दमौलीमा ‘सतीदेवी’ को विशेष प्रदर्शन – Nepal Press

दमौलीमा ‘सतीदेवी’ को विशेष प्रदर्शन

काठमाडौं । लक्ष्मण सुवेदी लिखित, निर्मित तथा निर्देशित चलचित्र ‘सतीदेवी’ को तनहुँमा विशेष प्रदर्शनी गरिएको छ । चलचित्रको विशेष प्रदर्शनी समारोह दमौलीको क्यूएफएक्स हलमा गरिएको थियो । कार्यक्रममा लमजुङको मध्य नेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले चलचित्रलाई प्रदर्शनमा सघाउने प्रतिबद्धता जनाए ।

उनले मौलिक कथामा बनेको चलचित्रलाई सबैले सघाउनुपर्ने धारणा राखे । ‘हाम्रो नगरपालिकाका विभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रलाई हामी सबैले साथ, सहयोग र प्रेरणा दिनुपर्छ,’ उनले भने, ‘देशको कला, संस्कृति र कथालाई चलचित्रको माध्यमबाट विश्वसामु पु¥याउनु निकै सराहनीय कार्य हो । यसले माटोको सुगन्ध बोकेको छ ।’

चलचित्रले उठान गरेको नारीको मुद्दा गहन र मननीय रहेको उनको भनाइ छ ।

कार्यक्रममा चलचित्रका निर्देशक सुवेदीले मेयर पाण्डे, वडा नम्बर ५ का अध्यक्ष ओमवीर गुरुङ, स्थानीय सिर्जनशील एकता मगर समाज, लाफा गाउँ होमस्टे, कलाकार इभन श्रेष्ठलगायतलाई आभार–पत्र प्रदान गरे ।

चलचित्र लमजुङको मध्यनेपाल नगरपालिकामा छायांकन गरिएको थियो । चलचित्रले गत महिना सौराहामा आयोजित दक्षिण एसियाली चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्रको अर्वाड हात पारेको थियो । निर्देशन विधामा पनि चलचित्र उत्कृष्ट भएको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पनि यसलाई सरकारले सक्दो सहयोग गर्ने वचन दिएकी थिइन् ।

दिलासा क्रिएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया अमेरिकासँगको सहकार्यमा निर्माण गरिएको चलचित्र प्रदर्शनको तयारीमा छ । दिलासा, सारा र श्रीदेवी सुवेदी निर्माता रहेको चलचित्रमा मलिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सिर्जना अधिकारी, सन्दीपबाबु लोहनी, सुजिता सिवाकोटी, भोला सापकोटा, मनिषा सापकोटा, सन्देश लिम्बूलगायतको अभिनय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर