डेथ ओभरमा अविनाशको बिर्सनलायक बलिङ, कीर्तिपुर मैदानमा ५ महिनाको अन्तरमा दोहोरिएको प्रदर्शन – Nepal Press

डेथ ओभरमा अविनाशको बिर्सनलायक बलिङ, कीर्तिपुर मैदानमा ५ महिनाको अन्तरमा दोहोरिएको प्रदर्शन

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा मङ्गलवार नेपालका अविनाश बोहराले डेथ ओभरमा बिर्सनलायक प्रदर्शन गरे । उनले १८ औँ ओभरमा २१ रन खर्चिएपछि नेदरल्यान्ड्सले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि जितलाई सहज बनाएको थियो।

अन्यथा, डच टोलीलाई अन्तिम तीन ओभरमा ४० रन चाहिएको थियो। तर बोहराको उक्त ओभरपछि नेदरल्यान्ड्सलाई अन्तिम २ ओभरमा १९ रन भए पुग्ने भयो। अन्ततः नेदरल्यान्ड्सले ३ बल बाँकी रहँदै एक सय ८५ रनको लक्ष्य पुरा गर्‍यो।

संयोग नै मान्नुपर्छ, ठिक ५ महिना अघि आजकै दिन बोहराले यस्तै प्रदर्शन गरेका थिए त्यो पनि कीर्तिपुर मैदानमै। अर्को संयोग के थियो भने नेपालले एक सय ८५ रनको लक्ष्य दिएको थियो।

आईसीसी टी-२० विश्वकपको एसियाली छनोटको फाइनलमा त्यति बेला नेपाल र ओमान भिडेका थिए। ओमानलाई अन्तिम ओभरमा जितका लागि ८ रन चाहिएका बेला सन्दीप लामिछानेले शानदार बलिङ गर्दै खेललाई सुपर ओभरमा पुर्‍याएका थिए।

सुपर ओभरमा बलिङको जिम्मा अविनाशलाई दिइयो। तर उनको त्यस ओभरमा ओमानले २१ रन जोडेको थियो। उनलाई ओमानका ब्याट्सम्यानले तीन छक्का हिर्काएका थिए। नेपालले १० रन मात्र बनाउन सक्यो र ओमान सुपर ओभरमा विजेता बनेको थियो।

मङ्गलवार अविनाशले बलिङ गरेको १८ औँ ओभरमा नेदरल्यान्ड्सले सुरुका चार बलमा दुई चौका र दुई छक्का प्रहार भएको थियो। अविनाश डेथ ओभर स्पेसलिस्ट मानिए पनि यो शृङ्खलामा उनी प्रभावहीन देखिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर