पम्फा भुसालकाे टिप्पणी- नयाँ गठबन्धन शुद्ध छैन, केही विवादित मान्छे पनि छन् (भिडिओ) – Nepal Press

पम्फा भुसालकाे टिप्पणी- नयाँ गठबन्धन शुद्ध छैन, केही विवादित मान्छे पनि छन् (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छेपनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन् ।

शुक्रबार अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताएकी हुन् । उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताइन् ।

उनले विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिवद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको बताइन् । उनले सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनि राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तरंगित गरिएको भन्दै सो गठबन्धन यहीँका दल र नेताहरुले बनाएका बताइन् । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभुति दिलाउने संकल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै त्यो पूरा नभएमा यही गठबन्धनमा बसिरहने कुरा नहुने बताइन् ।

उपाध्यक्ष भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातिय भएको पनि बताइन् । उनले गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने बताइन् । उनले दीर्घकालसम्म देशमा दुईवटा कम्युनिष्ट पार्टीहरु समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पुर्याउनुपर्ने बताइन् । उनले देशमा एउटा वामपन्थी धार र अर्को प्रजातान्त्रिक धार हुनुपर्ने बताइन् ।

भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्नुपर्ने बताइन् । उनले राज्यको हरेक निकायमा ३३ प्रतिशत अधिकार प्राप्त गर्नका लागि पनि आफूलाई क्षमतावान बनाउँदै लानुपर्नेमा जोड दिइन् ।

संविधानले दिएका सबै अधिकारहरुलाई कार्यान्वयन गर्न लाग्नुपर्ने उनको भनाइ छ । भुसालले महिलालाई पैत्रिक सम्पत्तिको मालिक बनाउने एजेण्डासहित अगाडी बढ्नुपर्ने बताइन् ।

महिलालाई आर्थिक अधिकार दिनुपर्ने कुरालाई पहिले आफ्नै पार्टीपंक्तिमा लागू गर्दै जानुपर्ने र देशव्यापी रुपमा अभियान सञ्चालन गर्नुपर्ने उनले बताइन् ।

यस्तो छ भुसालको भनाइः

त्यहाँ भित्र हामीलाई असहज भयो । यसरी काम गर्नुभन्दा बरु छोड्नु पो ठिक हुन्छ कि ? काम गर्न नसक्ने अनि पदमा मात्रै बस्ने जस्तो कुरा भनेर प्रधानमन्त्री विकल्प खोज्दै हुनुहुन्थ्यो । संयोगले एउटा नयाँ सहमती बन्यो र नयाँ गठबन्धन बन्यो । बाहिर सुशासन भनेको छ । आफ्नै मन्त्रीहरु झन्डा बोकेर अख्तियार जान्छन् ।

हरेक ठाउँमा विभिन्न सुशासन बिरोधी गतिविधि भएको कुरा मिडियामा पनि आउँछ । तथ्य बुझ्दा हुन्छ पनि । छुन, चलाउन नसक्ने । काम गरेर अगाडी बढ्न त समग्र मन्त्रालय प्रधानमन्त्रीको मातहतमा हुन्छ । महत्वपुर्ण मन्त्रालयले यसरी जाउँ, उसोगरी जाउँ भन्दा मान्दै मान्दैन । खुट्टा अगाडी लैजान नसकेजस्तो । जनतालाई अलि बढी राहत हुनेगरी काम गरौँ । त्यही ढंगले बजेट निर्माण गरौँ ।

आर्थिक स्रोत जुटाउँ र कार्यक्रमहरु थप्दै जाउँ आर्थिक मन्दी भएको छ, आर्थिक गतिविधि बढाऔँ भन्दाखेरी अर्थ सम्हालेको मन्त्रीले मान्दैन । मन्त्री फेरौँ भन्दा नेताले मान्दैन । त्यसैले नयाँ गठबन्धन बन्यो । त्यो पनि शुद्ध त छैन । अब जीवन, व्यवहारले पुष्टि गर्छ । केही मान्छे त विवादित छन् नि । तर पनि हाम्रो संख्या पुग्दैन । गठबन्धन गर्नुपर्छ । बहुमत पु¥याउनुपर्छ । यो बाध्यता त हुन्छ ।

तर त्यहाँ पनि कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिवद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ । यसले एउटा राजनीतिमा राष्ट्रिय रुपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा पनि हलचल ल्याएको छ । यो नितान्त गठबन्धनका दलहरु बसेर गरिएको । तर यसलाई कसैले चाइना कार्डले बनायो कि, कसैले उताको बनायो कि यता बनयो कि भन्ने केही अन्तर्राष्ट्रिय तरंग पनि यसले ल्याएको छ । तर होइन । यो नितान्त यहीँका दल, नेता बसेर बनाएको गठबन्धन हो । र यो कुनै नयाँ सरकार होइन । पुर्नगठन हो ।

हामी के स्पष्ट हुनुपर्छ भने काम गर्ने, कामको गति अगाडी बढाउने र केही निष्कर्ष देखिने, जनताले जीवन व्यवहारमा सुशासनको अनुभुत गर्ने, जनताको जीवनमा आर्थिक परिवर्तनका अनुभुतिहरु आउनुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारमा केही नयाँपन आउने गरेर गर्ने संकल्पसित यो नयाँ गठबन्धन बनाइएको हो । त्यो नहुँदासम्म यहीँ बस्ने, यहीँ टिक्ने भन्ने पनि हुन्न ।’

यो बढी सजातीय भएको छ । राजनीतिक दल भनेको त वर्गको प्रतिनिधित्व गर्ने हो । हामी सर्वहारा, श्रमिक, श्रमजिवी जनता, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपति वर्गको हितमा काम गर्ने पार्टी । एकथरी सामन्त, जमिनदार, दलाल पुँजीपति वर्गको नेतृत्व गर्ने पार्टी । त्यसो हुँदाखेरी स्वार्थ बाझ्ने र परिणाम केही नआउने । तर अहिले आउँदा अलि सजातिय । वामपन्थीहरुको बाहुल्यता छ ।

अर्को कुरा, दिर्घकालमा एउटै देशमा दुईवटा कम्युनिस्ट पार्टी समानान्तर ढंगले जान सक्दैन । जनताले एमाले, माओवादी, माधव नेपाल र अर्कोलाई पनि कम्युनिस्ट देख्छ । हामी पनि भोट माग्न । उनीहरु पनि भोट माग्न । छरिएर जानो हो भने पश्चिम बंगालको जस्तो हुन्छ ३५ वर्ष कम्युनिस्ट पार्टीले सरकार चलाए आज शुन्य छ ।

हामीले बुद्धि, ढंग पु¥याएनौँ भने हाम्रो पनि त्यो हाल नहोस् भनेर हामी सचेत नै हुनुपर्छ । ढिलोचाँडो यो देशमा वामपन्थी एउटा धार, प्रजातन्त्र, लोकतन्त्र भन्नेको अर्को धार हुनुपर्छ । आवश्यकता हो । विगतको समिक्षा र अहिलेको आत्मसात् गर्दै वामपन्थी ध्रुविकृत हुँदै जाने हो भने जनताको हिस्सा वामपन्थीलाई मन पराउने छ । यो सहकार्यले आपसी विश्वास पैदा गर्दै मोर्चा गर्दै एउटा पार्टी भविष्यमा हुनैपर्छ ।’

 


प्रतिक्रिया

One thought on “पम्फा भुसालकाे टिप्पणी- नयाँ गठबन्धन शुद्ध छैन, केही विवादित मान्छे पनि छन् (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर