नयाँ गठबन्धन भत्काउन विभिन्न शक्तिको दौडधुप, अस्थिरताको कारण निर्वाचन प्रणाली : एमाले उपाध्यक्ष थापा – Nepal Press

नयाँ गठबन्धन भत्काउन विभिन्न शक्तिको दौडधुप, अस्थिरताको कारण निर्वाचन प्रणाली : एमाले उपाध्यक्ष थापा

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री रामबहादुर थापा बादलले पूँजीवादीहरुको कमाण्डमा गएको बापन्थी शक्तिलाई फर्काएर श्रमजीवि वर्गको मोर्चा बनाउनु नयाँ गठबन्धनको मुख्य उपलब्धी भएको बताएका छन् ।

प्रेस चौतारी गुल्मीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बादलले नयाँ गठबन्धन भत्काउन सुरुकै दिनदेखि विभिन्न शक्ति लागिरहेको स्पष्ट देखिए पनि त्यो संभावना नभएको प्रष्ट पारेका छन् ।

‘नयाँ गठबन्धन भत्काउन पूँजीपति वर्ग लागेको हामीले प्रष्ट देखेका छौं, हिजो बामपन्थी मोर्चाबाट फुटाएर पूँजीपति मोर्चामा लगेको तर त्यसलाई जुटाउन अहिले हामी सफल भएका हौंं । अहिले पनि यो मोर्चा फुटाउन अनेक चलखेल भएको छ । हाम्रँो नेतृत्वमा यो मोर्चा जोगाउने प्रयास हुन्छ । पूँजीपति वर्गलाई रोक्ने मुख्य जिम्मेवारी हो’, थापाले भने ।

सरकारमा सहभागी सबैभन्दा ठूलो दल एमालेले प्रभावशाली मन्त्रालय अरुलाई दिएर कमजोर भएको भन्ने पत्रकारहरुको प्रश्नमा थापाले अबको सरकार संयुक्त मोर्चाले चलाउने भएकाले कसले कुन मन्त्रालय पायो भन्ने विषयले अर्थ नलाग्ने र यसबाट गठबन्धनका विषयमा कुनै शंका गर्नुपर्ने अवस्था नभएको बताए ।

‘पहिलो कुरा त मन्त्रालय सबैको हैसियत एकै हो । कसले के मन्त्रालय पायो भन्ने कुराले कुनै अर्थ लाग्दैन । सरकार न्यूनतम साझा कार्यक्रमका आधारमा चल्ने हो । यो कुनै एक पार्टीले चलाउने होइन मोर्चाले चलाउने हो’, नेता थापाले भने, ‘एमालेले बलियो मन्त्रालय पाएन त्यही भएर गठबन्धन टुट्छ कि भन्नु अनावश्यक कुरा हो, हामी त संयोजन गर्ने जिम्मेवारीमा छौं, जसरी पनि सबैलाई मिलाएर लैजाने पक्षमा छौं ।’

नेता थापाले मुलुकमा आएको अहिलेको अस्थिरका जड अहिलेको निर्वाचन प्रणाली भएको प्रष्ट पारे । ‘कसैको स्पष्ट बहुमत छैन, जोडजाड पार्यो उता अर्को असन्तुष्ट भइहाल्छ, यसको मुख्य समस्या भनेको निर्वाचन प्रणाली नै हो । यसअघिको गठबन्धनका कारण पनि देशमा धेरै समस्या आएका छन् अब केही सम्बोधन गरेर जानुपर्दछ’, उनले भने, ‘नेकपा एमालेको सरकार विघटनपछि राष्ट्रिय संकट आइलागेको थियो, सुरक्षाको समस्या उस्तै बढेको थियो, आर्थिक संकटले समस्या बढ्यो, राजनीतिक संकट उस्तै भयो । पुरानो गठबन्धन भत्केर नयाँ गठबन्धन बनेको छ, यो अस्थिरताको कारक हो ।’

गठबन्धन विगठन हुनुको मूल कारण आर्थिक समस्या नै भएको थापाले बताए ।

‘अर्थमन्त्रीले आर्थिक संकट समाधान गर्न नसकेको विषय प्रधानमन्त्रीले नै भननुभयो, दैनिक हजारौंको श्रमशक्ति बाहिर गएको अवस्था छ, उद्योगधन्दा चौपट छन्, गाउँ खाली बन्दै गएका छन् । यसले ठूलो सांस्कृतिक संकट ल्याउने छ । संकटै संकटको भूमरीमा छौं’, थापाले भने, ‘एमालेले यो संकटबाट मुक्त गर्न विभिन्न अभियान थालेको छ । झुलाघाटचिवाभन्जाङ यात्रा यसैका आधार हो । अहिलेको संकट समाधानको पहल गर्न नसके गठबन्धन र सरकारमा सहभागिताको अर्थ रहँदैन ।’

देशमा अहिले श्रमजीवी वर्गको नेतृत्व एमालेले गरेको छ पूँजीपति वर्गको नेतृत्व कांग्रेसले गरेकोले त्यसैका आधारमा नयाँ गठबन्धनको मोर्चा बनेको उनको विश्लेषण छ । नेता थापा आफू गुल्मीका जन्मेर ६ वर्षको उमेर २०१८ सालमा छोडेर चितवनमा बसाई सरेको र ४० वर्षपछि गुल्मीमा टेकेको बताउँदै शान्ति प्रकृयापछि ४।५ पटक जन्मजिल्लामा आएको स्मरण गरे ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर