आलोकनगरमा माधव नेपालको ब्रिफिङ- देउवाले प्रधानमन्त्रीको अफर गरे, मैले मानिनँ – Nepal Press

आलोकनगरमा माधव नेपालको ब्रिफिङ- देउवाले प्रधानमन्त्रीको अफर गरे, मैले मानिनँ

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफूलाई कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीको अफर गरेको ब्रिफिङ पार्टीमा गरेका छन् ।

आलोकनगरस्थित पार्टी मुख्यालयमा केहीबेरअघि बसेको सचिवालय बैठकमा उनले आज बिहान आफ्नो निवासमा आएका देउवाले यस्तो अफर गरेको सुनाएका हुन् ।

देउवाले प्रचण्डबाट धोका पाएको गुनासोसहित मिलेर जान आग्रह गरेको नेपालको भनाइ उद्धृत गर्दै नेकपा एसकी उपाध्यक्ष जयन्ती राईले नेपाल प्रेसलाई बताइन् ।

‘वामपन्थी शक्ति नै आजको आवश्यकता भएकाले मिल्न नसकिने भनेर पठाइदिएँ’, नेपालले बैठकमा भनेका थिए ।

नेपालको थप भनाइ थियो, ‘हिजो प्रधानमन्त्री प्रचण्ड र केपी शर्मा ओली सबै घरमै आएर अनुरोध गर्नुभो । हामी स्पष्ट भूमिकासहित जानुपर्ने हुन्छ ।’

‘यो गठबन्धनमा जानेमात्र भन्ने भयो अहिले । आफ्नाे भूमिका प्रष्ट भएपछि मन्त्री पठाउँछौं’, उपाध्यक्ष राईले भनिन् ।

सचिवालय बैठक चलिरहेका बेला नेपालले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर सरकारमा सहभागी हुने जानकारी गराइएको हो ।

बैठकमा अधिकांश नेताले ‘सबै वाम एक ठाम’ को आधार तयार हुनसक्ने भन्दै यही सरकारमा केही शर्तसहित जानुपर्नेमा जोड दिएको बताइएको छ ।

सम्मानित नेता झलनाथ खनालले बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भएको कुराकानीबारे सुनाएका थिए । सहमति गर्नुपर्ने कुरामा गरेर जाऔंला, मिलेर अघि बढ्नुपर्छ भन्ने प्रधानमन्त्रीले अनुरोध गरेको उनले बताएका छन् ।

सचिवालय बैठकको निर्णय सुनाउँदै प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्री प्रचण्डको प्रस्तावलाई सकारात्मक लिँदै स्पष्ट भूमिकासहित सरकारमा जाने निर्णय गरेको बताएका छन् ।

वैकल्पिक गठबन्धन बनाउन दौडधुप बढाएका देउवा आज आफ्नी पत्नी आरजुलाई साथै लिएर कोटेश्वरस्थित नेपाल निवासमा पुगेका थिए । भेटवार्तामा देउवासँग कांग्रेस नेता रमेश लेखक सहभागी थिए भने नेकपा एसबाट प्रवेश हमाल, गंगालाल तुलाधारलगायतका नेता बसेका थिए । स्रोतकाअनुसार भेटको सुरूमा देउवाले प्रचण्डको विषयमा लामै गुनासो गरे । यस विषयमा आफूले प्रचण्डसँग असन्तुष्टि व्यक्त गरिसकेको नेपालले सुनाएका थिए ।

देउवाले सरकारमा जाने विषयमा हतारमा निर्णय नलिन नेपाललाई सुझाव दिएका थिए ।

‘प्रचण्डले जे मन लाग्यो त्यही गर्न पाउँदैनन् । हामी चार दल (कांग्रेस, एस, जसपा र जनमोर्चा) मिलेर जाउँ । तपाईंहरू अहिले सरकारमा जाने विषयमा हतारमा निर्णय नलिनुस्,’ उनले भने ।

त्यसपछि देउवाले माओवादीले गठवन्धन तोडे पनि पूर्वगठबन्धनका अन्य दलहरू एक ठाउँमा उभिनुपर्ने बताए । उनले सीधै नयाँ गठवन्धनको प्रस्ताव भने नराखेको स्रोतको भनाइ छ । उनले सरकारमा जाने विषयमा हतारमा निर्णय नलिन नेपाललाई सुझाव दिए ।

यसमा नेपालले ठोस जवाफ दिएका थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर