दिवस तिम्रो सक्षमताको मापन होइन, तिम्रो कमजोरीहरुको कारण हो । हामी आफूलाई फरक देखाउँछौं, अनि त हाम्रो तुलना सधैं कमजोर सावित हुन्छ । नारी अब एक कदम अघि हुनुपर्छ । कुनै पनि कुरामा हामी कमजोर छैनौं । हामी नारी जहिले पनि जुनसुकै कुराको लागि पनि साहसका साथ अघि बढ्न सक्नुपर्छ ।

सृष्टिकै सुन्दर उपहार कहलाउन सक्छौ नारी । मै हुँ भन्ने मान्छेहरुलाई तह लाउन सक्छौं । हामी नारी कहिल्यै कमजोर थिएनौं र हुने छैनौं पनि । शिक्षा र अवसर पाए संसार चलाउन सक्छौं हामी नारी । चुनौती सामना गर्दै सडकदेखि सदनसम्म उति नै अर्थपूर्ण ढंगबाट सहभागी हुन सक्छौं । नारीलाई सहानुभूति होइन, अवसर प्रदान गर्नुपर्छ । नारीको हक र हितलाई सुरक्षा गरी सम्मान गर्ने नीति नियम बनाउनुपर्छ । नारीले अवसर पायो भने आफूलाई दिइएको जिम्मेवारी र काम बफादारी र इमानदारीका साथ निभाउन सक्छन् ।

११४औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *