नयाँ गठबन्धन ढाल्न देउवाले खोजे मधेशवादी दलको साथ, महन्थसँग भने- प्रचण्डले धोका दिए, मिलेर जाऊँ – Nepal Press

नयाँ गठबन्धन ढाल्न देउवाले खोजे मधेशवादी दलको साथ, महन्थसँग भने- प्रचण्डले धोका दिए, मिलेर जाऊँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्नका लागि मधेस केन्द्रित दलहरूको साथ खोजेका छन्।

आज बिहान नेकपा एसका अध्यक्ष माधव नेपाललाई घरमै पुगेर प्रचण्ड सरकारमा जाने विषयमा हतारमा निर्णय नलिन आग्रह गरेका देउवाले अर्को समीकरण बनाउनको लागि गृहकार्य थालेका हुन्।

सोही अनुसार आज देउवाले ४ बजे लोसपा अध्यक्ष महन्थ ठाकुरलाई बोलाएको लोसपा नेता सुरेन्द्र झाले बताए।

उनले भने, ‘उहाँले अध्यक्षज्यूलाई हामीले सबै दिँदा पनि प्रचण्डले धोखा दिएर जानुभयो। हामी अब चुनावमा गठबन्धन गरेर रहेकाहरु सँगै जानुपर्छ तपाईँहरूले साथ दिनुस् भन्नुभएको थियो।’

फोनमा देउवाले अध्यक्ष ठाकुरलाई प्रचण्डले विश्वासको मत नपाउने भन्दै आफूहरूको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएको बताए।

यस्तै, अर्का मधेश केन्द्रित दल जनमत पार्टी पनि प्रचण्ड सरकारप्रति रुष्ट छ। पूर्व सहमति अनुसार मधेश सरकारको नेतृत्व नपाएसम्म आफूहरू कतै समर्थन नगर्ने प्रवक्ता डा। शरद यादवले बताए। उनले कांग्रेससँग पनि विभिन्न माध्यमबाट छलफल भइरहेको बताए।

त्यसो त देउवाले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई पनि फोन गरेर आफूलाई साथ दिन प्रस्ताव राखेका छन्।

अहिले चार दलीय गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)मा सरकारमा मन्त्री पठाएको छैन।

कांग्रेसले जसपालाई प्रचण्डको साथबाट छुटाउन सक्दा वैकल्पिक गठबन्धन बन्ने आँकलन गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर