८ बुँदेमा हस्ताक्षर गरिसकेको जसपाभित्र सरकारमा जानु नहुने मत बलियो, उपेन्द्रमाथि भूराजनीतिक दबाब पनि – Nepal Press

८ बुँदेमा हस्ताक्षर गरिसकेको जसपाभित्र सरकारमा जानु नहुने मत बलियो, उपेन्द्रमाथि भूराजनीतिक दबाब पनि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नजान दबाब बढेको छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने सम्भावना कम रहेको भन्दै तत्काल सरकारमा जान नहुने वकालत अधिकांश नेताहरुले गरेका हुन् ।

सरकारलाई समर्थन गरे पनि एमाले, माओवादी र रास्वपाले एक-एक मन्त्री पठाउँदा जसपाले अहिलेसम्म पठाएको छैन । जसपाले सरकारमा जानको लागि मधेश प्रदेश सरकारको नेतृत्व सुनिश्चित हुनुपर्ने बटमलाइन बनाएको छ । जसपाले समर्थन नगर्दा सरकारलाई बहुमत पुग्दैन । जसपाका अध्यक्ष उपेन्द्र यादवले नयाँ गठवन्धनको आठ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् । तर, पार्टीले निर्णय गरेको छैन ।

मधेस सरकारको सुरक्षाको ग्यारेन्टी भएपछि मात्र संघीय सरकारमा जाने प्रवक्ता मनिष सुमनले बताए ।

नेपाल प्रेससँग उनले भने, ‘मधेस सरकारको सुरक्षाको ग्यारेन्टी भएन भने संघ सरकार वा गठबन्धनमा किन जाने ? यो विषयमा छलफल चलिरहेको छ । निर्णय केही भएको छैन ।’

सरकारमा जाने नजाने भन्ने विषयमा आज बिहान केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो । बैठकले कुनै निर्णय लिन सकेन । पार्टी कार्यकारिणी समितिका बहुमत सदस्यले वाम गठबन्धनमा अहिले जान नहुने अडान लिएका थिए । स्रोतका अनुसार जसपाभित्र बाह्य शक्तिले पनि यो गठबन्धनमा सामेल नहुन दबाब बढाएको छ ।

जसपा एक नेताले भने, ‘आजको बैठकले पनि कुनै निर्णय लिन सकेन । बहुमत सदस्यहरू नै तत्काल सरकारमा जान नहुने पक्षमा उभिएपछि अध्यक्ष यादवले निर्णय लिन सक्नुभएको छैन ।’
ती नेताका अनुसार अध्यक्ष यादव भने आफैं सरकारमा जाने मनस्थितिमा थिए ।

ती नेता थप्छन्, ‘अध्यक्षज्यू आफैं सरकारमा जान तयार हुनुहुन्छ । आफू जाँदा उपप्रधानसहित कुनै महत्वपूर्ण मन्त्रालय लिन सकिन्छ भन्ने उहाँको बुझाइ होला । त्यसैले अहिले मन्त्रालय बाँडफाँटमा लाग्नुभएको छ । तर, पार्टीभित्र जानु नहुने आवाज छ । अहिलेसम्म कुनै निर्णय भइसकेको अवस्था छैन ।’

पार्टीभित्र अधिकांश नेताहरू अध्यक्ष यादव उपप्रधानमन्त्रीको लोभमा जान लागेको भन्दै विपक्षमा उभिएका छन् । स्रोतका अनुसार जसपाभित्र भूराजनीतिक प्रभाव पनि छ । खासगरि दक्षिणी शक्तिले नयाँ बनेको गठवन्धन नरुचाएको हुँदा उपेन्द्र दबाबमा परेका छन् । यो गठवन्धन भत्काएर अर्को बैकल्पिक गठबन्धन बनाउने खेल सुरु भइसकेकाले उपेन्द्र स्वयम् पनि दोधारमा परेको बुझिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर