प्रचण्डमाथिको समर्थन फिर्ता र भावी कदमबारे निर्णय लिन कांग्रेस कार्यसम्पादन बैठक सुरू – Nepal Press

प्रचण्डमाथिको समर्थन फिर्ता र भावी कदमबारे निर्णय लिन कांग्रेस कार्यसम्पादन बैठक सुरू

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सुरू भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक जारी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने तयारी गरेको छ । प्रचण्डले गठबन्धन फेरेपछि कांग्रेस समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने कांग्रेसको तयारी छ । सँगै पार्टीको भावी रणनीतिको पनि एजेण्डा छ ।

प्रचण्ड सरकारमा एक राज्यमन्त्रीसहित कांग्रेसका ९ मन्त्री सहभागी थिए । कांग्रेसले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

कांग्रेसले कार्यसम्पादन समिति बैठक गरेर पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा कांग्रेसको भावी बाटोको विषयमा छलफल हुने बताइएको छ ।

कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारीहरू र केही केन्द्रीय सदस्यहरू रहेका छन्। तत्काल केन्द्रीय समिति बैठक बस्न नसकेका खण्डमा कार्यसम्पादन समितिले निर्णय गर्न सक्ने कांग्रेसको व्यवस्था छ।

प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडेलगत्तै सोमबार सभापति देउवाले पार्टीका पूर्वपदाधिकारी र पदाधिकारी बैठक बोलाएका थिए । सो बैठकले तत्काल मन्त्रीहरूले राजीनामा नगर्ने र प्रधानमन्त्री दाहालले धोका दिएको निष्कर्ष निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर