नेतृत्वको मनोमानीले अस्तित्व गुमाउँदै नेपाल परिवार नियोजन संघ – Nepal Press

नेतृत्वको मनोमानीले अस्तित्व गुमाउँदै नेपाल परिवार नियोजन संघ

काठमाडौं । देशका विभिन्न ठाउँमा आफ्नै भवन । स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र स्वयंसेवकहरुको राष्ट्रव्यापी सञ्जाल । वार्षिक करोडौं अनुदानका आधा दर्जन बढी विदेशी परियोजना । नेपालमा यति सशक्त गैरसरकारी संस्था कुन होला ?

साढे ६ दशकदेखि नेपालको परिवार व्यवस्थापन र मातृशिशु स्वास्थ्यमा योगदान पुर्‍याइरहेको नेपाल परिवार नियोजन संघको शाख हो यो ।

तर, यो शाख अहिले त्यस्तो छैन । राजनीतिक शक्तिहरु, खासगरी सत्तासीन दलका प्रभुत्वशाली नेताहरुको रणमैदान बन्न पुगेको छ यो संस्था अहिले । अनि यसका पदाधिकारी तिनै नेताको आसेपासे बनिरहेका छन् ।

कांगे्रस नेता बीपी कोइरालाले आफू प्रधानमन्त्री भएका बेला २०१६ सालमा स्थापना गरेको परिवार नियोजन संघ अहिले पार्टीका केही नेताको गोटी बन्न पुगेको छ । संस्थामा लामो समय योगदान पुर्‍याएका व्यक्तिहरु सबै पाखा परिसकेका छन् । राजनीतिक दलको भर्तीकेन्द्र बनेकै कारण दाताहरुको विश्वास गुमाएको संघ अहिले अस्तित्वको संकटमा छ ।

दुई वर्षदेखि संघको नेतृत्व सम्हालिरहेका छन् हिमालय कसजूले । कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको विश्वासपात्र मानिएका कसजू अध्यक्ष बनेपछि नै संघको यो हविगत भएको बताइएको छ । खाणमात्र होइन, कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय (डिना ), अनिता देवकोटा, योगेन्द्र कर्माचार्यलगायतको हालीमुहाली नै चलेको संघमा कार्यरत कर्मचारीहरु बताउँछन् ।

लामो समय संघभित्र रहेर कर्मचारी संगठनको नेतृत्व गरेका चन्द्रमणि पौडेल यति लामो इतिहास बोकेको संस्था यो हालतमा पुग्नुमा दलीय स्वार्थ नै प्रमुख कारण भएको टिप्पणी गर्छन् ।

हुन पनि केही वर्ष अघिसम्म ५०० हाराहारी पूर्णकालीन कर्मचारी रहेको संघमा अहिले मुस्किलले १०० जना कार्यरत होलान् । तिनले पनि कुन बेला निकालिनुपर्ने हो भन्ने धरमरमा काम गर्नुपरेको छ । कर्मचारी कटौतीका कारण संघले सञ्चालन गर्दै आएको परिवार नियोजनसम्बन्धी सबैखाले सेवा, सुरक्षित गर्भपतन, प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा शिक्षा, बाँझोपन तथा सुरक्षित मातृत्वसम्बन्धी परामर्श तथा सेवाका साथै पाठेघरको मुखको क्यान्सर परीक्षण (भीआईए) लगायत साधारण स्वास्थ्य परीक्षणसम्बन्धी सेवा प्रभावित भएका छन् ।

संघलाई यो उचाइमा पुर्‍याउने स्वयंसेवकको त अहिले संस्थाभित्र कुनै स्थान छैन । संघका पूर्वअध्यक्ष छत्र गिरी नेपालमा सुरक्षित गर्भपतनलाई वैधानिकता दिन विगतमा संघले खेलेको भूमिका प्रजनन अधिकारका क्षेत्रमा ठूलै फड्को भएको बताउँछन् । यति ठूलो शाख बोकेको संस्थालाई ‘राजनीतिले गिजोलेर’ संकटग्रस्त बनाएको गिरीको ठम्याइ छ ।

कांगे्रसजनले आदर्शवादी नेता मान्ने बीपी कोइरालाले जन्माएको परिवार नियोजन संघलाई कांगे्रसीहरुले नै कसरी धराशायी बनाए भन्ने जान्न यसको विगत कोट्याउनैपर्ने हुन्छ ।

२०१६ सालमा संघ स्थापना हुँदा यसको अध्यक्ष थिइन् त्यस बेलाकी स्वास्थ्य सहायकमन्त्री द्वारिकादेवी ठकुरानी । २०१७ सालमा प्रजातान्त्रिक सरकारको अपदस्तपछि भने परिवार नियोजन संघ दरबारको पोल्टामा गयो । लामो समय प्रेक्षा शाह अध्यक्ष बनिन् । दरबार निकटकै कमल शाहले पनि केही वर्ष नेतृत्व सम्हाले । दरबारियाको वर्चस्व रहेकै बेला यसले अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघको सदस्यता पायो । यसले संघलाई अन्तर्राष्ट्रिय सञ्जालमा जोड्ने ढोका खोल्न मद्दत पुर्‍यायो ।

नेपालमा २०४६ सालको राजनीतिक परिवर्तनपछि संघको नेतृत्वमा खिचातानी सुरु भयो । यो क्रम आजपर्यन्त जारी छ । २०४६ सालमा पञ्चायत ढलेपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले कांगे्रस नेता सुनिल भण्डारीलाई यसको अध्यक्ष बनायो । भण्डारीपछि छत्रबहादुर गिरीले दुई कार्यकाल संघको नेतृत्व सम्हाले । आफ्नो कार्यकालमा संघलाई ‘विधि र पद्धति’ मा चलाउन ठूलै कसरत गर्नुपरेको गिरी सम्झन्छन् ।

गिरीपछि अध्यक्ष बनेका सुवास प्रधान भने एक कार्यकाल पनि टिक्न सकेनन् । एकलौटी र अराजक शैलीमा संस्था चलाएको भन्दै कर्मचारीले आन्दोलन चर्काएपछि प्रधान अध्यक्षबाट हटाइए । कांग्रेस निकटकै अम्बुसिंह सिजापती यसको अध्यक्ष बनिन् । सिजापतीपछि गठन भएको अन्तरिम कमिटीमा पुनः छत्र गिरी अध्यक्ष बने । त्यसपछि दुई कार्यकाल अध्यक्ष बनेका हिमाल कसजूले संघको पुरानो शाखलाई धुमिल बनाएको पूर्वअध्यक्षहरुको टिप्पणी छ ।

अहिले संघलाई अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघले दिँदै आएको अनुदान कटौती गरिरहेको छ । वार्षिक २० करोड रुपैयाँ अनुदान घटेर यो वर्षसम्ममा ७ करोडमा सीमित भइसकेको छ । अर्को वर्ष ५ करोडमात्र दिने महासंघले जनाउ दिइसकेको छ ।

यसैगरी यूएसएआईडी, ग्लोवल फन्ड, जाइका, कोइकालगायतका दातृ निकायले पनि सहयोग दिन छाडे । जसका कारण वार्षिक अर्बौंको परियोजना चलाउने परिवार नियोजन संघ अहिले बाँकी रहेका सीमित कर्मचारी पाल्न पनि नसक्ने अवस्थामा पुगेको छ । ५०० हाराहारी पूर्णकालीन कर्मचारी रहेकोमा अहिले मुस्किलले १०० जना बाँकी छन् । स्वयंसेवक र अधिकांश स्वास्थ्य स्वयंसेविकालाई बिदा दिइसकिएको छ ।

अध्यक्ष कसजू भने कोभिड महामारीका कारण केही कर्मचारीलाई बिदा दिनुपर्ने अवस्था आए पनि अहिले संघको अवस्था सामान्य रहेको बताउँछन् ।

(भण्डारी झापाबाट खोज पत्रकारिता गर्छन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *