महिलामैत्री नीति र कानून निर्माणका लागि निरन्तर भूमिका खेल्नेछु : आरजू देउवा – Nepal Press

महिलामैत्री नीति र कानून निर्माणका लागि निरन्तर भूमिका खेल्नेछु : आरजू देउवा

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत साधन समिति सभापति डा आरजु राणा देउवाले महिलामैत्री नीति र कानून निर्माणका लागि संसदमा क्रियाशील रहने बताएकी छन् ।

महिला हक अधिकारका लागि लामो समयदेखि पैरवी गर्दै आएकी कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी सांसद देउवाले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै सूचना प्रविधिमा महिलाको पहुँच स्थापित गर्न नीतिगत सुधारमा क्रियाशील रहने बताएकी हुन् ।

‘प्रतिनिधि सभा सदस्यको हैसियतमा मैले व्यक्तिगत रूपमा महिला मैत्री नीति र कानुनलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछु । प्रविधिको पहुँचमा लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिने गरी नीतिगत सुधारमा काम गर्नेछु’, उनले भनेकी छन्, ‘आजको दिन ग्रामीण र सीमान्तकृत समुदायका महिलाहरूको प्रविधि साक्षरता बढाउँदै सूचना प्रविधिको क्षेत्रमा उनीहरूको पहुँच पुर्याउने नीतिगत सुधारमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’

महिला सशक्तीकरणको विषय केवल महिलाको मात्र मुद्दा नभएकाे र यसका लागि महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका आवश्यक पर्ने पनि उनले बताइन् ।

उनले विश्वभर आज पनि महिलामाथि कुनै न कुनै प्रकारका विभेदहरू कायमै रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अवसरमा महिलाहरूको पहुँच अझै पनि सन्तुष्ट हुने स्तरमा पुग्न नसकेको बताएकी छन् ।

‘महिलाहरूले कार्यस्थलमा विभेदका साथै समान अवसरहरुका क्षेत्रमा बाधा र भेदभाव भोग्दै आएका छन् । तर हामी सबैले हातेमाले गरेर यी चुनौतिहरु पन्छाउदै जानुपर्ने छ । आपसी सहकार्यबाट महिलाका लागि विभिन्न क्षेत्रमा भएका अवरोधहरु तोड्न सबै लागि पर्नुपर्ने अवस्था छ’, कृषि समिति सभापति देउवाले भनेकी छन् ।

विकसित मुलुकहरूको तुलनामा नेपाली नारीहरूले आधारभूत आवश्यकतामै विभेद र शोषण भोग्दै आएको उनको दाबी छ ।

‘उनीहरूलाई न्याय र समानता दिलाउने उद्देश्य हामी सम्पूर्ण नारीहरूको मात्रै नभई नारी र पुरूष दुवैको हो  । महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न संविधान र कानूनमार्फत अभ्यासमा आएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नारीहरुले आफुले पाएका अवसरमा सफलता प्रमाणित गरिसकेका पनि छन् । हामी महिलाहरू परिवार, समुदाय र राष्ट्रकै नेतृत्वकर्ता हौं । महिलाहरू समाजका हरेक क्षेत्रमा सफल हुँदै आएको हाम्रो गौरवमय इतिहास पनि छ । यद्यपि, हामीले अझै पनि धेरै काम गर्न बाँकी छ ।’

आज अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर