१ कराेड ८२ लाखको नक्कली नाेट बरामदपछि ७ जनासँग साेधपुछ, अनुसन्धान निस्कर्षनजिक – Nepal Press

१ कराेड ८२ लाखको नक्कली नाेट बरामदपछि ७ जनासँग साेधपुछ, अनुसन्धान निस्कर्षनजिक

विराटनगर । सुनसरीको इनरुवास्थित सुनसरी खोलाको पुल छेउबाट बरामद भएको नक्कली नोटको साहु नजिक प्रहरी पुगेको छ । १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोटको साहु पहिचान भए पनि प्रहरीले पक्राउ भने गर्न सकेको छैन ।

गत माघ २८ गते सुनसरी इनरुवास्थित सुनसरी खोलाको पुल छेउबाट ट्राफिक प्रहरीले एक हजार रुपैयाँ दरका १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोटसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै प्रहरीले भारतीय नम्बर प्लेटको गाडी समेत नियन्त्रणमा लिएको थियो । दुरुस्तै नेपाली सक्कली जस्तो देखिने नक्कली नोट कहाँ लैजान लागिएको हो भने अझै खुलेको छैन ।

प्रहरी श्रोतका अनुसार नेपालमा हुने मेला महोत्सवमा टार्गेट गरेर नक्कली नोट नेपाल पठाएको हुन सक्ने प्रहरीको अनुमान छ ।
घटनाका विषयमा प्रहरीले सात जनासँग सोधपुछ गरेको छ । नोट कहाँ छापियो, कहाँबाट कसले कुन ठाउँ लैजान लागेको हो भन्ने अनुसन्धान गरिरहेको प्रहरीले निष्कर्ष भने निकालेको छैन ।

सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार नक्कली नोटबारे त्यसमा जोडिएको हुनसक्ने आशङ्कामा सात जनासँग सोधपुछ भइसकेको छ ।

यतिका नक्कली नोट कसरी प्रचलनमा ल्याइन्छ भन्ने प्रहरीले अनुसन्धानका क्रममा केही सूचना प्राप्त गरेको छ । ‘गाउँका मेलाहरूमा थोरै थोरै गरेर नोट चलाइने बुझिएको छ’ उपरीक्षक रेग्मीले भने ।

अनुसन्धान नसकिएकाले यसलाई प्रभाव पर्न सक्ने तथ्यहरू सार्वजनिक गर्न नसकिने प्रहरीले जनाएको छ ।

भारतबाट नेपालमा बिक्री गर्ने उद्देश्यले ल्याइएको नोटसहित भारत वीरपुरका २२ वर्षीय मोहम्मद सैयदलाई प्रहरीले पक्राउ गरेको थियो।
ट्राफिक प्रहरी हवल्दार विशाल प्रधान र जवान लालबाबु रायले चेकजाँचका क्रममा बिहानै नोटसहित गाडी र मानिसलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

नियन्त्रणमा लिइएको स्कारपिओ जिप २६ गते नै सेतु बन्ध भन्सार कार्यालय सुनसरीबाट नेपाल प्रवेशको तीन दिने सुविधा लिएको थियो।
कोशी प्रदेश प्रहरी प्रमुख चन्द्रकुवेर खापाङ्गले घटनाको बिषयमा अनुसन्धान भइरहेको बताए । उनले दोषीको नजिक प्रहरी पुगेकाले चाँढै सवै कुरा बाहिर आउने दावी गरे ।

कुनौली नाकाबाट पैसा भित्रिएको आशङ्का

भान्टाबारी नाकाबाट स्कारपियो नेपाल छिरे पनि त्यसपछि भने सो गाडी सप्तरी गएको सिसी टिभी फुटेजबाट देखिन्छ ।

भाम्टावारी नाकामा रहेको सीसीटिभीक्यामराको रेकर्डमा स्करपियो गाडी नेपाल प्रवेश गर्दा चेकजाँच भएको देखिन्छ । सो नाकामा चेकजाँच भएर छाडिएकाले सप्तरीबाट नक्कली नेपाली नोट लोड भएको प्रहरीको अनुमान छ ।

श्रोतले भन्यो कुनौलीबाट नक्कली नोट २७ गते या २८ गते बिहान गाडीमा लोड भएको हुन सक्छ ।

सुनसरीबाट प्रवेश गरेको आशङ्का गरिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रदेशका सुरक्षा प्रमुखहरूसँग सीमाको सुरक्षामा भएको कमजोरीबारे सोधपुछ गरिसकेको छ ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार नोट बोकेको जिप त्यस दिन मधेश प्रदेशको राजमार्गमा सीसिटिभी क्यामेराको रेकर्डमा देखिएको थियो । उनले कोशी पश्चिमबाटै नोट लोड गरेको गाडी पूर्व आएको जानकारी दिए ।

ट्राफिक प्रहरीले चेकजाँच थालेपछि गाडीभित्र रहेको बोराका विषयमा सोधपुछ गर्दा बोराभित्र ब्याग भेटिएको थियो । ‘ब्यागको चाबी अगाडिको गाडीमा छ’ भन्दै एक जना स्करपिओबाट निस्किएपछि बेपत्ता भएका थिए ।

ब्याग खोलेर हेर्दा नोट देखिएपछि हवल्दार प्रधानले आफैले गाडी चलाएर मानिस, गाडी र नोट जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए।
ठुलो मात्रामा नक्कली नेपाली रुपैयाँ पक्राउ परेपछि त्यसअघि र पछि पनि नोट आयात हुने र बजारमा छरिएको हुन सक्ने आशङ्कामा अनुसन्धान र खोजविन भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर