मन्त्रीबारे एमालेमा छलफल- प्रचण्डबाट गत वर्ष ‘धोका खाएको’ टिमलाई नै मौका दिने कि मिसमास गर्ने ? – Nepal Press

मन्त्रीबारे एमालेमा छलफल- प्रचण्डबाट गत वर्ष ‘धोका खाएको’ टिमलाई नै मौका दिने कि मिसमास गर्ने ?

काठमाडौं । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेमा सरकारमा पठाउने मन्त्रीहरूको बारेमा छलफल सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समीकरण फेरेपछि ११ महिनापछि सत्तामा फर्किएको एमालेमा नयाँ मन्त्रीबारे गृहकार्य सुरु भएको हो।

यद्यपि, अहिले गठबन्धनमा अहिले कति मन्त्रालय र कुन कुन पाउने भन्ने टुंगिएको छैन। यसअघि गत पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाएर जाँदा एमालेको भागमा ८ वटा मन्त्रालय परेको थियो।

त्यस बेलामा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा पठाएको थियो। पौडेलले उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारी लिएका थिए भने ।

कृषि तथा पशुपक्षी विकासमा ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा राजेन्द्रकुमार राई, परराष्ट्रमा विमला राई पौड्याल, स्वास्थ्य तथा जनसंख्यामा पदम गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेतीलाई पठाएको थियो।

तर, प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा पुग्दा एमाले नेतृत्वको गठबन्धन छाडेर कांग्रेसतिर ढल्किएपछि दुई महिनामै सरकारबाट बाहिरिएको थियो। अहिले फेरि त्यही गठबन्धन ब्युँताउन सफल भएपछि त्यस बेला प्रचण्डबाट धोखा खाएको टिमलाई नै मौका दिने भन्नेबारे छलफल भएको स्रोतले बतायो।

त्यस बेलामा अर्थमन्त्रीको जिम्मेवारी लिएर सरकारमा गएका उपाध्यक्ष पौडेलले अहिले सरकारमा जान इच्छा देखाएका छैनन्। पौडेल सरकारमा नगए पार्टी पदाधिकारीबाटै पार्टीको तर्फबाट सरकारको नेतृत्व गरेर पठाउने तयारी छ।

पौडेलले सरकारको नेतृत्व नगरेको अवस्थामा पदाधिकारीमध्ये उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव योगेश भट्टराई,रघुवीर महासेठ,छबिलाल विश्वकर्मामध्येबाट एकजना सरकारमा जाने सम्भावना हुन्छ । यद्यपी पदाधिकारीबाहिरबाटै यसपटक नयाँ टिम पठाउने सम्भावना पनि रहेको नेताहरु बताउँछन् ।

एमाले स्रोतले भन्यो, ‘अब सरकारमा मन्त्री पठाउँदा पहिलै छोटो अवधि मात्रै भएकालाई पठाउने कि अरू कोही मिसमास गर्ने भन्नेमा छलफल चलिरहेको छ। टुंगिएको छैन।’

त्याे बेला स्वास्थ्यमन्त्री रहेका पदम गिरी अहिले सरकारमा बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिइसकेका छन् ।

त्यस बेला सरकारमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिएर गएकी पौड्याल राष्ट्रिय सभाबाट बिदा भइसकेकी छन्। उनको स्थान र केही मन्त्रालय गठबन्धनबाट थप लिन सके दुई पटक सांसद भइसकेका तर अवसर नपाएकालाई पठाउने एमालेको योजना छ।

एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिने गरी गृहकार्य भइरहेको बताए। उनले भने, ‘छलफल भइरहेको छ। गठबन्धनमा मन्त्रालयको संख्या टुंगिएपछि पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीहरूको टुंगो लाग्छ।

माओवादीले गृह र अर्थ दुवै मन्त्रालय दावी गरेको र रास्वपा पनि गृहमा अडिएको बेलामा एमाले यसपटक शक्ति बाँडफाँटमा नरम बन्ने रणनीतिमा छ । प्रधानमन्त्रीलाई सहज हुनेगरी मन्त्रालय बाँडफाँटमा लचक बन्ने र ओली प्रधानमन्त्री बन्दा पनि सोही बमोजिम सहयात्री दलबाट व्यवहार हुनेगरी एमालेले यसपटक गठबन्धन भत्काउनुलाई नै मुख्य उपलव्धि बनाएको छ । त्यो अवस्थामा थप मन्त्री बनाउँदा दुईपटक चुनाव जितेर मन्त्री बन्न नपाएका अनुहारले मौका पाउन सक्छन् ।

लगातार दुईपटक चुनाव जितेर मन्त्री बन्न बाँकी अब एमालेमा झापाका एलपी साँवा लिम्बु र कास्कीकी विद्या भट्टराई छन् । मोरङका ऋषिकेश पोखरेल पनि २ पटक जितेर मन्त्री बन्न नपाएका सांसद हुन्,तर उनी अहिले सार्वजनिक लेखा समितिको सभापति छन् ।

पहिलोपटक सांसद भएका युवा नेताहरु ठाकुर गैरे,सुर्य थापाहरु पनि मन्त्रीका प्रबल दाबेदार हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर