प्रचण्डसँग बदला लिन कांग्रेस अग्रसर, वैकल्पिक गठबन्धनको गणितमा को-को निर्णायक ? – Nepal Press

प्रचण्डसँग बदला लिन कांग्रेस अग्रसर, वैकल्पिक गठबन्धनको गणितमा को-को निर्णायक ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चरम राजनीतिक बेइमानी र अस्थिरताको बिजारोपण गरेको निष्कर्षसहित नेपाली कांग्रेसले वैकल्पिक गठबन्धन बनाउने पहल थालेको छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि नेताहरू यसमा सक्रिय भएका हुन् ।

रास्वपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसम्मको अफर गरेको चर्चाबीच माधव नेपाललाई समेत प्रचण्डको साथमा जान नदिन सभापति शेरवहादुर देउवा आफैं सक्रिय भएका छन् । नेपालमाथि प्रचण्डले धोकामात्र दिएको र निर्णायक बेलामा कुनै जानकारी नदिएको भन्दै पार्टीभित्र पनि उनी दबाबमा छन् ।

नेकपा एसको बैठकअघि सभापति देउवा माधव नेपाल निवास कोटेश्वरमा पुगेका छन् । श्रीमती आरजु र नेता रमेश लेखकसहित कोटेश्वर पुगेका हुन् । देउवा आफू गठबन्धन जोगाउन हदैसम्म लचिलो बन्दा पनि प्रचण्डले विनाकारण धोका दिएकोमा स्तब्ध छन् ।

भूराजनीतिक शक्तिहरू समेत नेपालको मामिलामा प्रत्यक्ष संलग्न भइरहँदा कांग्रेस बैकल्पिक गठबन्धनको प्रयासमा जुटेको हो ।

नेपाली कांग्रेसले उपेन्द्र यादव र माधव नेपाललाई आफूतिर राख्न सक्दा प्रचण्ड सरकार ढल्न र वैकल्पिक गठबन्धनको बहुमत पुग्ने हिसाब राखेको छ । भूराजनीतिक शक्तिहरू समेत वैकल्पिक गठबन्धनलाई बहुमत जुटाउन सक्रिय भएको सूचना पाएपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली मंगलवार साँझ २ घण्टासम्म माधव नेपाल निवासमा बसेर फकाउन खोजेका हुन् ।

नेपाली कांग्रेसले रास्वपा वा जसपालाई प्रचण्डको साथबाट छुटाउन सक्दा वैकल्पिक गठबन्धन बन्ने आँकलन गरिएको छ । त्यसैले कांग्रेसले तत्कालै प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिएको हो ।

यदि माधव नेपाललाई प्रचण्डतिर जानबाट रोक्न सकिएमा कांग्रेसको ८७, राप्रपाको १४, नेकपा एसको १०, जनमतको ६, लोसपाको ४ र नागरिक उन्मुक्ति पार्टीको ४ सीट जोड्दा १२५ सीट हुन्छ । चित्रबहादुर केसीले पनि प्रचण्डको पछिल्लो कदमको विरोध गरेकाले उनी कांग्रेससँगै रहनेछन् । त्यसो गर्दा १२६ सीट हुन्छ ।

प्रतिनिधिसभामा तत्काल कायम रहेको संख्याको बहुमत सदस्य भन्नाले अहिलेको अवस्थामा १३७ सीट आवश्यक पर्छ । एमालेका टोपबहादुर रायमाझी र कांग्रेसका टेकबहादुर गुरुङ निलम्बित छन् । त्यस्तै सुवास नेम्वाङको निधन भएका कारण एक सीट रिक्त छ ।

जसपालाई प्रचण्डको साथबाट निकाल्न सक्दा रास्वपाविना पनि वैकल्पिक गठबन्धनको वहुमत पुग्छ । जसपाभित्र प्रष्टरूपमै अहिले दुईधार देखिएको छ । भूराजनीतिक शक्तिले पार्टी नै फुटाइदिने सम्भावना देखिएपछि उपेन्द्र यादव पनि हच्किएका छन् ।

यो सबै सम्भावना बुझेरै प्रधानमन्त्री प्रचण्ड बेचैन बनेको बताइन्छ । माधव नेपालको चित्त बुझाउन ओलीलाई समेत लिएर गएका प्रचण्डले आफूबाट गल्ति भएको बताएका छन् । कतै माधव नेपाललाई नै कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार बनाएर वैकल्पिक गठबन्धन बनाउने हो कि भन्ने त्रास प्रचण्डमा रहेको छ ।

आफ्नो पालोमा आएको प्रधानमन्त्री पद प्रचण्डका कारण गएकोमा पनि माधव नेपाल अहिले असन्तुष्ट छन् र बार्गेनिङ पोजिसनमा रहेका छन् । उनलाई हिजो ओली र प्रचण्डले भेटेलगत्तै राजेन्द्र लिङ्देनले भेटेका थिए भने त्यसअघि उपेन्द्र यादवले समेत भेट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर