रास्वपा महामन्त्री भन्छन्- कांग्रेसकाे ‘ललिपप’मा फस्दैनाै, यही गठबन्धनमा सम्मानजनक स्थान खोज्छौं – Nepal Press

रास्वपा महामन्त्री भन्छन्- कांग्रेसकाे ‘ललिपप’मा फस्दैनाै, यही गठबन्धनमा सम्मानजनक स्थान खोज्छौं

काठमाडौं । सत्ता गुमाएको कांग्रेसबाट आएको प्रधानमन्त्रीको अफर रास्वपा सभापति रवि लामिछाने स्वीकार नगर्ने भएका छन् । पार्टीको कोर टीमसँग छलफलपछि उनी कांग्रेसको ललिपपमा नलोभिने भएका हुन् ।

कांग्रेसले नयाँ गठबन्धन नथिग्रिदै तोड्ने ध्येयले रविलाई प्रस्ताव गरेको थियो । रास्वपा महामन्त्री डा. मुकुल ढकालले नेपाल प्रेससँग कुरा गर्दै कांग्रेसबाट प्रस्ताव आएको स्वीकार गरे ।

उनले भने, ‘हिजो नयाँ गठबन्धन बनेलगत्तै कांग्रेसले विभिन्न सुत्रमार्फत प्रधानमन्त्रीको प्रस्ताव पठाइरहेको छ । तर, कांग्रेसको शीर्ष तहसँग प्रत्यक्ष संवाद भएको छैन ।’

उनले कांग्रेसका प्रस्तावमा रास्वपा नलोभिने बताए ।

‘हामी राजनीतिक इमानदारितामा विश्वास गर्छाैं । यो गठबन्धन निर्माणमा हाम्रो पनि भूमिका छ । अर्काे अफर आउनासाथ बहकिएर त्यतै कुदिहाल्ने चरित्र हाम्रो छैन ।’

उनले यो गठवन्धनलाई नै बलियो बनाएर लैजाने पक्षमा रास्वपा रहेको तर पार्टीको हैसियत अनुसार सम्मााजनक स्थान पाउनुपर्नेमा जोड दिए । अरू दलहरू पनि एकपटक गरेको सहमतिबाट पछि हट्नु नहुने उनको भनाइ छ ।

कांग्रेसले अघिल्लोपटक एमाले–माओवादी गठबन्धन बन्दा पनि यसैगरी खेल्न खोजेको थियो । त्यसबेला राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको थियो । प्रचण्डले बालकोट पुगेर प्रधानमन्त्री बनेपछि राप्रपालाई रोक्न कांग्रेसले अनौपचारिक प्रस्ताव गरेको थियो र त्यो कुरा लिङदेनले पनि स्वीकार गरेका थिए ।

यसपटक पनि कांग्रेसले गठबन्धन भत्काउन र बहुमत पुग्न नदिन रविलाई सो प्रस्ताव अनौपचारिकरुपमा राखेको हो । दुवै पक्षले यसलाई गम्भीरतासाथ अघि बढाएका भने छैनन् । संविधान बमोजिम पनि अब प्रचण्ड सरकार ढलेमा धारा ७६ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतमा देउवा प्रधानमन्त्री बन्छन् ।

यद्यपी कांग्रेसले एमाले र माओवादीबाहेकको सरकार गठनको पहल भने भित्रभित्रै थालेको छ । भूराजनीतिक शक्तिको समेत यसमा प्रयोग भएको छ । त्यो अवस्थामा रविसँग आलोपालोको समेत सहमति हुनसक्ने र माधव नेपाललाई समेत प्रचण्डसँग जान नदिने प्रयास भने भइरहेको छ ।

 


प्रतिक्रिया

One thought on “रास्वपा महामन्त्री भन्छन्- कांग्रेसकाे ‘ललिपप’मा फस्दैनाै, यही गठबन्धनमा सम्मानजनक स्थान खोज्छौं

  1. तिमीहरू मुजि खाते घन्टेहरुलाई यत्राको बाल पनि दिदैन नेपाली काङ्ग्रेसले।।।मन्त्री पदमा बार्गेनिङ गर्न यस्तो अफवाह समाचार मिडियामा फैलाएर ठूलो कुरा गरिराको छन मुजि घन्टेहरुले।तोरिहरु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर