बस दुर्घटनापछि त्रिशुलीमा बेपत्ता कांग्रेस नेता प्रकाश पाठकको शव भेटियो – Nepal Press

बस दुर्घटनापछि त्रिशुलीमा बेपत्ता कांग्रेस नेता प्रकाश पाठकको शव भेटियो

रुपन्दही । रुपन्देहीको लुम्बिनीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा बस खस्दा वेपत्ता भएका नेपाली कांग्रेसका युवा नेता प्रकाश पाठकको शव बिहीबार दिउँसो फेला परेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यसको पुष्टि गर्दै पाठकको विषयमा सुनेको खबरले आफू स्तब्ध भएको जनाएका छन् ।

मंगलबार साँझ रुपन्देहीबाट काठमाडौँका लागि छुटेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बुधबार बिहान पौने ५ बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित सडकबाट त्रिशुली नदीमा खस्दा घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी घाइते भएका थिए ।

प्रहरी र स्थानीयले अधिकांश घाइतेलाई सकुशल उद्दार गरेपनि पाठकसँगै हराइरहेका तीन यात्रुमध्ये प्रकाश पाठकको शव घटनास्थलभन्दा ७ किलोमिटर तल नदीमा फेला परेको उनका साथी गोविन्द खनालले जनाएका छन् । पाठकको आज अपरान्ह पौने ४ बजे शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारी नदीबाट बाहिर निकालेको खनालले जनाएका छन् ।

बुटवलको दिपनगरका स्थायी बासिन्दा प्रकाश पाठक नेपाल ट्रेड युनियन कांग्रेसको पूर्व केन्द्रीय सदस्य, तथा नेपाल रिक्सा चालक संघका पूर्व केन्द्रीय अध्यक्ष थिए । लामो समयदेखि सहकारी अभियानमा लागेका उनी पछिल्लो समय काठमाण्डौमा बस्न थालेका थिए । श्रीमतिले काठमाडौंमा कलेज पठाउने, ११ वर्षको छोरा र आमासहित उनी काठमाण्डौमा बस्न थालेका हुन् ।

सशस्त्र प्रहरी सुरक्षा वेश आदमघाटबाट डीएसपी तुला चौधरीको कमान्डमा खटिएको टोलीले फेला पारेको हो । योसँगै त्रिशुलीमा बेपत्ता तिनैजनाको शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बसमा सवार यात्रुहरु मध्ये ७ जनाको शव यसअघि नै भेटिएको र बुटवलकै नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेका थिए ।

हराइरहेका मध्ये एक पुरुष र एक महिलाको शव दुर्घटनास्थलभन्दा १५० मिटर तल त्रिशुली नदीमा दिउसो फेला परेको थियो । प्रकाशको शव ७ किलोमिटर तल फेला परेपछि दिउसो भेटिएकामध्ये एकजना बिराज र एक जना नर्मदा भएको हुनसक्ने अनुमान गरेपनि उनीहरुको पुष्टि भएको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *