२८ वर्षमा देउवामाथि प्रचण्डका आधा दर्जन घात, उपयोग र बाध्यतामा ३ पटक साथ
देउवाले कांग्रेसको नीति, सिद्धान्त र आब्रुक नै न्यौछावर गर्दा पनि मोडियो प्रचण्डको मन, महासमितिले पारित गरेको दस्तावेज नै माओवादीकै भाषा राखेर पुनर्लेखन गर्न तयार थिए देउवा
![](https://www.nepalpress.com/wp-content/uploads/2024/03/deuba-prachanda-dhoka-.jpg)
कांग्रेसका केही नेताहरुबीच चलेको चर्चाअनुसार महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई पटक पटक संकेत गरिरहेका थिए, प्रचण्डको धेरै भर नपर्नुस् । केपी ओलीको इगोको घडा भरिएको दिन तपाईंसँग प्रचण्ड पनि रहँदैनन्, प्रधानमन्त्री पनि बन्नुहुन्न ।
ओलीसँग निरन्तर संवादमा रहेका डा.मीनेन्द्र रिजालले त एमालेको समर्थनमा कांग्रेसले सरकारको नेतृत्व गर्न ढिला भए कांग्रेससँग केही पनि नरहने बताइरहेका थिए । तर, देउवा भने शेखर कोइरालालाई समेत ओलीसँग भेट्नबाट रोकिरहेका थिए, प्रचण्ड रिसाउँछन् भनेर ।
कोशीमा एमालेसँग मिलेर शेखर पक्षले सरकार बनाएलगत्तै बालुवाटारमा गरिएको हस्तलिखित कागज देउवाको जोडबलमा भएको थियो । देउवाले प्रचण्डलाई दिनका लागि केही बाँकी राखेका थिएनन् । राष्ट्रियसभा अध्यक्षसमेत दिने तयारीमा थिए । त्यतिमात्र होइन महासमिति बैठकले पारित गरेको दस्तावेज पुनर्लेखनको जिम्मा माओवादी हेडक्वार्टरलाई दिनसमेत उनी तत्पर थिए ।
कांग्रेसको नीति सिद्धान्त र आब्रुक नै न्यौछावर गर्दा पनि प्रचण्डले देउवालाई धोका दिएर हिँडेपछि कांग्रेस नेतृत्व पंक्ति अहिले ‘खेलो हराएको शिल्पी’ जस्तै बनेको छ । भूराजनीतिक शक्तिको ढाडस र आफू रित्तिएर प्रचण्डलाई सबैथोक दिइरहेकाले ढुक्क बनेका देउवालाई यस पटक साँच्चिकै भीमकाय घातको जाँतोले थिचेको छ ।
देउवा-प्रचण्ड सम्बन्धका आरोह अवरोह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिमा प्रत्यक्ष तथा परोक्ष रुपमा जोडिएको २८ वर्ष भयो । २०५२ सालमा देउवा प्रधानमन्त्री भएकै बेला बाबुराम भट्टराईमार्फत ४० बुँदे मागपत्र पेश गरेर सशस्त्र विद्रोहको नेतृत्व गरेका प्रचण्ड र देउवाको सम्बन्ध सशस्त्र विद्रोहकालदेखि सत्ता सहयात्रासम्ममा उतारचढाव नै देखिन्छ ।
माओवादीको सशस्त्र विद्रोहताका एकअर्कालाई सिध्याउनेसम्मको दुश्मनी मोलेका नेपाली कांग्रेसका सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०७४ सालदेखि सत्ताको सहयात्रा थालेका हुन् । कांग्रेसको १३ औं महाधिवेशनबाट नेतृत्वमा आएपछि देउवा र दाहालसँग सहयात्रा सुरु भएको हो ।
हुन त नेपाली कांग्रेसका सभापति देउवाले माओवादीको सशस्त्र विद्रोहको व्यवस्थापन गर्दा नै माओवादीसँग सहकार्य गरेका थिए । त्यो बेलामा नेपाली कांग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोइराला थिए भने माओवादीले उनलाई प्रमुख दुश्मन मान्थ्यो । पछि उनै गिरिजा माओवादीको लागि महामानव बने पनि जनयुद्धका बेला प्रचण्डले गिरिजाविरुद्ध देउवालाई उपयोग गर्न खोजेका थिए ।
कांग्रेसको नीति सिद्धान्त र आब्रुक नै न्यौछावर गर्दा पनि प्रचण्डले देउवालाई धोका दिएर हिँडेपछि कांग्रेस नेतृत्व पंक्ति अहिले ‘खेलो हराएको शिल्पी’ जस्तै बनेको छ । भूराजनीतिक शक्तिको ढाडस र आफू रित्तिएर प्रचण्डलाई सबैथोक दिइरहेकाले ढुक्क बनेका देउवालाई यस पटक साँच्चिकै भीमकाय घातको जाँतोले थिचेको छ ।
पछि संविधान जारी गर्ने बेलामा कांग्रेस-माओवादी सहकार्य भए पनि त्यो बेला नेतृत्वमा सुशील कोइराला थिए । अझ रोचक विषय त माओवादीको सशस्त्र विद्रोहको पृष्ठभूमि समेत २०५२ सालमा देउवा प्रधानमन्त्री भएकै बेला बाबुराम भट्टराईमार्फत ४० बुँदे मागलाई रद्दीको टोकरीमा मिल्काएपछि भएको हो ।
देउवाले २०५८ सालमा दोस्रो पटक प्रधानमन्त्री हुँदा सशस्त्र संघर्ष दबाउन संकटकाल लगाएर माओवादी नेताहरूको टाउकाको मूल्य नै तोके । माओवादीले पनि कैलालीबाट राजधानी फर्कने क्रममा देउवाको ज्यानै लिन सक्ने प्रकृतिको हमला गरे ।
२०५२ सालदेखि २८ वर्षमा देउवामाथि ६ पटक घात गरेका प्रचण्डले देउवालाई उपयोग गर्ने बाध्यतामा परेर जम्मा ३ पटक साथ दिएका छन् ।
दाहालका ६ घात
२०५२ सालः ४० बुँदे मागपत्र बुझाउँदा जनमोर्चाका संयोजक डा. बाबुराम भट्टराईले तत्कालीन प्रधानमन्त्री देउवालाई भेटेका थिए । प्रचण्ड भूमिगत नै थिए । १५ दिनको अल्टिमेटम दिएर डा.भट्टराईले ती माग पूरा नभए सशस्त्र संघर्ष गर्नेसम्मको चेतावनी दिएका थिए ।
भारत भ्रमणको तयारीमा रहेका तत्कालीन प्रधानमन्त्री देउवाले वार्ताबाट समस्या समाधान गर्न तयार रहेको बताएका थिए । देउवा पूर्वनिर्धारित भारत भ्रमणमा गए । देउवा भारतबाट नफर्कंदै १५ दिनको अल्टिमेटमसमेत नपर्खी २०५२ साल फागुन १ मा तत्कालीन नेकपा माओवादीले ‘जनयुद्ध’ को उद्घोष गरेर देउवामाथि घात गरेका थिए ।
२०५८ साल : शेरबहादुर देउवा प्रधानमन्त्री थिए । सरकार-माओवादीबीच वार्ता चलेको थियो । माओवादी सुप्रिमो दाहाल दाङमा थिए । बालुवाटारबाट देउवाले दाहाललाई स्याटेलाइट फोनमा सम्पर्क गरेको दाहालले नै सार्वजनिक ‘फोरम’मा बताएका थिए । शान्ति प्रक्रियालाई कसरी निष्कर्षमा लैजाने भन्नेमा दुई नेताबीच कुराकानी भयो । प्रचण्डसँग टेलिफोनमा संवाद भएको एकदुई दिनपछि तत्कालीन प्रधानमन्त्री देउवाले दाहाललाई एक बहादुर नेता भनेर सम्बोधन गरेका थिए ।
देउवा आफ्नो नेतृत्वको सरकारले वार्ता सफल पार्ने आश्वस्त थिए । माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको जस आफू लिन चाहन्थे । त्यसैले प्रचण्डलाई फुक्र्याउन यस्तो अभिव्यक्ति दिएका थिए । तर, राजनीतिक घटनाक्रम त्यसरी अगाडि बढेन । शान्ति वार्ता चलिरहेका बेला दाहालले युद्धविराम एकतर्फी भंग गरेर सेनामाथि हमला गर्दै देउवालाई घात गरे । देउवाले संकटकाल घोषणा, आतंककारी तथा विध्वंसात्मक ऐन ल्याउँदै माओवादी नेताहरूको टाउकोको मोल तोके ।
२०७४ साल : असोज अगाडिसम्म देउवा दाहालसँगै सत्ता सहयात्रामा थिए । संविधान बनेपछि प्रधानमन्त्री भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ढालेर ‘आलोपालो’ प्रधानमन्त्री बन्दै सत्ता सहयात्रा गरेका यी दुई नेताका बीचमा एकाएक सहकार्य टुट्यो । त्यतिमात्र होइन सरकारमा सहभागी भइरहेका बेला दाहालले एमालेसँग छापामार शैलीमा वाम गठबन्धन गरे । त्यसपछि त सबैभन्दा बढी देउवा दाहालसँग रिसाए ।
सत्ता सहयात्रा गरिरहेको आफ्नै सहयात्री विपक्षीसँग मिलेर चुनावी मोर्चा बनाउने गरी धेरै अगाडि बढेको थियो । त्यसमाथि स्थानीय तहको चुनावमा माओवादी केन्द्रलाई साथ दिएको आरोप पार्टीभित्रै खेप्दासमेत प्रचण्डलाई देउवाले साथ दिएका थिए । चितवन, जहाँ कांग्रेसको वचस्र्व भएको भरतपुर महानगरपालिकामा प्रचण्डकी छोरी रेनु दाहाललाई कांग्रेसले सहयोग गरेको थियो । त्यही कारणले देउवा प्रचण्डसँग नराम्रोसँग चिढिएका थिए । त्यसपछि त देउवाकै नेतृत्वमा प्रदेश तथा केन्द्रको चुनाव भयो । कांग्रेस नराम्ररी खुम्चिन पुग्यो । पार्टीभित्र देउवाको चर्को आलोचना भयो ।
स्याटेलाइट फोनमा सम्पर्क गरेको दाहालले नै सार्वजनिक ‘फोरम’मा बताएका थिए । शान्ति प्रक्रियालाई कसरी निष्कर्षमा लैजाने भन्नेमा दुई नेताबीच कुराकानी भयो । प्रचण्डसँग टेलिफोनमा संवाद भएको एक–दुई दिनपछि तत्कालीन प्रधानमन्त्री देउवाले दाहाललाई एक बहादुर नेता भनेर सम्बोधन गरेका थिए ।
२०७४ साल : संविधान जारी भएपछि पहिलो पटक आमनिर्वाचन सम्पन्न भयो । वाम गठबन्धनले झण्डै दुई तिहाइ बहुमत ल्यायो । वाम गठबन्धनको लक्ष्य पार्टी एकीकरणसम्मको थियो । तर, कांग्रेस सभापति देउवाले पार्टी एकीकरणअगावै गठबन्धन तोड्न दाहाललाई पाँचै वर्ष प्रधानमन्त्री बनाउने अफर गरे । प्रचण्ड पनि शुरुमा कांग्रेससँग संवादमा थिए । उनले एमाले अध्यक्ष ओलीसँग पनि बार्गेनिङ गरिरहे देउवाको प्रस्ताव देखाएर । तर, प्रचण्डले देउवाको अफर देखाउँदै एमालेसँग बार्गेनिङ गरे । अन्ततः देउवालाई धोखा दिएर एमालेसँग पार्टी एकता नै गरे ।
२०७९ साल : मंसिर ५ मा आमचुनाव सकिएसँगै कांग्रेस र माओवादीबीचमा कसले पहिला सरकारको नेतृत्व गर्ने भन्ने विषयमा मतान्तर भयो । यही विवादबीच माओवादी अध्यक्ष दाहाल कांग्रेससँगको गठबन्धनबाट चुनाव जितेर एमालेको समर्थनमा प्रधानमन्त्री बने, देउवालाई घात गरे । यद्यपि यो पटक देउवालाई दाहालले घात गरे पनि देउवाले पनि पूर्वसहमतिविपरीत दाहाललाई पहिलो कार्यकाल सरकारको नेतृत्व गर्नबाट रोकेका कारण देउवालाई घात गरेको अर्थ लगाउनेहरू पनि छन् ।
तर, एउटा गठबन्धनबाट चुनाव जितेर ५ वर्ष स्थायित्व दिन्छौं भनेका प्रचण्ड एक थान प्रधानमन्त्री पहिलो चरणमा बन्न नपाउने डरले आफैंले दुत्कारेको बालकोटको बार्दलीमा पुग्नु आफैंमा अनैतिक त थियो नै देउवामाथिको घात पनि थियो ।
२०८० साल : गत आमचुनावमा प्रचण्डले गोरखा पुगेर कांग्रेसको जोडबलमा जितेका थिए । गत आमचुनावमात्र होइन आमचुनावपछि हालसालै गठबन्धनबाट राष्ट्रियसभा चुनावमा पनि पार्टीलाई जिताएका प्रचण्डले २०७४ सालकै शैलीमा फेरि देउवालाई घात गरेका छन् ।
आमचुनावका बेला नै आलोपालो प्रधानमन्त्रीको सहमति भए पनि दाहालले देउवाको पालो आउनुअघि नै उनको काँध छोडेका छन् । फेरि २०७९ पुस १० कै गठबन्धन व्युँताएर प्रधानमन्त्रीमा पाँच वर्ष बस्ने खेलोमा उनी लागेको भनिए पनि ओलीलाई २ वर्षपछि छाड्ने भद्र सहमति भएको छ । तर प्रचण्ड एउटा गठबन्धनमा २ वर्षसम्म बस्छन् भन्नेमै आम मान्छेलाई विश्वास छैन ।
देउवा अघि नबढेसम्म ओली ढाल्न नसकिने र अदालत तथा अन्तर्राष्ट्रिय समुदायको समेत साथ नहुने देखेपछि प्रचण्डले बाध्य भएर रणनीतिक रुपमा उनलाई प्रधानमन्त्रीको अफर गरेका थिए । देउवालाई प्रधानमन्त्री बनाउने बहुमत सांसदको हस्ताक्षरसहित अदालत जानुको उद्देश्य ओलीलाई अदालतबाट सत्ताच्युत गर्नुमात्र थियो ।
देउवालाई प्रचण्डका ३ रणनीतिक साथ
२८ वर्षको अवधिमा प्रचण्डले देउवालाई दिएको साथ भनेको ३ पटक हो,त्यो पनि रणनीतिकरुपमा मात्रै हो भन्ने बुझाइ आम कांग्रेसको छ । तर पनि देउवा आफैं हुस्सु बनेर प्रचण्डका लागि कांग्रेसको नीति, सिद्धान्त, विचार र आफूले जित्ने ठाउँका सीटसमेत न्यौछावर गरे । बदलामा प्रचण्डबाट उनले घात र कांग्रेसले प्रजातान्त्रिक मध्यमार्गी धारको विश्वसनीयता गुमाउँदै गयो ।
२०५८ साल : प्रचण्डले देउवालाई दिएको साथ भनेको २०५८ मा थियो । गिरिजाप्रसाद कोइरालाविरुद्ध एमालेले लगातार आन्दोलन गरिरहेको थियो । दरवार हत्याकाण्डपछि उनी झनै अलोकप्रिय भइरहेका बेला प्रचण्डले गिरिजाबाहेक कांग्रेसबाट अरु कोही (शेरबहादुर देउवा) सत्तामा आए वार्ताका लागि तयार रहेको वक्तव्य दिए ।
त्यसबेला माओवादीले गिरिजालाई फासिस्ट भन्ने गर्थ्यो । एकातिर दरबारको दबाब, अर्कोतिर एमालेको आन्दोलन र उता जंगलबाट प्रचण्डको रणनीतिक अफरपछि देउवाले गिरिजालाई विस्थापित गरे । गिरिजाबाबुले होलेरी काण्डमा सेनाले असहयोग गरेपछि राजीनामा दिए । देउवा आएको केही समयपछि माओवादी युद्धविराम गरेर वार्तामा आयो । तर, वार्ता चलिरहेकै बेला २०५८ मंसिर ८ गते दाङ, सोलुखुम्बुलगायत स्थानमा तत्कालीन शाही नेपाली सेनाको ब्यारकेमाथि नै हमला गरेर फेरि युद्धमा गए ।
२०७३ साल : २०७२ को संविधान जारी भएपछि नेपाली कांग्रेस पूर्ववत सहमतिअनुसार ओलीलाई प्रधानमन्त्री स्वीकार गर्न तयार भएन । तत्कालीन सभापति सुशील कोइराला संविधान जारी भएपछि फेरि प्रधानमन्त्री बन्न ओलीसँग प्रतिस्पर्धा गरे । २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनपछि संविधान जारी गर्न कांग्रेस र एमालेले सहकार्य गरेका थिए । तर, संविधान जारी भएपछि कांग्रेस एमालेसँग सहकार्य गर्न तयार नभएपछि ओलीलाई प्रधानमन्त्री बनाउन काँध थापेका थिए । तर, केपी ओलीले सहमति तोडेको र एकलौटी गरेको आरोपमा प्रचण्ड देउवासँग सहकार्य गर्न आइपुगे ।
माओवादी केन्द्रले साथ छोड्दै ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गराए । त्यसपछि ओली सरकार ढल्यो । प्रचण्ड र देउवा ‘आलोपालो’ सरकार चलाउने समझदारी भयो । देउवाको सहयोगमा दाहाल र दाहालको सहयोगमा देउवा प्रधानमन्त्री बने । दाहालले ओलीलाई ढाल्न पहिलो पालो आफू भएर देउवालाई दोस्रो चरणको प्रधानमन्त्री बनाए ।
२०७८ साल : २०७७ पुसमा केपी शर्मा ओलीले संसद विघटन गरेपछि सडकमा पुगेका प्रचण्ड-माधव हामी यहाँ छौं भन्दै माइतीघरमा पलेंटी कसिरहेका थिए । पहिलो विघटन अदालतको आदेशमा बदर भए पनि अदालतबाटै नेकपा विभाजन भएर एमाले र माओवादी अस्तित्वमा आएपछि ओली एकाएक झनै बलियो बने । माधव नेपाल पक्षले विश्वासको मत नदिएपछि ओलीले दोस्रो पटक संसद विघटन गरे । त्यसपछि प्रचण्ड फेरि देउवालाई प्रधानमन्त्री बनिदिनुस् भन्दै बुढानिलकण्ठ गए ।
देउवा अघि नबढेसम्म ओली ढाल्न नसकिने र अदालत तथा अन्तर्राष्ट्रिय समुदायको समेत साथ नहुने देखेपछि प्रचण्डले बाध्य भएर रणनीतिक रुपमा उनलाई प्रधानमन्त्रीको अफर गरेका थिए । देउवालाई प्रधानमन्त्री बनाउने बहुमत सांसदको हस्ताक्षरसहित अदालत जानुको उद्देश्य ओलीलाई अदालतबाट सत्ताच्युत गर्नुमात्र थियो । अदालतले परमादेशमार्फत देउवालाई प्रधानमन्त्री बनाइदियो र प्रचण्डले अरु विकल्प नभएकाले बाँकी संसदको अवधिभर उनलाई स्वीकार गरेका थिए । मौका आउनासाथ उनी बालकोट पुगिहाले ।